मानिस उमेर बढेसँगै झन् सानो हुने प्राणी हो। सोचले सानो, विचारले सानो। मलाई अरूकै लागि ठूलो हुनु छैन। सानो भएर आफ्नो हुनु छ।
हरेक जन्मदिनपछि प्रायः मानिसलाई लाग्छ उमेर बढ्यो। ठूलो भइयो। उमेर थाहा नहुनेहरू कि उमेरले नेटो काटेको सोच्दा हुन् या उमेर आएर एउटा समयमा टक्क अडिएको सोच्दा हुन्।
तर जन्मिएको मिति टिपिदिने कोही नभएर उमेर नै थाहा नभएकाहरू पनि एउटा उमेर लिएर बाँचेका हुन्छन्। काल्पनिक नै सही उनीहरू उमेर बोक्छन्। सायद समाज, सरकार अनि नागरिकताकै लागि सही उनीहरू एउटा उमेर बोक्छन्। त्यही उमेर मानिसलाई हरेक वर्ष बढेको जस्तो लाग्छ।
जन्म र मृत्यु तय भएको सत्यमा मानिस जन्मिएपछि उमेर बढ्दै जान्छ कि घट्छ? मानिस ठूलो होइन बरु सानो हुनुपर्ने होइन र? मृत्युको नजिक पुग्दा मानिस ठूलो कसरी रहिरहन सक्छ? ऊ त घुँडा टेक्छ। रुन्छ, कराउँछ। हारगुहार गर्छ। अमरत्वको भिख माग्छ। आफ्नो र आफ्नाको लामो आयु माग्छ।
जीवनभर माटोमा गाडेको सम्पत्ति नै सुम्पिन तयार हुन्छ जीवनको बदलामा। यस्तो निरीह मानव ठूलो कसरी हुन्छ? उमेरसँगै ऊ परिपक्व हुँदैन। ऊ त झन् रुन्चे हुन्छ। जीवनभर मायामोहको साम्राज्य खडा गरेर बुढेसकालमा त्यही मोहबाट पिछा छुटाउन ऊ ईश्वर खोज्छ, ध्यान गर्छ, दान गर्छ। प्रायश्चित्त गर्छ। प्रायश्चित्तसम्म पुर्याउने हरकत गरेको उमेर बढेको कसरी हुन्छ?
मानिस सबैभन्दा परिपक्व त बालापनमा हुन्छ। पाको उमेरमा मानिस मोहभंग गर्न खोज्छ तर बच्चालाई हेर्नुहोस् उसमा के मोह? उसलाई के चासो षड्यन्त्रमा। उसलाई के थाहा दाजुभाइ भनेको अंशको लागि लड्ने, भिन्न बस्ने सम्बन्ध हो भन्ने! उसलाई त दाजुभाइ सधैँ साथ हाँसीखुसी खेल्ने, लड्ने, मिल्ने हो यति मात्रै चासो हुन्छ।
जन्मिएको दिनको गन्ति बढ्छ। तर उसको आयुसँगै सोच पनि छोटो हुँदै जान्छ। ए साँच्ची उसोभए उमेर कसरी बढ्छ? मानिस ठूलो भएर फेरि बुढेसकालमा बच्चा जस्तै निश्चल बन्न खोज्छ भने आखिर मानिस ठूलो बन्न नै किन खोज्छ? किन उमेर बढेकोमा गर्व? के मानिस बढेको उमेरसँगै बढेको लोभ, घमण्ड, रिस, तनावमाथि पनि गर्व गरिरहेको हो?
मानिस उमेर बढेसँगै झन् सानो हुने प्राणी हो। सोचले सानो, विचारले सानो।
मलाई मानिस कहिल्यै परिपक्व बन्दैन भन्ने लाग्छ। ऊ त उमेरको चक्करमा परिपक्वताको ढोंग गर्छ। “यतिका उमेर हुँदा पनि केही गर्न सकिएन”, ऊ पिल्सिन्छ। उसलाई केही गर्न नसक्नु भन्दा बढी तनाव यो उमेरमा केही गर्न नसक्नुले दिन्छ।
एउटै उमेरकाले घर ठडाइसके। आफूभन्दा सानो उमेरकाले बिहे गरिसके यस्तै यस्तै। जिम्मेवारी बोध उमेरले गराउँछ कि परिस्थितिले? उमेर बढेर मानिस ठूलो हुन्छ कि मान्छे बनेर मान्छे ठूलो हुन्छ?
म हरेक जन्मदिनपछि आफूलाई कमजोर पाउँछु। समयको अघि हारेको। आफूलाई १६ वर्ष रहिरहन मन हुँदा पनि समयले २६ मा उभ्याउँदा खुसी हुनु कि दुःखी। सत्य सम्झेर आर्तनाद गर्नुभन्दा मिठाई खाएर सत्य स्वीकार गर्नु बढी लाभकारी। कमसेकम मानसिक स्वास्थ्य त ठीक ठाउँमा रहन्छ। उमेरले मानिसलाई सिकाउँदै लान्छ, राम्रो मान्छे बनाउँछ भन्ने मान्छेको जबरजस्ती थोपरीएको भनाइ मलाई मिथक लाग्छ।
कतै उमेरको पगरी भिरेर हामी बाँच्न त बिर्सिरहेका छैनौँ? उमेर बढ्यो भनेर पाको जस्तो अभिनय त गर्दै छैनौँ? आखिर पाको हुनु के हो? कुरा बुझ्नु कि समाजलाई रिझाउनु? पाको हुनु के हो जिम्मेवारी निभाउनु कि समाजलाई देखाउनु? पाको हुनु के हो? आदर्शवादी कुरा गर्नु कि वास्तविकतामा उभिनु? मलाई अरूकै लागि ठूलो हुनु छैन। सानो भएर आफ्नो हुनु छ। हरेक वर्ष मानिसले आफैलाई सोध्छ र सोध्नु पर्छ म ठूलो भएँ कि सानो?
हामी मान्छेलाई थाहा छ कि हामी कोही सदावहार छैनौँ। तर पनि यसरी बाँच्छौँ कि हामीसित समय नै समय छ। घमण्ड प्रचुर छ। छोडेर जाने चोलामा त यस्तो तछाडमछाड छ झन् सदावहार हुँदो हो त मान्छे के-के सम्म गर्थ्यो होला। कुन हदसम्म गिर्थ्यो होला।
मान्छे अर्को मान्छेलाई मान्छे गन्दैन। अर्कोलाई नीच देखाउन कहिले सम्पत्ति त कहिले जात, धर्म, लिङ्ग आदिको सहारा लिन्छ। अरूलाई सानो देखाएर ठूलो हुनु पनि के ठूलो हुनु! शक्तिशाली पदाधिकारी भएर मान्छे नहुनु पनि के शक्तिशाली हुनु! जन्मदिनमा यो यति महसुस नहुनु पनि के जन्मदिन मनाउनु।















