पूर्व राष्ट्रिय भलिबल खेलाडीद्वय स्व. भुवनसिंह केसी र स्व. दीर्घबहादुर खत्रीको स्मृतिमा जुम्लामा जारी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। सरस्वती युवा क्लब मिचाको आयोजनामा सञ्चालित प्रतियोगिताको उपाधिका लागि शीर्ष दुई टोली भिड्न लागेका हुन्।

गत कात्तिक १६ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल पाँच टोलीले सहभागिता जनाएका छन्। लिग चरणका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा अंक तालिकाको पहिलो र दोस्रो स्थान हासिल गर्ने टोलीबीच उपाधि भिडन्त हुने क्लबका अध्यक्ष भीम रावलले जानकारी दिए। उनका अनुसार आज बिहानका खेलहरूको नतिजा आएसँगै फाइनल खेल्ने दुई टोलीको टुङ्गो लाग्नेछ र त्यसलगत्तै आजै फाइनल खेल सञ्चालन हुनेछ।

प्रतियोगिताको उद्घाटन जुम्ला प्रदेशसभा क्षेत्र नं. (क) का सांसद देवेन्द्रबहादुर शाहीले गरेका थिए।
फाइनलमा गायिका विपना सिंहको प्रस्तुति
प्रतियोगिताको फाइनल खेललाई थप भव्य र मनोरञ्जनात्मक बनाउन चर्चित गायिका विपना सिंह आजै जुम्ला आइपुग्ने कार्यक्रम छ। फाइनल खेलका दौरान उनको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। उनको प्रस्तुतिले खेलप्रेमी तथा दर्शकमा थप ऊर्जा र उत्साह थप्ने अपेक्षा गरिएको छ।

दिवंगत राष्ट्रिय खेलाडीहरूको स्मृतिलाई जीवन्त राख्दै खेलकुदको माध्यमबाट नयाँ पुस्तालाई प्रेरित गर्ने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने तथा आपसी सद्भाव र एकता प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।

















