बुधबार, ४ असार, २०८२

धामीझाँक्री र माताको नाममा मौलायो ठगीधन्दा, आँखा बन्द गर्दै सरकार!

समाजमा विकृति फैलाउने, भ्रम छर्ने, उपचारको नाममा मान्छेको ज्यान लिने, घरखेत नै उडाइदिने, पारिवारिक सम्बन्ध बिगारिदिनेको अगाडि सरकार नै निरीह भएपछि ठग्नेको मनोबल बढ्नु स्वाभाविकै हो।

भक्तपुरको सिर्जनानगर चोकमा एउटा दरबारजस्तो भवन छ। ठूलो जग्गामा बनेको सो भवन देख्दा धेरैलाई यो कसको हो? भन्ने लाग्न सक्छ। कोहीकोही त्यो भवन ठूलो व्यापारीको हो भन्ठान्छन्। तर, त्यसो होइन्। त्यो भवन भगवानको नाममा ठगीधन्दा चलाइरहेको एक माताको हो।

त्यो माताको काम नै भक्तजनलाई ठग्ने हो। उनको त्यहाँ मात्र होइन्, अन्य थुप्रै स्थानमा जग्गा भएको भक्तपुरका स्थानीय बताउँछन्। उनले भक्तजनको सम्पत्ति खाइदिने गरेकी छिन्। माताको नाममा ठग्न बसेकी ती महिलाको घर सूर्यविनायक नगरपालिका वडा नम्बर ५, सुशिल भैरवस्थानअगाडि हो।

उनको माइत पनि गुण्डुको किवाचोक हो। सम्पत्तिको नामोनिशान नभएकी उनले माताको ढोंग रचेर धेरै सम्पत्ति जोडिन्। धेरै ठाउँमा दरबारजस्तो महल ठड्याइन्। स्थानीयले भनेअनुसार तीन दशकअघि उनको होटल थियो। उनका श्रीमान् साइकलको टायर टाल्थे। सर्वसाधारण काम गर्न विभिन्न मुलुक पुगिरहेका छन्।

अब्बल पढाइ भएकाहरु अमेरिका, अष्ट्रेलियालगायतको विकसित मुलुक पुगिरहेका छन् भने कोही काम गर्न जापान, कोरिया। तर, ठग्न जान्नेलाई यहीँ अमेरिका, अष्ट्रेलिया रहेछ। न उनीहरुलाई पढाइ चाहियो न लगानी। आफूलाई माता भन्छन्, लुटछन्। भगवानप्रति विश्वासको नाममा अन्धविश्वास गरिरहेको कुरा सर्वसाधारणले बुझ्दैनन्।

सिर्जनानगर भक्तपुरमा पर्छ। भक्तपुर काठमाडौं उपत्यकाभित्र पर्ने एउटा जिल्ला हो। तर, उपत्यकाका पढेलेखेकाहरु शनिबार र बुधबार माताको दरबारमा उपस्थित हुन्छन्। हरियो टीका लगाएर नाँचगान गर्छन्। अक्षर नै नचिनेको व्यक्तिले कसरी पढेलेखेकोलाई ठगिरहेकी छिन्? त्यसको दृष्टान्त हो यो।

अक्षर चिन्दैमा शिक्षित होइदैन् भन्ने उदाहरण पनि हो यो। भक्ति गर्ने भन्दै भक्तजनले त्यहाँ मोटो रकम बुझाउँछन्। त्यतिमात्र नभएर उनीहरुले त्यहाँ फलफूलहरु पनि चढाउँछन्। मातालाई फलफूल चढाउनुको साटो आफैले खाएको भए शरीरमा कति तागत लाग्थ्यो? पैसा पनि राखेको भए आवश्यक परेको बेला काम लाग्थ्यो।

हरेक साताको दुई दिन सर्वसाधारणले आफ्नो समय खेर फाल्छन्, माताको दर्शन गर्ने नाममा। त्यो समयमा कुनै सामाजिक कामकाज नै गरेको भए, पुरै समाजलाई फाइदा हुने थियो। आफ्नो व्यक्तिगत काम नै गरेको भए हुन्थ्यो। तर, नेपालीको सोच त्यति ठूलो छैन्। सामाजिक काम गर्नुपर्ने भने दाँतबाट पसिना निकाल्ने नेपालीहरु माताको नाममा फोगट्टे घण्टौं खेर गएको देख्दैनन्।

माताका लागि भक्तजनले आफ्नो सम्पत्ति पनि सकाए, समय पनि खेर फाले। अन्धाधुन्ध भक्तजनका कारण ती माता आज खर्बौंको मालिक भइन्। जसलाई छाक टार्न धौं धौं थियो, उसलाई आफ्नो सम्पत्तिले पोसेर सर्वसाधारणले कहाँ पुर्‍याइदिए। रोचक प्रसंगचाँहि के भने माता पछाडि लाग्दा धेरैले आफ्नो सम्पत्ति स्वाहा पारेका छन्।

सरकार भन्छ, ‘जनता शिक्षित भइसके।’ कहाँबाट शिक्षित भए? सरकारले किताब पढायो होला तर व्यवहारिक ज्ञान दिन सकेन्। जसका कारण लुटिने जनताको संख्या बढ्दै गएको छ। जनतासँग सही र गलतबीचको ज्ञान नै छैन्। के गर्न हुन्छ? के गर्न हुँदैन्? भन्ने उनीहरुलाई थाहा छैन।

विडम्बना, सरकारले जनतालाई व्यवहारिक ज्ञान दिन सकेन। धर्मको नाममा पर्दाभित्र बसेर ठगिरहेकाहरुबाट जनतालाई जोगाउन सरकार चुकेको छ। मुलुकमा सयौं अस्पताल खुलेको छ। अस्पताल केका लागि? उपचारका लागि होइन? ठूल्ठूला रोगहरु उपचार गर्न सम्भव छ। तर, यस्ता कथित माताहरुले म थिक पारिदिन्छु भन्दै उनीहरुलाई ठग्छन्।

सर्वसाधारण पनि भ्रममा पर्छन्, उनीहरुको ज्यान नै जान्छ। यस्ता धेरै घटना छ। स्वास्थ्य पार्ने नाममा बिरामीलाई मरणासन्न हुनेगरी हिर्काउँछन्। बिरामीले आफ्नो त्यही प्राण त्याग्छन्। एक्काइसौं शताब्दीमा पनि नेपाली समाज अन्धविश्वासको जञ्जालमा फसेको छ भने योभन्दा विडम्बनापूर्ण विषय के होला?

विभिन्न प्रलोभन देखाएर ठगी गर्न बसेकाहरुलाई सरकारले किन कारबाही नगरेको? सरकार के हेरेर बसिरहेको छ? माताले विदेश पठाउन सक्छन्? माता, धामीझाँक्रीले उपचार गर्न उनीहरुलाई चिकित्सक आयोगले दिएको लाइसेन्स छ? सरकार अझै पनि टुलुटुलु रमिता हेरेर बसेको छ।

त्यस्ता ठगहरुको ठगीधन्दा बन्द गर्न सरकार कुनै एक्सन नै लिँदैन्। सिर्जनानगरमा मात्र होइन्, यस्ता कथित माताहरु ठाउँठाउँमा छन्। उपत्यकाभित्र र बाहिर नै सीधासाधी जनतालाई ‘मुर्गा’ बनाइएको छ। एउटा डेरा भाडामा लिने अनि खुलेआम ठगीधन्दा चलाउने। ठग्नका लागि यो सबैभन्दा सजिलो माध्यम बनेको छ।

किनकि सरकारले कारबाही नै गर्दैन। लिटिल बुद्धको नामले परिचित रामबहादुर बम्जनकै कुरा गरौं। उनको आश्रमभित्र के चल्दो रहेछ? भन्ने त छर्लङ्ग भइसकेको छ। लाखौंलाई ठगेर उनले काठमाडौंको बुढानिलकण्ठमा दरबारजस्तो घर बनाएका थिए। उनको घरबाट ठूलो परिमाणमा रकम पनि बरामद भएको थियो।

माता, गुरुहरु यस्ता हुन्छन्? माता र गुरुको नाममा ठग्नेहरुलाई कारबाही गर्ने आँट गृह मन्त्रालयसँग छैन। यिनीहरुको सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ। समाजमा विकृति फैलाउने, भ्रम छर्ने, उपचारको नाममा मान्छेको ज्यान लिने, घरखेत नै उडाइदिने, पारिवारिक सम्बन्ध बिगारिदिनेको अगाडि सरकार नै निरीह भएपछि ठग्नेको मनोबल बढ्नु स्वाभाविकै हो।

ठग्न जान्नेलाई बिना पूँजी र बिना लगानी कमाउने यहाँ ठूलो स्रोत छ। गफाडी र भ्रम छर्नेहरुलाई यहाँ अवसर नै अवसर छ। बोलेकै भरमा उनीहरु खर्बौंको मालिक बन्छन्। राजनीतिक दलहरु झुठ्ठा आश्वासन दिएकै भरमा त्यहाँ पुगेका हुन्। राजनीतिक दल र माताहरुको पेशा उस्ताउस्तै छ।

१८ वर्ष नपुगेका बालबालिका नाबालक हुन्छन्। उनीहरु सही र गलतबीचको भिन्नता छुट्याउन सक्दैनन्। माताको घरमा बुधबार र शनिबार ससाना बालबालिकालाई हरियो टीका लगाएर ल्याइएको हुन्छ। सानैदेखि उनीहरुलाई अन्धविश्वासको बाटो हिँड्न सिकाइएको छ भने राज्य कहाँ छ?

स्कुल नलगिकन आफ्ना सन्तानलाई त्यहाँ ल्याउने अभिभावक कस्ता हुन्? उनीहरुको सोचाइ कति गिरेको हो? आफू जुन बाटोमा हिँडिरहेको छ, बालबालिकालाई पनि त्यहीँ बाटो हिँड्न तालिम दिइरहेका छन्, अभिभावक। भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का सांसद दुर्लभ थापाको घर माताको घरभन्दा केही माथि छ।

आधा किलोमिटरको फरक छ। यता, सूर्यविनायक नगरपालिकाको प्रशासनिक भवन पनि माताको दरबारबाट नजिकै छ। तर, माताले चलाइरहेको ठगीधन्दा न सांसदले देख्छन् न जनप्रतिनिधिले। सिडियो कार्यालय कता छ? भन्ने नै कसैलाई थाहा छैन। नियामक निकायले आँखा चिम्लिदा मातालाई आफ्नो लुटको धन्दा चलाउन झनै सहज भएको छ।

अर्कोतर्फ कुनै पनि नागरिकमाथि अभिभावकभन्दा राज्यको बढी हकअधिकार हुन्छ। नागरिक भइसकेपछि उसले राज्यको ऐनकानुन पालना गर्नुपर्छ। राज्यको नागरिकलाई जन्मिन नपाईकन हरियो टीका लगा, स्कुल नै नगईकन माताको दर्शन गर्न जा भन्न मिल्छ? यो देशमा जो पनि ठग्ने मात्रै भए। कोही माताको नाममा ठग्छन्, कोही झाँक्रीको नाममा।

कोही चिना बनाउने भन्दै लुट्छन्। बाटोमा बसेर हात हेर्ने भन्दै ठग्नेहरु पनि यत्तिकै छन्। केही नजानेहरु बोलेकै भरमा सीधासाधी जनता लुटिरहेका छन्। सरकारको यसतर्फ ध्यान जान निकै आवश्यक भइसकेको छ। सरकारले अब त्यस्ता ठगहरुलाई झयापझ्यापी समात्नुपर्छ, यस्ता संस्थालाई दिएको अनुमति खारेज गर्नुपर्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार