दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार सार्वजनिक गरेको तालिकाअनुसार ती महत्त्वपूर्ण खेलहरू जुम्लामा खेलाइने निश्चित भएको हो।
दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य युद्ध शाहीले सेमिफाइनल र फाइनल खेल जुम्लामा हुने आधिकारिक निर्णय आएसँगै आवश्यक तयारी थालिएको जानकारी दिए। खेल व्यवस्थापन र मैदान निरीक्षणका लागि राखेपको प्राविधिक टोली सोमबार जुम्ला आइपुग्ने उनले बताए।
यसअघि दसौं राष्ट्रिय खेलकुदअन्तर्गत जुम्लामा कुनै पनि खेल नहुने समाचार बाहिरिएपछि स्थानीय खेलप्रेमी र सरोकारवाला आक्रोशित बनेका थिए। विभिन्न पक्षको निरन्तरको पहल र दबाबपछि पुरुष फुटबलका निर्णायक खेलहरू जुम्लामै हुने तय भएपछि स्थानीय खेलाडी तथा खेलप्रेमी उत्साहित भएका छन्।
सदस्य शाहीले खेलकुदको प्रचुर सम्भावना बोकेको जुम्लामा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुनु निकै मौलिक र ऐतिहासिक अवसर भएको बताए। अखिल नेपाल फुटबल संघ (एन्फा) का जिल्ला अध्यक्ष भरतबहादुर बुढ्थापाले जुम्लाले पाएको यो अवसरलाई सफल बनाउन सबै पक्ष व्यवस्थापनको तयारीमा जुट्नुपर्नेमा जोड दिए।
खेल हुने पक्का भएसँगै सरोकारवाला निकायले खेलमैदानको निरीक्षणसमेत सुरु गरेका छन्। प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही, पूर्वमन्त्री तथा संविधानसभा सदस्य नरेश भण्डारी, खेलकुद विकास समितिका प्रमुख न्यौपानेलगायतको टोलीले परिमलाचौरस्थित नेपाली सेनाको फुटबल मैदानको अवलोकन गरेको छ।
जिल्ला खेलकुद विकास समितिले अब प्रतियोगिताको व्यवस्थापकीय पक्षलाई कसरी चुस्त बनाउने भन्ने विषयमा सरोकारवालासँग छलफल अघि बढाएको जनाएको छ।















