मंगलवार, ९ पुष, २०८१

कविता : परदेशीको बिगुल

कसरी भुलाउँछ र यो नेपाली मुटुको
क्यामरामा कैदिएको तस्विर,
यी पसिनाका थोपाहरूले बनेका,
साना महलहरुमा बस्ने,
मिहिनेत र मानवताका धनीहरू
जीवन स्तर सुधार नगरेसम्म।

हो देखिन्थे यी घरहरुमा,
परिवारसँगै बसेका मान्छे,
दिनहुँको भोकले न पोलेसम्म !

हो हुन्थ्ने नि यी कच्ची घरहरू पनि महल,
देश भ्रष्टाचारी र बेरोजगारीको
भुमरीमा नफसेको भए।

छ यिनीहरूको पनि घरमै बस्ने रहर,
के गर्ने, ऋण समेत पाइँदैन
यहाँ साहुको खेतमा नडढेसम्म।

रहर छ नि घरभित्र बसेका रोगी,
आमाबुबाको साहारा बन्न,
तर घर फर्किन कहाँ दिन्छ र?
विदेशको अवधि नपुगेसम्म।

हो हुन्थ्यो नी यी हिमपातझैं
खुसियालीको वर्षा यी घरहरूमा पनि,
सरकारले पसिनाका,
मोतिहरू देशमै रोकेसम्म।

हुन्थ्यो सेताम्मे हिमालझैं शान हामीलाई, स्वावलम्बीपनको
विदेशीभूमिलाई आफ्नै पसिनाले नसिचाहेको भए।

कसरी सिङ्गारिन्छ र यो गाउँ?
सुख र सद्भावको,
नयाँ रङ्गले, देशमै रोजगारी दिएर,
ती मिहिनेतका श्रीपेचधारीहरू,
घर नपर्किएसम्म।

कसरी भुलिन्छ र?
यो नेपाली मुटुको क्यामरामा,
कैद गरिएको तस्विर!
यिनीहरूको जीवन स्तर सुधार नगरेसम्म।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार