विराट राज्यको खोजविन हुनु आवश्यक भइसकेको छ। विराट राज्य भनेको उत्तर दिशाको मूल राज्य र यक्षहरूको मूल लोकपाल क्षेत्र रहेको देखियो।
दुनियाँमा आफ्ना सभ्यता रक्षा र विस्तारका लागि लगातार लडाइँझगडा हुँदै आएका छन् तर दुःखका साथ भन्नुपर्छ, हाम्रा सभ्यता र इतिहास लगातार प्रहारमा परेका छन् तर कसैको मन दुख्दैन। गर्नु आवश्यक देखिएको छ। त्यसैले अबको समयमा हामीले इतिहास के हो, कहिलेदेखि सुरु भएको हो, हामी को हौँ, यसको खोजी नीति खाँचो छ।
त्यसैले हाम्रा सभ्यता इतिहास खोजी गर्ने हो भने हामीले हाम्रा वैदिककालीनभन्दा पर पुगेर इतिहास खोजी गर्नुपर्ने हुन्छ र खोजी गर्ने प्रयास पनि गर्दै आएका छौँ। यसै क्रममा खश आर्य सभ्यताको उद्गम भनेको हिमवत् मानसखण्डको कैलास पर्वतको काखको सभ्यता र इतिहास खोजी गर्नु परेको छ। यसै इतिहास खोजी गर्दा खश आर्य सभ्यतामा मिसावटी सभ्यता पाइने रहेछ।
जब ब्रह्माको समय थियो, त्यो समयमा शिव देवका पनि देव भएकाले महादेव हुनु भएको र शिवकै निर्देशनमा अमरावती इन्द्र राज्य र अलकापुरी कुबेर राज्य सञ्चालन भएको पाइन्छ। इन्द्र राज्यमा देवताको भूमिका रहेको देखिएको छ भने अलकापुरी कुबेरको राज्यमा यक्षहरूको भूमिका प्रमुख रहेको देखिएको छ। यी दुवै राज्य हिमालय पर्वतस्थित राज्य रहेका देखिएका छन्।
वैदिककालीन समयमा आर्य समाजको राज्य प्रणाली चार दिशामा चार चक्रवर्ती राजा, ती राजाको मातहतमा अन्य राज्य रहने गरेका देखिन्छन्। चार चक्रवर्ती राजाहरूमा पूर्व दिशाका राजालाई सम्राटको उपाधि दिइएको थियो, पश्चिम दिशाका चक्रवर्ती राजालाई स्वराटको उपाधि दिइएको थियो, उत्तर दिशाका राजालाई विराटको उपाधि मिलेको थियो भने दक्षिण दिशाका राजालाई एकराट उपाधि दिइएको थियो।
यो समयमा यक्षलाई लोकपालको कार्यभारको जिम्मेवारी रहेको देखिएको छ। त्यही क्रममा यक्षका नायकलाई महाराजको उपाधि दिइएको पाइन्छ। यी लोकपालहरूमध्ये उत्तर दिशाको लोकपालमा यक्षको, जसलाई घृतराष्ट्र, पूर्व दिशाको लोकपाल कुबाण्डाको, जसमा विरूढक, पश्चिम दिशाको लोकपाल नागहरूको अधिपत्य रहेको देखिएको छ।
स्वर्ग राज्य इन्द्रको अमरावती थियो भने अर्को राज्य कुबेरको रहेको थियो, जुन राज्यमा राजा कुबेर र कुबेरका सहयोगी यक्ष रहेका थिए। यक्ष थिए, जसमा मणिभद्र र यक्ष पूर्णभद्र प्रमुख रहेका थिए। यसले के देखाउँछ भने यक्षहरू पनि आर्य हुन्, शिवका विभिन्न गणहरूमध्येका एक गण हुन्। मणिभद्र यक्षका पुत्र शिवभक्त रहेको भन्ने पाइन्छ।
यक्षहरूको विशेषता भनेको पानी नजिक, लेकका भञ्ज्याङ, रूखहरू मुनि, खोला नदी किनारमा बस्ने र छायाको रूप धारण गर्ने, नरबलि खाने कुनै कुनै यक्षहरूले नरबलि खाने गरेको भनिएको छ। परापूर्वकालमा यक्ष पूजा गर्न र यक्ष उत्सव मनाइने गरिएको भनिएको छ।
यक्ष उत्सवको अध्यक्षता विराट राजाको हुने गरेको भनिएको छ। जुन राज्य उत्तर दिशाको राज्य हो। यो राज्यका अवशेष जुम्लाको सिजामा हुन सक्ने देखिएको छ तर यसको सही खोज र पहिचान गर्न सकिएको छैन। यो हाम्रो ठूलो भूल हो।
मानव, देव र ऋषिहरूको मूल थलो भनेको हिमवान् क्षेत्रको हिमाल रहेकोमा कुनै विवाद देखिएको छैन। हिन्दु दर्शन इतिहासले मनु काल लाखौँ वर्षको मानेका छन् तर पश्चिमी इतिहासकारले भने मनु काल स्वीकार त गरेका छन् तर ३१५० ईसापूर्वको समयलाई मानेका छन्।
प्रजापतिका समयमा शिव र प्रजापतिको विवादले शिव पूजा भएन र ईसापूर्व ३१५० मा ठूलो जलप्रलय हुन गयो। सम्पूर्ण भूमि जलमा डुब्न गएकाले मानव सभ्यता नष्ट भयो, कति जातिहरू हराएर गए भनिएको छ। विश्वका मूल तीन सभ्यतामध्ये आर्य सभ्यता, मिश्र सभ्यता र मेसोपोटामियन सभ्यताको इतिहासले पनि जलप्रलयको कुरा स्वीकार त गरेका छन् तर मिति मिलेको देखिँदैन। आर्य सभ्यताबाहेक अरू सभ्यताका इतिहासमा जलप्रलयको काल ३१०२ ईसापूर्व भनेका छन्।
यो जलप्रलयका बेला सातौँ मनु सरस्वती नदीका किनारातर्फ बसेकामा जलप्रलय भएपछि मनु बसाइँ सरेर कुबेरको राजधानी अलकापुरीतर्फ आएर मनु हावी भई मनुवादी विचारसहितको मिश्रित सभ्यताको विकास हुँदै आर्य सभ्यता र संस्कृतिको विकास भई अघि बढेको भनिएको छ। सरस्वती नदीका किनारा बसेका मनु मत्स्य जातिको सहयोगले हिमालयस्थित कुबेरको राजधानी हिमालय ब्रह्मपुरी अर्थात् अलकापुरी गए र कुबेर र यक्षको सहयोगले त्यही हिमालयमा बसे।
पछि सरयू नदीका किनारामा रहेको पहाडको टाकुराबाट राज्य चलाउन थाले भनिएको छ। गुरु योगी नरहरिनाथको भनाइलाई आधार मान्ने हो भने हालको कालिकोट जिल्लाको मात्मको चौक्या ढुङ्गा राजा मनुको राजधानी हो र मनुको नामले मात्म नाम रहेको भनेका छन्। यो इतिहासलाई हेर्ने हो भने मनु अलकापुरीबाट मात्म सरयूका भएका हुनुपर्छ। कुन्तीपुत्र कर्णले भ्रमण गरेका हुनाले सरयू नदीकन कर्णाली भनिएको भए तापनि वैदिककालीन कर्णालीलाई सरयू भनिएको थियो।
जुन पानी अयोध्या पुगेपछि सरयू भनिने गरेको छ तर नेपाल हुँदा कर्णाली भनिएको छ। कतै कर्णाली पनि ऐतिहासिक रूपले अतिक्रमणमा परेको त होइन? वैदिककालीन इतिहासको व्याख्या हिमालयमा नै पाइएका छन्। जब मनु सन्तान इक्ष्वाकु अयोध्या गए, त्योभन्दा पहिलाको सरयू कता थियो, चिरफार हुनुपर्ने देखिन्छ। नेपालमा बग्दा कर्णाली सरयू नभनी अयोध्या पुगेपछि सरयू हुनु नेपालमा भ्रम छरिएको छ।
यसरी के थाहा हुन आयो भने हिमवत् मानसखण्डमा कुबेर राज्य, मनु राज्य र इन्द्र राज्यसमेत भएकाले यही क्षेत्रमा मिश्रित सभ्यता सुरु भयो। अर्को तर्फ जब देवराज इन्द्रले स्कन्द अर्थात् कार्तिकेयलाई सेनापति नियुक्त गरी आफू राजकाजबाट अलग भए, त्यो समयबाट पनि शिव गण र कुबेरका राज्यका यक्ष गण, मनु समाजसहितको मिश्रित सभ्यताको विकास हुन गयो र खश आर्य यक्ष समाजमा संस्कृति मिश्रित हुन गए। त्यही कारण खश आर्य सभ्यतामा मष्टा पूजा, भूत वाहन पूजा, जुन भूत होइनन् तर मष्टाका वाहनको रूपमा रहेका देवता हुन् तर बलि र नरबलि खाने भएकाले भूत भनिएका हुन्।
आजकाल जहाँ मष्टा पूजा हुन्छ, त्यहाँ भूत वाहन पूजा पनि हुन्छ किनकि यक्षहरूलाई भूतको रूपमा पूजा गरिएको हो कि भन्ने अनुमान लाग्छ। यो खोजी हुन जरुरी देखिएको छ। कुनै समयमा विराट राजाले यक्ष पूजा गर्ने र यक्ष उत्सवको अध्यक्षता नै गरेकाले यक्ष पूजा हुने गरेको पाइएका छन्। हाल खशान क्षेत्र सेती, कर्णाली र महाकालीमा मष्टाका साथमा रहेका वाहन पूजिँदा छन्।
वाहनहरू खोला, लाग्ना–लाग्ना, रूखमा ध्वजा, घण्टा चढाउने तर मन्दिर नहुने देखिएको छ भने अर्को तिर भूत वाहन लागेपछि छाया लाग्यो भन्ने चलन रहेकाले कतै यक्षहरूको भूमिका त होइन, यो खोजी हुनुपर्ने देखिन्छ। यो चलन विराट क्षेत्र अर्थात् उत्तरी क्षेत्रमा हुनु स्वाभाविकै हो किनकि यक्ष उत्सवको अध्यक्षता विराट राजाबाट हुने गरेको उल्लेख गरिएको छ। विगत इतिहास खोतल्दै जाँदा आर्य समाजमा मिश्रित सभ्यता रहेको र यो समाजमा रीतिरिवाज, परम्परा, संस्कृति एकै देखिएका छैनन्।
कोही समाजमा कसैको प्रभाव बढी छ, कोही समाजमा कसैको प्रभाव बढी छ तर यी सबैका मूल पूज्य भनेका भगवान् शिव नै देखिएका छन्। किनकि मष्टा र मष्टाका वाहन पनि शिव गण हुन्, जुन इन्द्र र इन्द्रका नाताभित्रका मानिन्छन्। राजा विराटको राजधानी सिजा भएको कुरामा लगभग निकट इतिहास देखिएको छ। त्यहाँ विराट राजाको दरबार हुनु र विराट दरबार नजिकै पाँच पाण्डवको गुफा हुनु, यसको साथै सिजा राज्य सुदूर उत्तर हुनु, यो नै मूल प्रमाण हुन्। त्यसैले विराट राज्यको खोजविन हुनु आवश्यक भइसकेको छ।
विराट राज्य भनेको उत्तर दिशाको मूल राज्य र यक्षहरूको मूल लोकपाल क्षेत्र रहेको देखियो। कुरा कुबेरको राजधानी हिमालको अलकापुरी अर्थात् ब्रह्मपुरी भएकाले पनि विराट राज्यले यक्ष उत्सवको अध्यक्षता गर्न मौका पाएको हुनुपर्छ। अर्को आर्य सभ्यताको मूल थलो विराट राज्य रहेकाले यो दरबार केवल राजाको इतिहाससँग मात्र होइन, खश आर्य र यक्षहरूको सभ्यताको सम्पूर्ण इतिहासको मूल भएकाले जब विराट राज्यको खोजी हुँदैन, संरक्षण हुँदैन, खश आर्य र यक्षको सभ्यताको शिर छैन भने पनि हुन्छ।
यो क्षेत्रमा विभिन्न ठाउँमा मष्टाका साथमा भूत पनि रहेका छन्। सायद हुन सक्छ, मष्टा र मनुको बलियो नेतृत्वले यक्षको महत्त्व कमी हुन गई यक्षहरूलाई भूत भनिएको हो कि। भूतहरूमा पनि पितृ भूत र देव भूत गरी दुई वर्गमा विभाजन गरिएको छ। पितृ भूत अकालमा मृत्यु हुने मानव हुन् भने देव भूत भनेका मष्टाका सहयोगी हुन्।















