सोमबार, ७ मंसिर, २०८३

दशौँ राष्ट्रिय खेलकुदमा जुम्लालाई गरिएको उपेक्षा अस्वीकार्य

दशौँ राष्ट्रिय खेलकुदमा जुम्लालाई एउटा पनि खेल विधा नदिइनु समावेशिता र न्यायपूर्ण अवसर वितरणमाथि प्रश्न हो। जुम्लामा खेल आयोजना गरी पूर्वाधार, प्रतिभा र स्थानीय अर्थतन्त्र विकास गरौँ।

कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने निर्णयले समग्र कर्णालीवासीमा उत्साह, आशा र गौरवको नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक, भौगोलिक र विकासका दृष्टिले लामो समयसम्म पछि पारिएको कर्णालीले राष्ट्रिय स्तरको बृहत् खेलकुद महाकुम्भको आतिथ्य गर्न पाउनु आफैँमा स्वागतयोग्य र ऐतिहासिक अवसर हो। यसले कर्णालीको परिचय बदल्ने र यहाँको सामर्थ्यलाई देशभर चिनाउने अपेक्षा गरिएको छ।

तर, यही उत्साहको पृष्ठभूमिमा कर्णालीकै एक ऐतिहासिक, सामरिक र प्रचुर सम्भावनायुक्त जिल्ला जुम्लालाई पूर्ण रूपमा पाखा लगाइनु दुर्भाग्यपूर्ण छ। आफ्नै प्रदेशको आँगनमा राष्ट्रिय खेलकुदको महाउत्सव चलिरहँदा जुम्लामा एउटा पनि खेल विधा नराखिनुले सन्तुलित विकास, समावेशिता र न्यायपूर्ण अवसर वितरणको नारामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।

जुम्ला भौगोलिक विकटताको पर्याय मात्र होइन; यो नेपाली खेलकुदको एक जीवन्त र उर्वर भूमि पनि हो। विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायादेखि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शिर उँचो बनाउने सुनमाया बुढासम्मका दर्जनौँ प्रतिभा जन्माउने माटो हो जुम्ला। उच्च भूभाग (हाइ अल्टिच्युड) को अद्वितीय प्राकृतिक अनुकूलता, स्वच्छ हावापानी र खेलमैत्री वातावरणका कारण जुम्ला आज स्वदेशी मात्र होइन, विदेशी खेलाडीहरूका लागिसमेत ‘हाइ अल्टिच्युड’ प्रशिक्षणको प्रमुख केन्द्र बन्दै गएको छ। एथलेटिक्स, म्याराथन, कराते, तेक्वान्दो, भलिबल लगायतका विधामा यहाँका युवाहरूले देखाएको क्षमता र अनुशासन प्रशंसनीय छ।

यस्तो विशिष्ट पहिचान बोकेको जिल्लालाई राष्ट्रिय खेलकुदको नक्साबाटै किनारा लगाउनु कत्तिको न्यायोचित छ? के जुम्ला कर्णाली प्रदेशको भूगोल र पहिचानभित्र पर्दैन? के आफ्नै माटोमा पसिना बगाइरहेका प्रतिभावान खेलाडीहरूले गृहजिल्लामा राष्ट्रिय स्तरको प्रतिस्पर्धा हेर्ने, खेल्ने र सिक्ने अधिकार राख्दैनन्?

राष्ट्रिय खेलकुद प्रतियोगिताको मर्म केही सुगम सहरमा खेल सीमित राख्नु मात्र होइन; यसको मुख्य उद्देश्य देशभरका लुकेका प्रतिभा पहिचान गर्नुका साथै स्थानीय स्तरमा खेल पूर्वाधारको विकास र विस्तार गर्नु पनि हो। यदि दशौँ राष्ट्रिय खेलकुदका कम्तीमा एक वा दुई विधा जुम्लामै आयोजना गर्ने निर्णय गरिएको भए, त्यसले यहाँको खेल पूर्वाधार निर्माणमा राज्यको ठोस लगानी भित्र्याउँथ्यो। खेलसँगै जोडिने स्थानीय अर्थतन्त्र, होटल व्यवसाय र पर्यटन प्रवर्द्धनमा समेत प्रत्यक्ष टेवा पुग्थ्यो। अझ महत्त्वपूर्ण कुरा, आफ्नै आँखाअगाडि राष्ट्रिय स्तरको प्रतिस्पर्धा देख्न पाउँदा नवोदित खेलाडीहरूमा नयाँ ऊर्जा र आत्मबल भर्थ्यो।

पूर्वाधार अभावको बहाना, केन्द्रीकृत मानसिकता वा राजनीतिक–प्रशासनिक पहुँचको कमीका कारण जुम्लालाई पछि पार्ने पुरानै प्रवृत्ति यसपटक पनि दोहोरिएको अनुभूति भएको छ। केही सुगम र पहुँचवाला थलोमा मात्र खेल केन्द्रित गरेर समग्र कर्णालीको खेलकुद विकास र समृद्धिको लक्ष्य पूरा हुन सक्दैन।

जुम्लावासीलाई कसैको भाग खोस्नु छैन, न त कुनै जिल्लाको प्रगतिमा ईर्ष्या नै छ। तर, आफ्नो न्यायोचित हक, अवसर र पहिचान खोसिँदा मौन बस्न पनि सकिँदैन। राष्ट्रिय खेलकुद कुनै निश्चित क्षेत्र वा जिल्लाको मात्र एकलौटी अवसर होइन; यो समग्र कर्णालीको साझा गौरव र उत्सव बन्नुपर्छ।

तसर्थ, सम्बन्धित निकायले जुम्लाको प्राकृतिक वरदान र खेलाडीहरूको योगदानको अवमूल्यन किन गरियो भन्ने स्पष्ट जवाफ दिँदै खेल स्थल र तालिकामा तुरुन्त पुनरावलोकन गर्न आवश्यक छ। जुम्लामा कम्तीमा एक वा दुई विधाका खेल आयोजना गर्ने व्यवस्था मिलाइनुपर्छ, जसले यहाँको खेल पूर्वाधार निर्माणमा राज्यको ठोस लगानी सुनिश्चित गरोस्। साथै, जुम्लालाई हेर्ने केन्द्रीकृत र संकीर्ण दृष्टिकोण बदलेर व्यवहारमै न्याय र समावेशिता स्थापित गरिनुपर्छ।

जुम्ला कहिल्यै कमजोर थिएन र छैन पनि; बरु अवसर र लगानीको न्यायोचित वितरण नहुँदा पछि पारिँदै आएको मात्र हो। कर्णालीको वास्तविक समृद्धि र खेलकुदको दिगो विकास चाहने हो भने जुम्लाजस्ता सम्भावनायुक्त जिल्लालाई मूलधारमा समेट्नै पर्छ। अन्यथा, कर्णालीमा हुने यो राष्ट्रिय खेलकुद इतिहासमा एउटा अपूरो र एकाङ्गी उत्सवका रूपमा मात्र दर्ज हुनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार