तातोपानी गाउँपालिकाले आफ्ना स्थायी कर्मचारीका लागि लागू गरेको जीवन बीमा कार्यक्रम अन्तर्गत पहिलो बीमा दाबी रकम हस्तान्तरण गरेको छ।
गत आर्थिक वर्ष ०७८/०७९ मा श्री हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीसँग १६ वर्षे ३ लाख ५० हजारको दुर्घटना बीमा योजना सुरु गरिएको थियो।
उक्त योजनाअन्तर्गत तातोपानी गाउँपालिका वडा नं. ४ मा कार्यालय सहयोगीको रूपमा कार्यरत स्व. तिलप्रसाद न्यौपानेको २०८१ साउन २१ गते निधन भएपछि उनकी श्रीमती मन्नु न्यौपानेलाई रु. ४ लाख ४९ हजार ९३६ बीमा रकम हस्तान्तरण गरिएको हो।
तातोपानी गाउँपालिकामा आज आयोजित कार्यक्रममा अध्यक्ष नन्दप्रसाद चौलागाईंले यस्तो कार्यक्रमले कर्मचारीको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने बताए।
उनले भने, “कर्मचारीको सुरक्षाका लागि हामीले बीमा योजना सुरु गरेका थियौं, जसले दुःखको घडीमा परिवारलाई राहत प्रदान गरेको छ। आगामी दिनमा पनि यस्ता सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राख्छौं।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतले मृतक कर्मचारीको योगदानको स्मरण गर्दै भने, “यो रकमले पीडित परिवारलाई पूर्ण राहत दिन नसक्ला, तर अलिकति सहयोग अवश्य पुग्ने विश्वास लिएका छौं। गाउँपालिकाले आफ्ना कर्मचारीलाई सुरक्षित वातावरण दिन सदैव तत्पर छ।”
त्यस्तै, तातोपानी-४ का वडा अध्यक्ष अमर रोकायाले स्व. तिलप्रसाद न्यौपानेको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रतिको सहानुभूति प्रकट गरे।
उनले भने, “बजेटको अभाव हुँदाहुँदै पनि कर्मचारीको सुरक्षा र भविष्यमुखी सोचसहित बीमा योजना सुरु गरिएको थियो। यसको फाइदा आज परिवारलाई दिन सक्दा हामीलाई खुसी लागेको छ।”
कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रतिनिधिले बीमा दाबी प्रक्रिया सहज र छिटो बनाउन सहयोग गरेको भन्दै खुशी व्यक्त गरे।
बीमा योजनाको प्रस्ताव गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मिलन बुढाथापाले समेत यो कदमले कर्मचारीका परिवारलाई आर्थिक सुरक्षा दिने बताए।