वडाध्यक्ष अर्जुनकुमार महताराले प्रत्येक दलित परिवारलाई एक-एक सेट ग्यास सिलिन्डर र चुलो वितरण गरिएको बताए।
गुठिचौर गाउँपालिका-१ ले आर्थिक रूपमा पछाडि परेका ५० दलित परिवारको जीवनस्तर उकास्न निःशुल्क ग्यास सिलिन्डर र चुलो वितरण गरेको छ।
सामाजिक समावेशीकरण र विपन्न समुदायको सशक्तीकरणलाई प्राथमिकता दिँदै वडा सरकारले यो अभियान सुरु गरेको हो।
वडाध्यक्ष अर्जुनकुमार महताराले प्रत्येक दलित परिवारलाई एक-एक सेट ग्यास सिलिन्डर र चुलो वितरण गरिएको बताए।
“हाम्रो उद्देश्य आर्थिक रूपमा कमजोर समुदायलाई सहयोग गर्नु र उनीहरूको दैनिकी सहज बनाउनु हो,” उनले भने।

दाउराको प्रयोग घटाउँदा वातावरण संरक्षणमा पनि टेवा पुग्ने उनको भनाइ छ।
यसैबीच, गुठिचौर गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी) ले यो कार्यक्रमले दलित समुदायको आधारभूत आवश्यकतामा पहुँच बढाउने बताइन्।
“ग्यास र चुलोले उनीहरूको भान्सालाई सुविधाजनक बनाउनुका साथै महिलाहरूको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ,” उनले थपिन्।
वडामै ग्यास र चुलो पाएपछि दलित परिवारहरूमा खुसी छाएको छ। यो पहलले दाउराको भरमा चल्ने परम्परागत भान्साबाट आधुनिक र स्वस्थ जीवनशैलीतर्फ उनीहरूलाई डोर्याउने अपेक्षा गरिएको छ।
वडाध्यक्ष महताराले आगामी दिनमा यस्ता कार्यक्रमलाई अन्य समुदायमा पनि विस्तार गर्ने योजना रहेको जानकारी दिए।
