जाजरकोटको जुनिचाँदे गाउँपालिकामा भाइले कोदालो प्रहार गर्दा दाइको मृत्यु भएको छ ।
जुनिचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठो बुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि धारिलो हतियार कोदालो प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घाइते भबिरामको उपचार हुन नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।
प्रहरीका अनुसार घटना मंगलबार साँझ करिब ७:४० बजे जुनिचाँदे गाउँपालिका–८ पंकस्थित बाटोमा भएको हो । घटनापछि बले थापा फरार भएका छन् ।
घटनाको जानकारी राति करिब ९:४० बजे प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक तिलक चन्दको कमान्डमा सात जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
घटनास्थलमा पुगेको प्रहरीले प्रयोग गरिएको कोदालो बारीमा फेला पारेको जनाएको छ। घटनामा संलग्न बले थापाको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















