बिहीबार, १७ बैशाख, २०८३

शिक्षक उत्प्रेरणा गुणस्तर सुधारको अर्को उपाय

सार्वजनिक शिक्षा -२

शिक्षकहरूको योगदान, सरकारी अनुदानको उचित वितरण र योजनाबद्ध पूर्वाधार निर्माणलाई प्राथमिकता दिन सकिएमा मात्र शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार सम्भव छ।

शैक्षिक गुणस्तर सुधार्ने प्रयासले कुनै पनि समाजको प्रगति र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ। पछिल्लो समयमा स्थानीय तहकाहरूले यस क्षेत्रमा केही कदम चालिरहेका छन्।

तथापि, हाम्रो समुदायजस्तो आर्थिक, सामाजिक र भौगोलिक रूपमा पिछडिएको क्षेत्रमा अझै पनि यी प्रयासहरू अपर्याप्त छन्। शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समितिको भूमिका महत्त्वपूर्ण भए पनि, यसले पालिका र शिक्षकहरूको सक्रियताबाट मात्र प्रभावकारी रूप लिन सक्छ।

शिक्षकहरूको योगदान, सरकारी अनुदानको उचित वितरण र योजनाबद्ध पूर्वाधार निर्माणलाई प्राथमिकता दिन सकिएमा मात्र शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार सम्भव छ। सरकारी अनुदानका माध्यमबाट प्रदान गरिने सुविधाहरू—जस्तै पाठ्यपुस्तक, दिनको खाजा, र विभिन्न प्रकारका छात्रवृत्तिहरू—समयमै वितरण हुनुपर्छ।

यी सुविधा विद्यार्थीहरूको शैक्षिक जीवनलाई सहज बनाउनका लागि अत्यन्त आवश्यक छन्। तर, यसको प्रभावकारीता सुनिश्चित गर्न, पालिकाले वितरण प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्नुपर्छ।

कतिपय ठाउँमा पहुँच र प्रभावको आधारमा मात्र यस्ता सुविधाहरूको बाँडफाँड हुने गरेको पाइन्छ, जसले गर्दा शैक्षिक प्रणालीमा असमानता झनै बलियो हुने देखिन्छ। पालिकाले यस्ता गतिविधिलाई निरुत्साहित गर्दै, आवश्यकता र मागका आधारमा योजनाहरू बनाउने प्रक्रिया अपनाउनुपर्छ।

शिक्षकहरुले प्रयोग गर्ने शैक्षिक सामग्रीहरूको प्रभावकारी वितरण र उपयोग शिक्षा सुधारको अर्को महत्त्वपूर्ण पक्ष हो। डिजिटल बोर्ड, विज्ञान प्रयोगशालाका सामग्री र पुस्तकालय जस्ता साधनहरू विद्यालयको शैक्षिक स्तर र विद्यार्थीहरूको संख्याका आधारमा उपलब्ध गराउनुपर्छ। यसले शिक्षकलाई उत्प्रेरित गर्छ।

यसका लागि विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले सक्रियता देखाउनुपर्छ। यस्ता सामग्रीहरूको वितरण मात्र नभई यसको प्रभावकारी उपयोग सुनिश्चित गर्नका लागि शिक्षकहरूलाई आवश्यक तालिम र सहजीकरणको व्यवस्था गरिनुपर्छ। सामग्रीहरूको सही उपयोग र यसको प्रभावकारिता मापन गर्न नियमित रूपमा अनुगमन गर्नुपर्छ।

शिक्षकहरूको भूमिका शिक्षा सुधारको केन्द्रविन्दु हो। उनीहरूले पाठ्यपुस्तकका सामग्रीलाई मात्र सीमित नराखी सन्दर्भ सामग्रीहरूको प्रयोग गरेर कक्षालाई जिवन्त, प्रयोगात्मक र व्यवहारिक बनाउनुपर्छ।

सन्दर्भ सामग्रीको प्रयोगले विद्यार्थीहरूमा पाठ्यक्रमप्रतिको रुचि र चासो मात्र बढाउँदैन, यसले उनीहरूको सृजनात्मकता र समस्या समाधान क्षमतालाई पनि उकास्छ। शिक्षकहरूले नवीनतम प्रविधि र शिक्षण विधिहरूको प्रयोग गरी शिक्षण पद्धतिमा सुधार ल्याउनुपर्छ।

पालिकाले शिक्षकहरूको लागि आवश्यक सन्दर्भ सामग्रीहरू उपलब्ध गराउन कुनै कञ्जुस्याइँ गर्नु हुँदैन। शिक्षकहरूलाई चाहिने स्रोत र उपकरण उपलब्ध गराउँदा मात्र उनीहरू आफ्नो शिक्षण कार्यलाई अझ प्रभावकारी बनाउन सक्छन्।

वार्षिक १५०० मात्र प्रसाशनिक खर्चले परिक्षा संचालन देखि खेलकुद सामग्री अनि अन्य व्यवस्थापन पनि गर्न सकिँदैन। त्यसकारण यी‍ खर्च पुग्ने गरि बढाउन आवश्यक छ।

यस्ता स्रोतहरूको अभाव हुनु भनेको शिक्षा प्रणालीलाई कमजोर बनाउनु हो। पालिकाले मात्र होइन, स्थानीय समुदाय र अभिभावकहरूले पनि यसमा सहकार्य गरेर शिक्षकहरूलाई आवश्यक साधनहरू उपलब्ध गराउन मद्दत गर्नुपर्छ।

शिक्षकहरूलाई प्रोत्साहित गर्नु नै शैक्षिक सुधारको कडी हो। शिक्षकहरूले निर्माण गर्ने सन्दर्भ सामग्री र अन्य साधनहरूको लागि वार्षिक रूपमा निश्चित रकम उपलब्ध गराउनु आवश्यक छ। त्यस्तै विद्यार्थीलाई जसरी शिक्षकलाई पनि दिवा खाजाको व्यवस्था हुनुपर्छ।

यस्ता प्रोत्साहनहरूले शिक्षकहरूलाई आफ्नो कामप्रति अझ बढी जिम्मेवार र सिर्जनशील बनाउन मद्दत गर्दछ। यसका साथै, अनुगमन प्रतिवेदनका आधारमा उत्कृष्ट कार्य गर्ने शिक्षकहरूलाई पुरस्कार प्रदान गरेर अन्य शिक्षकहरूलाई पनि प्रेरित गर्नुपर्छ।

तर, शैक्षिक क्रियाकलापप्रति गैरजिम्मेवार रहने शिक्षकहरूलाई निगरानीमा राखी कारबाही गर्नुपर्छ। अटेर गर्ने, शैक्षिक माहोल बिथोल्ने वा शिक्षणमा सक्रिय भूमिका निर्वाह नगर्ने शिक्षकहरूको ग्रेड रोक्का गर्ने, स्पष्टिकरण माग्ने, र आवश्यक परेमा कानुनी कारबाहीको प्रावधान पालिकाले लागू गर्नुपर्छ। यस प्रकारको नियमले विद्यालय व्यवस्थापनमा अनुशासन कायम गर्न सहयोग गर्दछ।

शिक्षा क्षेत्रको सुधारको उद्देश्य भनेको विद्यार्थीहरूको सर्वाङ्गीण विकास हो। यसका लागि शिक्षक, पालिका र समुदायबीचको सहकार्य अनिवार्य छ। शिक्षकहरूको सीप विकास, जिम्मेवारीको मूल्याङ्कन र कार्यप्रति प्रोत्साहनका उपायहरूलाई प्रभावकारी रूपमा लागू गर्न सकेमा मात्र विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न सकिन्छ।

हाम्रा सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधार गर्न सामूहिक प्रयास अपरिहार्य छ। शिक्षामा लगानी गर्नु भनेको दीर्घकालीन रूपमा समाजलाई सक्षम बनाउनु हो।

यसका लागि पालिकाको सक्रियता, शिक्षकहरूको योगदान र समाजको समर्थनले शैक्षिक प्रणालीलाई सुदृढ बनाउनेछ।

शैक्षिक सुधारलाई व्यवहारमा उतार्न यी प्रयासहरूलाई मात्र होइन, दीर्घकालीन सोच र योजनालाई प्राथमिकतामा राख्नुपर्छ। यसले हाम्रो समुदायलाई शिक्षा क्षेत्रमा आत्मनिर्भर बनाउने आधार तयार गर्नेछ।

(लेखक रोकाया जुम्लाको चन्दननाथ नगरपालिका अन्तर्गतको शिक्षा समितिका सदस्य हुनुहुन्छ।)

यो पनि पढ्नुस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार