अहिले कोही न कोही कतैबाट ठगिएकै पाइन्छ। कोही विश्वासमा परेर ठगिएका छन् भने कोही सेवा पाउने आशामा ठगिएको भेटिन्छ। तर, ठग्ने आईडिया चाँहि दिनमा दुई र रातमा दश गुणाले बढिरहेको छ। अब आफ्नै आफन्त वा चिनजान भएकैबाट जोगिन गाह्रो भएको छ।
बाटोमा हिँड्दा बिजुलीका पोल, मठमन्दिर वा सार्वजनिक स्थलका भित्तामा विभिन्न खालका पोस्टर देखिन्छन्। अधिकांश पोस्टरमा कर्मचारी आवश्यकता लेखिएको हुन्छ। त्यहाँ कक्षा १० देखि १२ पाससम्मका विद्यार्थीलाई मासिक १५ हजारदेखि २५ हजार रुपैयाँसम्म तलब दिने र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म ड्युटी अवधि हुने उल्लेख हुन्छ।
योसँगै कोठा, सटर र फ्ल्याटका लागि सम्पर्क गर्नुहोला भनी पोस्टर टाँसेको पनि पाइन्छ। अझ कोठा, सटर र फ्ल्याट खोज्नका लागि भनेरै अहिले त अफिस समेत खुलिसकेका छन्। देशमा बेरोजगार युवाहरुको संख्या बढ्दो क्रममा छ। उपत्यकामा सटर धमाधम खाली भएपनि एउटा कोठा पाउन अझै मुस्किल छ। बेरोजगारीका कारण तनावमा रहिरहँदा वा महिनौं खोज्दा पनि कोठा नपाएपछि यस्ता पोस्टरमा विश्वास मानिसहरु त्यसमा सम्पर्क गर्छन्।
अनि सम्बन्धित व्यक्तिले भनेको ठाउँमा पुग्छन्। त्यहाँ पुगेपछि उनीहरुलाई पाँच सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म तिर्न लगाइन्छ। त्यो पैसा फारामको भनिन्छ। फाराम भरेपछि निश्चित समयमा जागिर वा कोठा पाइने आश्वासन दिइन्छ। तर, महिनौं बित्दा समेत न जागिर पाइन्छ न कोठा। अहिले अधिकांश मानिसहरु यसरी ठगिएका छन्। बेरोजगारीले भौंतारिरहेको अवस्थामा उनीहरुलाई नै ठग्ने काम गरिरहेको छ।
यता, कोठा खोजिदिए पनि भाडा तिरिसक्नु हुँदैन। आठ हजार रुपैयाँ मासिक भाडा नपर्ने कोठालाई १२ हजार रुपैयाँ असुल्छन्। अनि घरधनीसँग पनि कमिशन खान्छन्। फेरि घरधनी र कम्पनीबीच सम्झौता भाडिएमा डेराबहाल तुरुन्त सर्नुपर्छ। कतिपय कम्पनीले काम लगाइदिए पनि आधा तलब उनीहरु आफैंले लिन्छन्। किनकि कम्पनीमार्फत गएपछि त्यो व्यक्तिको तलब कम्पनीकै खातामा हालिन्छ।
अनि कम्पनीले आधाभन्दा राखेर बाँकी तलब श्रमिकलाई दिन्छ। बेरोजगारीको फाइदा उठाएर सीमित कम्पनीहरुले सोझासाझा सर्वसाधारणको रगतपसिनामाथि लुटतन्त्र मच्याइरहेका छन्। यद्यपि, सरोकारवाला निकायहरु मौन छन्। जनता ठगिँदा, लुटिदा र शोषित हुँदा पनि कसैलाई केही चासो छैन। सरकारमा बसेकाहरुलाई कसरी कुर्सी जोगाउने मात्र चिन्ता छ। सरकार गतिलो नभएपछि जनताले दुःख पाउनु स्वभाविक पनि हो।
बैंक, वित्तिय संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट, निजी संघसंस्था लगायतमा सुरक्षाकर्मी खटिएका छन्। दिनरात नभनी उनीहरु काम गर्छन्। दशैं, तिहारजस्तो नेपालीजनको महान् चाडमा समेत उनीहरुले बिदा पाउँदैनन्। बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म उनीहरुलाई काममा खटाइन्छ। तर, तलब चाँहि उनीहरुले मासिक आठ हजारदेखि बढीमा १५ हजार रपैयाँ पाउँछन्। रोचक कुरा चाँहि के छ भने उनीहरुको तलब भनेर सम्बन्धित बैंक, वित्तिय संस्थाहरुले मासिक २० हजारदेखि ३५ हजार रुपैयाँसम्म सम्बन्धित कम्पनीलाई भुक्तानी गर्छन्।
यसरी कम्पनीले आधाभन्दा बढी रकम राखेर उनीहरुलाई तलब दिन्छ। अचेल सुरक्षाकर्मी होस् या अन्य कामदार कम्पनीमार्फत खटाइन थालिएको छ। बाहिरका मान्छे माथि हत्तपत्त विश्वास गरिँदैन। अनि वर्षमा यति कामदार यो कम्पनीबाट ल्याइने भनेर पहिल्यै सम्झौता गरिसकेको हुन्छ। सम्झौता गरेपछि व्यक्तिहरु जागिर माग्दा त्यहाँ पुगेमा त्यहाँ ठाउँ खाली भएपछि रोजगारी दिइँदैन।
भनिन्छ, कम्पनीमार्फत आउनू। बेरोजगारीले थिचेपछि मानिसहरु कम्पनी जान बाध्य हुन्छन्। त्यहाँ दुई हजार रुपैयाँसम्म तिरेर फाराम भर्छन्। अनि फाराम बुझाएको हप्ता दिनमा कम्पनीमार्फत फोन आउँछ। कम्पनी पुगी सम्बन्धित व्यक्ति भेटिन्छ। त्यहाँ उनीहरुलाई शुरुमै एउटा डकुमेन्टमा हस्ताक्षर गर्न लगाइन्छ। भनिएको छ, कामको बखत केही घटना, दुर्घटना भएमा सोको जिम्मेवारी कम्पनीले लिने छैन।
बेरोजगारीका खान नपाइरहेको अवस्थामा मानिसहरु जोखिम मोलेर भएपनि काम गर्न तयार हुन्छन्। र, इमान्दारिताका साथ खट्छन्। दुर्भाग्य दिनरात मेहेनत उनीहरु गर्छन्, तलब चाँहि कम्पनीले आधाबढी पचाउँछ। दलालहरुको बिगबिगी जताततै बढेको छ। अहिले हरेक क्षेत्रमा बिचौलिया हाबी भएका छन्। हुन त यहाँ आफन्तबाटै आफन्त ठगिएका छन्। आफन्तबाटै अधिकांश पीडित बनेको पाइन्छ।
रोजगारीको खोजीमा पछिल्लो समय विदेश जाने क्रम ह्वात्तै बढेको छ। जोकोही विदेश गइरहेका छन्। तर, यसको फाइदा सीमित दलालहरुले मज्जाले उठाइरहेका छन्। विदेश पठाइदिने नाममा सोझासाझा जनतालाई ठगिएको छ। ऋण गरेर विदेश जान भनी लिएको रकम दलालीहरुले पचाइदिँदा अधिकांश मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन्। यसमा पनि अधिकांश आफ्नै साथीभाई वा आफन्तबाट ठगिएको पाइन्छ।
फेरि आफन्तविरुद्ध उजुरी पनि त कसरी दिनु? अचेल राम्रो विद्यालयमा भर्ना गरिदिने बहानामा पनि लाखौं रकम ठगिएको सुनिन्छ। यसमा पनि अधिकांश आफन्तबाटै ठगिएका छन्। घरधनीहरु डेराबहाललाई भन्छन्, फलानो पसलबाट सामान किन्नुस्। त्यहाँ निकै राम्रो र सस्तोमा सामान पाइन्छ। घरबेटीको विश्वास गरेर डेराबहालले त्यँही पसलबाट सामान किन्छ। तर, उसलाई के थाहा कि घरधनीले त्यो पसलबाट कमिशन खाएको छ। सरकारी कार्यालयमा घुसझैं निजी क्षेत्रमा पनि कमिशनको प्रवृत्ति मौलाएको छ। अचेल कमिशनबिना केही कामै हुँदैन। कमिशनको लोभमा नराम्रा वस्तुको समेत प्रचारप्रसार गरिन्छ।
यो अहिले हरेक क्षेत्रमा छ। हार्डवेयर पसलदेखि गिट्टी, बालुवा, रोडालगायत विभिन्न व्यापार व्यवसायमा संलग्नहरुले आफ्नो सामान बिकाउन सीमित व्यक्तिलाई प्रचारप्रसार गर्न लगाई नराम्रो सामान समेत महँगोमा बेचिरहेका छन्। त्यसो त पार्टी प्यालेस, होटल, रेस्टुरेन्टमा पनि कमिशनको खेल हुन्छ। फलानो पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट राम्रो छ भन्दै ग्राहक लगिन्छ अनि व्यवसायीबाट कमिशन खाइन्छ।
यसको ज्वलन्त उदाहरण सहकारीका बचतकर्ताहरु पनि हुन्। उनीहरु आफ्नै आफन्त वा परिवारका कारण डुबेको बताउँछन्। भन्छन्, “मैले जेठानको विश्वासमा परेर सहकारीमा बचत गरे। अहिले पैसा डुबेपछि जेठानले वास्तै गरेन।” कतिपय भने साथीभाई वा अन्य आफन्तको विश्वासमा परेर बचत गरेको बताउँछन्।
अहिले कोही न कोही कतैबाट ठगिएकै पाइन्छ। कोही विश्वासमा परेर ठगिएका छन् भने कोही सेवा पाउने आशामा ठगिएको भेटिन्छ। तर, ठग्ने आईडिया चाँहि दिनमा दुई र रातमा दश गुणाले बढिरहेको छ। अब आफ्नै आफन्त वा चिनजान भएकैबाट जोगिन गाह्रो भएको छ।
किनकि अहिले सबैभन्दा बढी चिनजान भएकै व्यक्ति वा आफन्तबाट ठगिन्छ। कमिशन र पैसाको लोभलालचमा मानिसहरुले आफ्नो धर्म बिर्सिएका छन्। मानवता हराउँदै गएको छ। विश्वासघात गर्नेहरु बढिरहेका छन्। यो अझै बढिरहेमा भविष्यमा आफन्त भन्ने शब्द समेत हराउने छ। अहिले नै अधिकांश आफन्त भन्नासाथ चिढिन्छन्।