विष्णु मेरो जीवनका हरेक चुनौतीमा, सुख-दुःखमा मेरै साथमा छिन्। उनको त्यागले मलाई जीवनमा संघर्ष गर्ने शक्ति मात्र दिएको छैन, जीवनमा सधैं नयाँपनको अनुभव गराएको छ।
मानव जन्म सबैभन्दा ठूलो उपहार हो भने सन्तोष सबैभन्दा ठुलो धन हो। यस धर्तीमा पाइला टेकेपछि हामीले आफूलाई हरेक सम्बन्ध, भावना, र संघर्षसँग बाँधेर अघि बढ्नुपर्छ। स्वास्थ्यको महत्वलाई नकार्न सकिन्न। किनकि स्वस्थ शरीरबिना हरेक चाहना, संघर्ष र सपना अधुरै रहन्छ। मेरो जीवन पनि यस्ता सन्तोष र स्वास्थ्यका चुनौतीले भरिएको छ।
यस आधुनिक युगमा, जहाँ मानिसले गुडेर होइन उडेर संसार नाप्ने लक्ष्य राखेका छन्। म पनि त्यही समाजको हिस्सा हुँ। तर मेरो स्वास्थ्यस्थितिले मलाई चुनौती दिँदै आएको छ। रहर त ममा पनि उस्तै थियो– संसारलाई नाप्न, नयाँ नयाँ सपना बुन्न। तर, जीवनले मलाई यस्तो मोडमा ल्याइपुर्यायो, जहाँ स्वास्थ्य एक स्थायी चुनौतीको रूपमा उभियो।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाइ “उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक” मेरो लागि साहस र प्रेरणाको स्रोत हो। उहाँले भनेझैँ मैले पनि मेरो जीवनका लागि ठूला सपना बुनेँ, जुन सपनाले म आफूलाई कहिल्यै पछाडि हट्न हुन्न भनेर सिकायो।
म जस्तोसुकै कठिनाइ आए पनि, जस्तोसुकै चुनौतिसँग जुध्न पनि तयार छु। मलाई लाग्छ, हरेक मान्छेको जीवनमा चुनौती र अवसरका क्षणहरू आउँछन्। जसले जीवनको अर्थलाई अझ प्रगाढ बनाउँछ।
तर कहिलेकाहीँ म सोच्ने गर्छु, के म त्यो कुवाको भ्यागुतो भएँ त, जसले संसारलाई सीमित दायरामा देख्छ? आफ्ना हरेक बाध्यता, सीमिततासँग जुध्दै जिन्दगीलाई अघि बढाउनु भनेको सजिलो कुरा पक्कै होइन। यो जीवन यात्रामा परिवारको भूमिका मेरो लागि विशेष रही आएको छ।
परिवारकी आधारस्तम्भ: आमाको भूमिका
मेरो जीवनमा मेरी आमाको भूमिका धेरै महत्त्वपूर्ण छ। सन्तानका लागि आमाको त्याग, माया, अनि ममताको तुलना कुनै चीजसँग गर्न सकिन्न। बाल्यकालदेखि आमाले मलाई हरेक सुख-दुःखमा माया, हौसला, र समर्थन दिनु भएको छ।
उहाँ मेरो लागि केवल आमा मात्रै होइन, प्रेरणाको स्रोत हुनुहुन्छ। तर, उमेर ढल्किँदै गएपछि आमाको शारीरिक शक्ति घटेको छ, तर उहाँको माया, समर्थन र सहनशीलतामा कहिल्यै कमी आएको छैन।
आमा प्रायः भन्नुहुन्छ, “दूध खाने भाग्य भएको भए भैंसी लोट्टी हो क्या।” यो उखानले जीवनमा धैर्य र साहसका साथ चुनौतीको सामना गर्ने उहाँको दृष्टिकोणलाई देखाउँछ।
जब म अस्वस्थ हुन्छु, आमाले मेरो हेरचाह गर्न कुनै कमी राख्नुहुन्न। उहाँको अनुहारमा कहिलेकाहीँ पीडाको छाया म देख्छु, तर उहाँले सधैं मेरो लागि बलिदान गरिरहनुभएको छ। म भन्न सक्छु कि मेरो जीवनको यो कठिन यात्रामा आमाको भरोसाले मेरो मनोबललाई कहिल्यै कमजोर हुन दिएको छैन।
उहाँको ममताले मलाई सधैं आफूलाई बलियो बनाउन सिकाएको छ। उहाँको अनुहारमा देखिने आशाले मलाई प्रेरित गर्छ कि एक दिन मेरो स्वास्थ्यले पक्कै सुधार ल्याउनेछ, र म उहाँलाई खुशी दिन सक्ने छु।
मेरी आमाको जीवनप्रतिको दृष्टिकोण, उहाँको त्याग, अनि समर्पणले मेरो जीवनलाई एक नयाँ आयाम दिएको छ।
जीवनसंगिनी विष्णु: त्याग र सहनशीलताको प्रतिमूर्ति
मेरो जीवनमा अर्को महत्वपूर्ण व्यक्तित्व हुन् मेरी जीवनसंगिनी विष्णु। विष्णुले मेरो जीवनमा प्रवेश गरेदेखि म महसुस गर्छु कि उनी जीवनका हरेक मोडमा मेरो साथ छिन्।
उनको त्याग, निःस्वार्थ प्रेम, अनि सेवा भावना असल जीवनसाथीको प्रतिक हो। विष्णुले आफ्नो सम्पूर्ण जीवन र जिम्मेवारी मेरो स्वास्थ्य, खुशी र सपनाका लागि समर्पित गरेकी छिन्।
वर्षा होस् या हिउँदको कठ्यांग्रिँदो चिसो, विष्णु कुनै पनि हालतमा मेरो रेखदेखमा कुनै कमी हुन दिन्नन। उनको यो निःस्वार्थ माया र समर्पणले मलाई सधैं आश्चर्यचकित बनाउँछ।
विष्णुले आफ्नो पढाइलाई २०७३ सालमा नै स्थगित गरेकी थिइन्। किनकि उनको ध्यान मेरो स्वास्थ्यमा थियो। उनले घरको हरेक जिम्मेवारी सँगसँगै मेरो स्वास्थ्यको रेखदेख गरेकी छिन्। उनी एक साहसी महिला हुन, जो जीवनका हरेक चुनौतीहरू सामना गर्न सक्षम छिन्।
विष्णुले आफ्ना सपना, चाहनाहरू सबै थाती राखेर मेरो हेरचाह गर्दै आएकी छन्। उनको त्याग मेरो लागि अतुलनीय छ। विष्णु जीवनको हरेक कठिनाइलाई सहज रूपमा स्वीकार्न र हरेक परिस्थितिमा सामना गर्न सधै तयार छिन्।
उनी सधै भन्छिन्, “आटो खाउँला, फाटो लाउँला, जुनसुकै परिस्थिति आए पनि सामना गरौंला।” उनको साहसी दृष्टिकोणले मलाई पनि संघर्ष र त्यागको महत्व बुझाउँछ। विष्णुले हामीबीचको सम्बन्धलाई एउटा जीवन्त उर्जाको रूपमा राखेकि छिन्। जसले हामीलाई सँगसँगै अघि बढ्न प्रेरित गरेको छ।
आज विष्णु हाम्रो परिवारका लागि एउटा वरको रूखजस्तै बनेकि छन्, जसले झरीमा ओत र घाममा शीतलता दिन्छ।
उनले मेरो लागि सधैं त्याग गरिन्, चाहे त्यो उनको पढाइ होस्, व्यक्तिगत सपना होस् या पारिवारिक दायित्व। उनको त्याग र ममत्वले मेरो जीवनमा स्थायित्व र सन्तुष्टि ल्याएको छ।
सपना, आशा र जीवनको यात्रा
जीवनका सपनाहरू र लक्ष्यहरू हरेक व्यक्तिले बुन्छ। तर ती सपना पूरा गर्न संघर्ष, धैर्य र समर्पणको आवश्यकता पर्छ। म पनि आफ्ना सपना, उद्देश्य र आशालाई हृदयमा लिएर यो जीवनको यात्रा गर्दैछु।
जीवनमा सही साथी र सहयात्रीको महत्त्व अत्यन्तै महत्वपूर्ण हुन्छ भन्ने मलाई विष्णु पाएपछि मात्र महसुस भयो। विष्णुजस्तो सहयात्रीको साथ मेरो जीवनमा आएको सबैभन्दा ठूलो उपलब्धि हो।
विष्णुले मलाई बारम्बार सम्झाउँछिन्, “जिन्दगीको श्वास रहुन्जेल एउटै डुंगामा तैरौंला। म सँगै छु, तपाईं दुःखी नहुनुहोला, अरू केही चाहिँदैन, सधैं हाँसी दिए पुग्छ।”
उनका यी शब्दहरूले मलाई जीवनमा सन्तोषको महत्त्व बुझाउँछन्। जीवनमा चुनौतीहरू छन्, कठिनाइहरू पनि छन्। तर विष्णुको माया र सहायताले यो यात्रा साँच्चिकै सम्भव र सुन्दर भएको छ।
विष्णुको हौसलाले, मायाले अनि साथले मलाई जीवनको हरेक चुनौतीलाई सहज रूपमा सामना गर्न मद्दत पुर्याएको छ।
उनले जीवनको हरेक क्षणमा मलाई साथ दिएकी छिन् र यही साथ नै मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो। यो जीवन यात्रामा, विष्णुले हरेक क्षणमा मलाई नयाँ आशा, उमंग, र संघर्ष गर्ने हौसला दिएकी छन्।
वास्तवमा जीवनमा साथीको आवश्यकता पर्दोरहेछ भन्ने कुरा मैले विष्णु पाएको दिनबाट थाहा पाएको हुँ। उनको माया र स्याहारबिना मेरो जीवन सायद अधुरो रहने थियो।
विष्णु मेरो जीवनका हरेक चुनौतीमा, सुख-दुःखमा मेरै साथमा छिन्। उनको त्यागले मलाई जीवनमा संघर्ष गर्ने शक्ति मात्र दिएको छैन, जीवनमा सधैं नयाँपनको अनुभव गराएको छ।