अहिले ऋणीले ऋण नतिरेपछि बैंक, वित्तीय संस्थाले लिलाम गरेको धितोसमेत बिक्री भइरहेको छैन। बैंकलाई धितो बिक्री गर्न धौंधौं परेको छ। सस्तोमा बेच्न खोज्दासमेत ग्राहक नपाएको अवस्था छ। बजारमा घरजग्गा, गाडी र सेयर किन्ने एक जना पनि छैन। बैंक, वित्तीय संस्था संकटमा परिसकेका छन्।
बाटोमा हिँडडुल गर्दा अधिकांश ठाउँमा देखिन्छ, ‘घरजग्गा बिक्रीमा’, ‘जग्गा बिक्रीमा’। खाली जग्गामा बोर्ड गाँडिएर माथि सम्पर्क नम्बरसहित ‘जग्गा बिक्रीमा’ भनी लेखिएको हुन्छ। त्यस्तै, घरको झयाल, ढोका, भित्ता वा गेटमा ‘घरजग्गा बिक्रीमा’ भनी लेखेर टाँसिएको पाइन्छ। अहिले यो जताततै देखिन्छ। काठमाडौं उपत्यकाभित्र होस् या बाहिरी जिल्लामा।
यता, सवारीसाधन मर्मत केन्द्र वर्कशपसहित नयाँ तथा पुराना गाडी बेचबिखन गर्ने अटो शोरुमलगायत गाडी बिक्री गर्ने कम्पनीहरुमा पनि अचेल बाहिर सिसामा ‘गाडी बिक्रीमा’ भनेर लेखिएको देखिन्छ। कतिपय कम्पनीले त सार्वजनिक स्थलका भित्ताहरुमा कम्पनीको नाम, नम्बरसहित ‘गाडी बिक्रीमा’ भनी लेखेर टाँसेको पनि पाइन्छ।
पछिल्लो समय घरजग्गा र गाडीमा मन्दी रहेको सबैलाई थाहै छ। तर, यस्तोसम्मको परिस्थिति आइसकेको भनेर मानिसले कल्पनासमेत नगरेको हुनसक्छ। घरजग्गा, गाडीको मूल्य लगातार घटिरहेको अवस्था छ। किनबेच ठप्प भइसक्यो। चिया पसलदेखि बस, सार्वजनिक स्थानहरुमा घरजग्गा, गाडी र सेयरकै चर्चा छ। जताततै घरजग्गा, गाडी बेच्न चाहने भेटिन्छन्।
किन्ने शून्यझैं छन्। घरजग्गा, गाडीको मूल्य आधाले घटे पनि बिक्री भइरहेको छैन। चार वर्षअघि तीन करोड मूल्य पर्ने घडेरी अहिले त्यसको आधा मूल्यमा झरेको छ। तैपनि, बिक्री नभइरहेको अवस्था छ। गाडीको मूल्य पनि घट्दो क्रममा छ। बजारमा गाडीको किनबेच स्वाट्टै घटेको छ। किनबेच नभएसँगै मूल्य घट्नु स्वभाविक पनि हो। बैंक तथा वित्तीय संस्थाको लगानी घरजग्गा, गाडी र सेयरमा रहेको प्रष्टै छ।
तर, अहिले ऋणीले ऋण नतिरेपछि बैंक, वित्तिय संस्थाले लिलाम गरेको धितोसमेत बिक्री भइरहेको छैन। बैंकलाई धितो बिक्री गर्न धौंधौं परेको छ। सस्तोमा बेच्न खोज्दासमेत ग्राहक नपाएको अवस्था छ। बजारमा घरजग्गा, गाडी र सेयर किन्ने एक जना पनि छैन। बैंक, वित्तीय संस्था संकटमा परिसकेका छन्। सहकारीजस्तै बैंक पनि छिट्टै टाट पल्टिने दिन आएको छ। सहकारी भाग्दा त करोडौं जनता डुबे। अब बैंक टाट पल्टिएमा कति करोड जनताको रुवाबासी हुने हो?
बैंक, वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थामा कुनै समस्या नरहेको दाबी गर्छ। बैंक, वित्तीय संस्था ठिकठाक छ कि छैन? भनेर बुझ्न बजार आवश्यक छ। किनकि बजारले परिस्थितिले यसबारे बताउँछ। अहिले बजारमा मन्दी छ। घरजग्गा, गाडी र सेयरको किनबेच ठप्प छ। फेरि बैंक, वित्तिय संस्थाको लगानी यीनै तीन क्षेत्रमा छ।
ऋणीले ऋण नतिरेपछि अहिले बैंक, वित्तीय संस्थाहरु धितो बिक्री गर्न लागिपरेका छन्। सस्तोमा बेच्न खोज्दा समेत ग्राहक नपाएर तनाव छ। बैंकका कर्मचारीहरुमै बैंक छिट्टै टाट पल्टिने चर्चा शुरु भइसकेको छ। अधिकांश बैंकका कर्मचारी नाम नबताउने शर्तमा आफूहरुको बैंकमा समस्या देखिन थालिसकेको बताउँछन्।
अनि राष्ट्र बैंक चाँहि अहिले पनि जनतालाई भ्रममा पारिरहेको छ। रोचक कुरा चाँहि के हो भने गर्भनर महाप्रसाद अधिकारी कहिल्यै बजारमा निस्किँदैनन्। उनलाई बजारको अवस्थाबारे केही थाहै छैन। अनि बजारै ननिस्किने व्यक्तिले बन्द कोठामा बसेर बैंक, वित्तीय संस्था ठिकठाक रहेको दाबी गर्नु आफैंमा हास्यास्पद छ। भनिन्छ नि सूर्यलाई हातले छेकेर छेकिँदैन। अनि डुबिसकेको बैंकलाई नडुबेको दाबी गरेर मात्र हुन्छ त?
कानूनमा सवारीसाधन दर्ता भएपछि त्यसको मूल्य घट्छ। त्यसलाई मूल्यह्रास भनिन्छ। अर्थात् वर्षौपिच्छे २५ प्रतिशतका दरले मूल्य घट्छ। घरमा पनि यस्तै हुन्छ। उदाहरणका लागि एक वर्षअघि दुई करोडमा बनेको घर एक वर्षपछि २५ प्रतिशतको दरले मूल्य घट्छ। यद्यपि, दलालीहरुले कानूनको धज्जी उडाउँदै दिनमा दुई र रातमा दश गुणासम्म घरजग्गा र गाडीको मूल्य बढाए। यो झण्डै चार वर्षअघिको कुरा हो।
त्यतिबेला घरजग्गा र गाडीको मूल्य एक महिनामै दोब्बर–तेब्बरले बढ्यो। मूल्य बढेको देखेपछि सबैको आकर्षण यही क्षेत्रतर्फ मोडियो। मानिसहरुले ऋण लिएर दलालीले जे भन्यो, त्यति नै तिरेर घरजग्गा र गाडीमा लगानी गरे। बैंक, वित्तिय संस्थाहरुले पनि आँखा चिम्लेर कर्जा गर्यो। छिट्टै धनी हुने लोभमा न सर्वसाधारणले कानून अध्ययन गरे न त बैंक, वित्तीय संस्थाहरुले। अहिले यसैको परिमाण उनीहरुले भोगिरहेका छन्।
पछिल्लो समय घरजग्गा, गाडीको मूल्य लगातार घटिरहेको छ। किनेको आधा मूल्यमा समेत बिक्री भइरहेको छैन। अझै यसको मूल्यमा गिरावट आउने विज्ञहरु बताउँछन्। कुनै समय सेवाग्राहीको चाप थेगिनसक्नु हुने मालपोत र यातायात कार्यालय अचेल सुनसान देखिन्छन्। त्यसो त सेवाग्राहीको अत्याधिक चाप हुने यी कार्यालयमा जान कर्मचारीहरुबीच पनि हानाथाप हुने गर्दथ्र्यो। किनकि यो कार्यालयमा सबैभन्दा बढी घुसको लेनदेन हुन्छ।
तर, अहिले सेवाग्राही आउनै छोडेपछि कर्मचारीहरुले घुस पनि पाउन छोडेका छन्। अचेल मालपोत र यातायात कार्यालयमा नजान कर्मचारीहरुबीच लडाई हुने गरेको छ।
घरजग्गा, गाडीको किनबेचमा मात्र मन्दी आएको छैन। व्यापार व्यवसाय ठप्पै भएको छ। उपत्यकासहित देशभर सटर, कोठा र फ्ल्याट खाली हुने क्रम बढेको छ। बजार सुनसान छ। अहिले दुई ठाउँमा मात्रै मानिसहरुको भीड देखिन्छ।
एउटा राहदानी बनाउने ठाउँ, अर्को एयरपोर्ट। युवाहरु विदेशिरहेका छन्। गाउँदेखि शहरसम्म बुढापाका र बालबच्चा मात्रै छन्। देशमै बस्न चाहे पनि एकातिर रोजगारी छैन। अर्कोतिर काम पाए पनि तलब दिइँदैन। यसले देशका युवाहरु बाध्य भएर विदेश पलायन भइरहेका छन्। त्यसो त तीनै युवाहरुले पठाइरहेको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको छ।
बैंक, वित्तीय संस्थामा त संकट आयो नै मुलुकको अर्थतन्त्रसमेत ध्वस्त भएको छ। यदि खाडीमा गएका हाम्रा नेपाली दाजुभाई, दिदीबहिनी, आमाबुबाहरुले रेमिट्यान्स नपठाएको भए उहिल्यै देश टाट पल्टिसकेको हुन्थ्यो। अहिले बजारमा पाँच सय र हजारको नोट हाहाकार भएको छ। विदेशी मुद्राहरु पनि लुकाइएको सुन्निन आएको छ।
सरकारमा बसेकाहरुलाई आफ्नो कुर्सीको मात्र चिन्ता छ। उनीहरुलाई न जनताको मतलब छ न देशको चिन्ता। सत्तामा बस्न पाइन्छ कि पाइँदैन? भ्रष्टाचार गर्न पाइन्छ कि पाइँदैन? सरकारी ढुकुटीमा मोज गर्न पाइन्छ कि पाइँदैन? सरकारी, सार्वजनिक जग्गा आफ्ना कार्यकर्तालाई बाँड्न पाइन्छ कि पाइँदैन? भन्ने मात्र चिन्ता सरकारमा बसेका वा बाहिर रहेका राजनीतिक दलहरुमा छ।
त्यसैले, अब जनताले आफ्नो सम्पत्तिको सुरक्षा आफैं गर्नुपर्छ। गर्भनर महाप्रसाद अधिकारी र अर्थमन्त्री विष्णु पौडेलको झ्ट्टा आश्वासनमा परेर सहकारीमा जसरी बैंकमा आफ्नो रकम डुबाउनु हुन्न। चलाखौं हौं, आफ्नो पैसाको सुरक्षा आफैं गरौं। ब्याजको लोभमा नपारौं, साँवाको चिन्ता गरौं।
















