शनिबार, २४ माघ, २०८२

कसरी निर्माण भयो, सात सालमा आएको प्रजातन्त्र जुम्लीले आठ सालमा थाहा पाए भन्ने भाष्य?

कही ठट्यौली स्वभाव भएका मान्छेहरु याे कस्ताे व्यवस्था आयाे ‘पर जा तन्त्र’ भन्ने गर्थे। अर्थात्, पर पर जाने तन्त्र। त्यसैले पनि प्रजातन्त्रबारे कसैलाई चासाे थिएन। प्रजातन्त्र आउनु कसैका लागि हर्षकाे विषय थिएन र विस्मात पनि थिएन।

२००७ साल फागुन १ गते देशमा प्रजातान्त्र आयो। यो कुरा कुरा जुम्लीहरुले २००८ सालमा मात्रै सालमा थाहा पाए भनी जुम्लीहरुको सूचना माथिको पहुँच कमजोर थियोे भनेर हेय भावले हेरिन्छ।

प्रजातन्त्र आउनु भन्दा अगाडि नेपाली काँग्रेसकाे नेतृत्वमा युद्ध भएकाे थियाे। प्रजा परिषदकाे स्थापना हुँदा त्यसका संस्थापकहरु गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दलाई राणाहरुले हत्या गरिँदा राणा विराेधी शक्ति बलियाे हुँदै गएकाे थियाे।

त्यसकाे असर राजधानीदेखि दुर्गमका जिल्लाहरुसम्म पुगेकाे थिएन। यातायात र संचारकाे विकास भइनसकेको हुनाले २००७ साल फागुन ७ गते प्रजातान्त्र आएकाे धेरैले थाहा पाएनन्। जुम्लीले पनि थाहा पाएनन्।

जुम्लाकाे अगुवाइ ठालु, भलाद्मीहरु अदनसिंह कठायत, जयबहादुर महत लगातयले थाहा पाएनन्। उनीहरुले थाहा नपाएपछि बाँकी जुम्लीले थाहा पाउने कुरा भएन।

क्रान्तिपछि तत्कालीन काँग्रेस पार्टीले आफ्ना कार्यकर्तालाई देशमा प्रजातान्त्र आएका खबर गाउँ-गाउँमा पुगाउन भनेर खटाएकाे थियाे। त्याे खबर बाेकेर शेरसिंह नाम गरेका दैलेखका काँग्रेस कार्यकर्ता जुम्ला पुगेका थिए।

उनले देशमा प्रजातान्त्र आएकाे खबर जुम्लामा प्रवाह गरे। त्याे दिन २००८ साल वैशाखकाे थियाे। त्यसपछि ‘२००७ सालमा प्रजातन्त्र आएकाे कुरा जुम्लीहरुले २००८ सालमा थाहा पाए’ भन्ने कहावत रहन गयाे।

इतिहास र संस्कृतिकाे अभिलेख राख्ने जुम्ला सिंजाका तुङ्गनाथ उपाध्यायकाअनुसार प्रजातन्त्र आएकाे खबर साँचाे हाे। खबर ल्याएर आउने दैलेखका शेरसिंह नै थिए। तर, उनकाे थर के थियाे याे विषयमा जानकारी राख्ने कसैलाई थाहा छैन।

“उनी आएपछि बल्ल प्रजातन्त्र आएकाे थाहा भयाे। उनले कारागारमा राखिएका कैदीबन्दीलाई मुक्त गरेका थिए,” उनले भने, “त्यसबेलाका बडाहाकिम लेक विक्रम राणा थिए। त्यस अगाडि प्रजातन्त्र आएकाे कुरा उनलाई पनि थाहा थिएन।”

राणा परिवारका मान्छे मात्रै जिल्ला जिल्लामा बडाहाकिम भएर जान पाउँथे। त्यसैले उनीबाट जुम्लामा शासन चलिरहेकाे इतिहास र संस्कृतिका अर्का जानकार रमानन्द आचार्यले बताए।

उनले भने, “लेकविक्रम सी क्लासका राणा थिए। देशमा प्रजातन्त्र आएकाे कुरा थाहा शेरसिंह आएपछि मात्रै थाहा भएकाे हाे। नत्र बडाहाकिमकाे रवाफ बदलिहाल्थ्याे हाेला।”

वैशाखमा जुम्ला पुगेका शेरसिंहलाई तत्कालीन जुम्लाका ठालु भलाद्मी श्रीराम महत(नायक), जयबहादुर महत, पूर्ण थकालीहरुले बाेकेर ल्याएको दिन जुम्लामा बल्ल राणा विरोधी स्वर उचो भएको थियोे।

त्यो दिनलाई एकदिने क्रान्ति भन्छन् आचार्य। “उनीहरुले बडाहाकिमलाई अपदस्त गरेका थिए,” उनले भने।

उनका अनुसार त्यसपछि जयबहादुर महत बडाहाकिम भएका थिए। श्रीराम महत मालका हाकिम भए। पूर्ण थकाली अदालतका डिट्ठा भएकाे थिए। तर, उनीहरुले जुम्लाका अर्का अगुवा भलाद्मी अदनसिंह कठायतलाई आफ्नाे क्रान्तिमा सामेल गराएनन्।

त्यसपछि कठायत रिसाए। उनले रातभरिमा आफ्ना इष्टमित्र, कार्यकर्ता, आफूलाई मान्ने दाजुभाई सबै सबैलाई मिलाएर प्रतिक्रान्ति गरे।

त्यसबेला कठायतले त्याे एकदिने क्रान्तिलाई याे मनपरि भयाे भनि प्रदर्शन गरेका थिए। “हामी अरु जान्दैनाैं, विना निस्सा मान्दैनौं” भन्दै प्रदर्शन गरेपछि अघिल्लो दिन बडाहाकिम, हाकिम, डिट्ठा भएकाहरुकाे भागाभाग भयाे। भाेलिपल्ट लेकविक्रम राणा नै बडाहाकिम भएको उपाध्यायको भनाई छ।

त्यस बेलाका अगुवाहरु राणा जीहरुलाई ज्यू हजुरी गर्ने गर्थे। अगुवा लागेर जनताकाे काम गरिदिन्थे। काम गरिदिएवापत काेसेली लिने चलन थियाे।

राजनीतिक चेतनाका लागि काठमाडौँसँग नजिककाे सम्बन्ध थिएन। त्यसलाई कसिलाे बनाउने कुनै संयन्त्र पनि थिएन। दिन यसरी नै बितिरहेका थिए। काठमाडौंमा प्रजातन्त्र आएको कुरा बाँकी देशलाई चासो थिएन। जुम्लालाई पनि थिएन।

तर जुम्लामा अलिअलि भएपनि देशमा प्रजातान्त्र आएको हल्ला पनि नआएको होइन। यही कुरा बुझ्न जुम्लाका श्रीराम नायक लगायतकाे टाेली काठमाडौं गएकाे थियाे। उनीहरुले प्रजातान्त्र आएकाे खबर बाेकेर ल्याइ जुम्लीहरुलाई बाँडेका थिए।

त्यसबेला जुम्लाबाट काठमाडौं जान २५ दिनदेखि २८ दिन लाग्थ्याे। पहिलाे बाटाे बागलुङबाट काठमाडौं जाने थियाे। जुम्लाबाट डाेल्पा हुँदै ठाँके लेक काटेर, बागलुङ झरेर नुवाकोट छिचाेली बालाजु छिर्नु पर्थ्याे।

पछि दाङकाे काेइलाबास नाका खुल्याे। त्यसपछि बल्ल जुम्लीहरु चाखुडे लेक काटेर जाजरकोट, सल्यान हुँदै दाङ झरेर काेइलाबास, त्यहाँबाट रक्साैल भएर विरगञ्ज हेटाैंडा बाइराेटकाे बाटाे त्रिभुवन राजपदबाट काठमाडौं जान थालेका हुन। त्याे भन्दा अगाडि हेटाैंडाबाट चार दिन लगातार हिँडेपछि काठमाडौं पुगिन्थ्याे।

काठमाडौंबाट दूरकाे भूगाेल जुम्लालाई प्रजातन्त्र आएको कुरा एकिनका साथ भन्दा थाहा नभएको स्वीकार्छन्, इतिहासका जानकार आचार्य। “अगुवाहरुले समेत प्रजातन्त्रकाे परिभाषा राम्ररी बुझेका थिएनन्,” उनी भन्छन्।

त्यस्ताे बेला जनताका लागि जनताले जनताद्वारा गरिने शासन व्यवस्था वा भाेल्टायरकाे, “म तिम्राे विचारसँग असहमत हुन सक्छु तर तिम्राे विचार राख्ने स्वतन्त्राकाे लागि म मेराे ज्यान दिन तयार छु।” भन्ने परिभाषा वा ‘प्रजातन्त्रले व्यक्तिगत स्वतन्त्रता वकालत गर्छ’ भन्नेबारे कसैलाई चासाे थिएन।

त्यसैले केही ठट्यौली स्वभाव भएका मान्छेहरु याे कस्ताे व्यवस्था आयाे ‘पर जा तन्त्र’ भन्ने गर्थे। अर्थात्, पर पर जाने तन्त्र। त्यसैले पनि प्रजातन्त्रबारे कसैलाई चासाे थिएन। प्रजातन्त्र आउनु कसैका लागि हर्षकाे विषय थिएन र विस्मात पनि थिएन।

२००७ साल फागुन ७ गते प्रजातन्त्र आएकाे कुरा इतिहास पढ्दा थाहा हुन्छ। तर, त्यसबेला प्रजातन्त्र फागुन सातमै आएकाे कुरा राजधानी बाहेककाे भूगाेललाई थाहा नभएकाे आचार्यकाे तर्क छ।

“प्रजातन्त्र आएकाे कुरा कसैले फागुनकाे अन्तिमसम्म थाहा पाए। कसैले चैतमा थाहा पाए,” उनले भने, “भाैगाेलिक कठिनाइ र संचार सुविधाकाे अभावका कारण सुदूरका भूगाेलमा प्रजातन्त्र आएकाे कुरा वैशाखसम्म थाहा हुँदै थियाे। महिनाले फरक हाे तर साल फरक हाेइन।”

अहिले पनि चैत मसान्तकाे दिन कसैसँग भेट भयाे भने ‘आइँसल भेटाैंला’ भन्ने गरिन्छ। आइँसल मतलव अर्काे वर्ष।

तर, त्याे अर्काे वर्ष लाग्ने समय जम्मा २४ घण्टाकाे मात्रै हुन्छ। त्यसरी नै प्रजातन्त्र आठ सालमा आएकाे हाे भनिएकाे हाे। जुम्लीहरुले थाहा पाएनन् भनेर व्यङ्ग्य गरिएकाे हाे।

तर यो व्यङ्ग्य त तत्कालीन काठमाडौं र त्यहाँबाट राज्य संचालन गर्ने शासकलाई समेत गरिनुपर्ने जुम्ला बहुमुखी क्याम्पसका उपप्राध्यापक प्रकाशचन्द्र खत्री बताउँछन्।

“राज्यले सूचना प्रणाली नै कमजोर बनाउने अनि व्यङ्ग्य पनि आफै गर्ने भन्ने हुँदैन। यसमा उसैलाई लज्जाबोध हुनुपर्ने हो,” उनले भने, “आज बाँकी संसारमा भएको गरेको घटना त हामी काठमाडौं भन्दा अगाडि पनि त थाहा पाउन सक्छौं नी।”

त्यसैले थाेरै दिनकाे अन्तराललाई एक सालपछि थाहा पाएजस्ताे गरी व्यङ्ग्य गर्नु गलत भाष्य भएको तर्क जुम्लीहरुको छ। यदि गल भाष्य निर्माण गरिने हो भने त्यो अपजसको भागिदार राज्य पनि हुनुपर्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार