मंगलवार, ३ असार, २०८२

मेरो बीएडको सर्टिफिकेट बिक्रीमा छ

बाले दु :ख-सुख गरेर पढाइ पश्चात् पाएको सर्टिफिकेटले जागिर नपाएपछि नालायक देखिएकी म, अब घरमा मेरो सफलता कुर्दै बसेका बाआमाको शिरमा थुप्रिएको ऋण तिर्नकै लागि मेरो बीएडको सर्टिफिकेट बिक्रीमा छ।

श्रमको पसिना चुहाएर, जीवनको नियति बोकेर हिँडेको मान्छे म। मेरा सपना मुनामा सिमित छन्। ती सपनाका बहावहरू हावामा धुलोसरी उडिरहेका छन्। जसलाई हेर्दा स-साना कणझैं देखिन्छन्।

सपनाको यो हाल देखेर किताबी अक्षरहरू मलिन छन्। तिनै अक्षरहरूलाई सान्त्वना दिनको निम्ति म एक सपनाको यात्री बजारमा हिँडिरहेको छु।

साथमा सर्टिफिकेट छ। साथीसङ्गी भेटिँदा सोध्छन् “के बोकेको तिमीले?” उनीहरुको यस्तो प्रश्नले मन निकै भारी भएर आउँछ। र आफूलाई सम्हाल्दै भन्छु, “जन्मे र पाँच बर्ष भए देखि हालसम्मको लगानी बोकेको।”

जो अहिलेसम्म झोलामा थन्किएको छ। फेरि साथीको प्रतिप्रश्न आउँछ “ए, झोलामा लगानी बोकेको छौ कि लगानी वाफत पाएको सर्टिफिकेट ?” फेरि म झस्किएँ। अलमलिएँ। अनि सोचेँ, वर्षौंदेखि लगानी फलस्वरूप मेरो हातमा परेको यही एउटा प्रमाणपत्र त हो नि।

फेरि आफू समयम् बन्दै साथीको अनुहारतर्फ हेर्दै भने, “हो, मैले प्रमाणपत्र बोकेको छु। जो बालकक्षादेखि बी.एड.सम्मको।”

हाम्रो यही विषयमा थुप्रै कुराकानी भयो। अन्त्यमा फेरि साथीको प्रश्न आउँछ, “तिमी यो झोला बोकेर कहिलेसम्म बजार हिँड्छौ?” मेरो मुटुमा कताकता घोचेझैं हुन्छ। तैपनि आफूलाई दबाउँदै उसको प्रश्नको जवाफ दिन बाध्य बाध्य हुन्छु।

अनि भन्छु, “जबसम्म म जस्ताहरू न्याय पाउँदैनन्, त्यो बेलासम्म म मैले बोकेका सर्टिफिकेटले एकै ठाउँ बसिरहन फुर्सद पाउनेछैन।” मेरो यही कुराले साथी झस्कियो, अनि ऊ केही बेर शान्त भयो।

मलाई बजार जान हतार भएको हुँदा उसको शान्तिपनलाई पुनः पहिलेकै अवस्थामा ल्याउन मन लाग्यो। मैले भने, “बोल तिमी?” उसले केही बेरपछि मुख फोर्दै भन्यो, “साथी, मेरो पनि डिप्लोमा सकेको प्रमाणपत्र छ, अब के गर्ने होला?”

मैले लगतै भनिहालेँ, “माथिल्लो अहोदामा तिम्रो कोही आफन्त हुनुहुन्छ?” उसले टाउको हल्लाउँदै भन्यो, “हुनुहुन्छ।” मैले “ए” भन्न नपाउँदै उसको फोनमा घण्टी बज्यो। त्यो घण्टी उसको आफन्तको फोनको थियो।

उसले हतार–हतार फोन उठाउँछ र भन्छ, “हजुर?” उसलाई फोन गरिरहेको आफन्तले भन्नुहुन्छ, “तिमीलाई म भन्दा अग्रज व्यक्तिसँग सल्लाह गरेर संस्थामा जागिर मिलाइएको छ। तिम्रो डिप्लोमाको डकुमेन्ट पठाइहाल है, छिटो।”

त्यसपछि मेरो साथी मेरो कुनै प्रवाह नगरी अताल्लिँदै घरतर्फ लाग्यो। म भने फेरि बजारतर्फ हिँडिरहेँ।

मलाई मेरो सर्टिफिकेटले पल्लाघरे साइली दिदीको चटपटे पसलमा गएर “म यस्तै हो” भन्ने गफ दियो। फेरि प्रत्येक वर्षको कैयौं सेमेस्टरमा भर्ना शुल्क तिर्न पैसा नहुँदा घरमा भएका खसी-बाख्रासहित तामाका गाग्री लियो। यति लिएर पनि मलाई त्यो प्रमाणपत्रले न पैसा दियो, न पैसा दियो।

मेरो जस्तै साथीको सर्टिफिकेटमा ६८ प्रतिशत अङ्क भएको साथीको अगाडि दुई–चार जना मान्छे रहेछन्। त्यसैले होला, उसलाई सरकारले फरक-फरक सत्ता दियो भने पटक-पटक दुई-चार हजार भत्ता दियो। त्यही छ-सात जनाको बलले अर्को साथीले पनि पायो जागिर, आजकाल उठाएर हिँड्छ शिर।

मलाई भेटेको बेला दिन्छ गफ, “ट्यालेन्ट छस् केटी, किन लिन्छस् पिर?” अनि म उसलाई भन्छु, “मेरो ट्यालेन्टले न शिक्षक सेवामा न्याय पायो, न करारमा। साथी, सोचेभन्दा फरक छ मेरो तक्दिर, फेरि म कसरी नगरौं पिर?”

सम्झन्छु, अनिदो बसेर पूरा गरेको ती कम्प्युटरका फाइलहरू, अनि बिहान पढाइ हुने क्याम्पसमा छुटेको मर्निङ क्लासका नोटहरू, अनि सम्पत्तिको नाममा भएका दशैँको लागि भनेर राखिएको खसी बेचेको, अनि हरेक सेमेस्टरमा परीक्षा शुल्क तिर्न पैसा नपुग्दा आमाले लगाएको कानको मुन्द्रा बेचेको। यसैको लायक बन्छेकी भनेर।

बाले दु :ख-सुख गरेर पढाइ पश्चात् पाएको सर्टिफिकेटले जागिर नपाएपछि नालायक देखिएकी म, अब घरमा मेरो सफलता कुर्दै बसेका बाआमाको शिरमा थुप्रिएको ऋण तिर्नकै लागि मेरो बीएडको सर्टिफिकेट बिक्रीमा छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार