बुधबार, १८ कार्तिक, २०८३

तिहार सुरु नहुँदै जताततै कौडा र पटका, रोक्नमा सरकारको बेवास्ता !

केही व्यक्तिले लंगुरगुच्चा, कौडा र जुवातास खेलाएर सर्वसाधारणको पैसा र समय सखाप पारिरहँदा र व्यापारीहरूले उपभोक्ता ठगिरहँदा सरकार भएको अनुभव गर्न सकिएको छैन । चाडपर्व व्यापारीका लागि कमाउने मौका हो ।

तिहार आउन अब एक साता बाँकी छ । अर्को सातादेखि तिहार सुरु हुन्छ । तर, तिहार सुरु नहुँदै सडकमा छ्याप्छ्याप्ती लंगुरगुच्चा, कौडा, जुवातास खेलेको देखिन थालेको छ । भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरभित्र लंगुरगुच्चा, कौडा र जुवातास खेलेको दृश्य देखिन्छ । सडक छेउछाउ पनि भिड जम्मा गरेर यी अवैध चिजहरू खेलिरहेको पाइन्छ ।

तर, नियामक निकायले यसलाई बन्द गराउन सकेको छैन । न खेलाउनेलाई कारबाही । तिहार आउन साता बाँकी हुँदा जताततै पटका पड्काउन थालिएको छ । यसले ध्वनि प्रदूषण त भएको छ नै, साथै आम नागरिकलाई डिस्टर्ब भइरहेको छ । बाटो हिँडिरहँदा अचानक पटका पड्किँदा पैदलयात्री र सवारी चालक तर्सिने गरेका छन् ।

यता, घरहरूमा झिलिमिली टाँग्न पनि सुरु भइसकेको छ । तिहार झिलिमिलीको चाड हो । तर, त्यही झिलिमिलीका कारण सर्वसाधारणले ज्यान गुमाएका घटनाहरू छन् । तिहारमा झिलिमिली टाँग्ने क्रममा घरको छतबाट खसेर सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । बालेको बत्ती सल्किएर आगलागी भएका घटनाहरू पनि थुप्रै छन् ।

तिहारमा मुख्य रूपमा बिक्री हुने भनेको भाइमसला, ड्राई फ्रुट्स लगायतका सामग्री हुन् । तर, रसुवा बाढीका कारण यसपटक सामान महँगिने निश्चित छ । दसैँमा जसरी व्यापारीले पुराना सामान बेचे, तिहारमा त्यसैगरी पुराना सामान महँगो मूल्यमा बेचिने देखिएको छ । व्यापारीहरूले पोका बनाएर सामान बेच्न राखिसकेका छन् ।

पुरानो सामान महँगोमा बेच्ने राम्रो मौका पाएका छन्, व्यापारीहरूले । केही व्यक्तिले लंगुरगुच्चा, कौडा र जुवातास खेलाएर सर्वसाधारणको पैसा र समय सखाप पारिरहँदा र व्यापारीहरूले उपभोक्ता ठगिरहँदा सरकार भएको अनुभव गर्न सकिएको छैन । चाडपर्व व्यापारीका लागि कमाउने मौका हो ।

व्यापारीलाई जसरी पनि कमाउनु छ । त्यसका लागि पुराना सामान दोब्बर मूल्यमा भिडाउँछन्, हरेक सामानमा मनलाग्दी मूल्य असुल्छन् । तर, उपभोक्ता फस्छन् । उनीहरूको पैसा पनि सकिन्छ, ज्यान पनि । कुहिएको, बिग्रिएको सामान भिडाएर जनताको स्वास्थ्य र पैसा लुटिँदै छ ।

तर, सरकार अनुगमन गर्दैन । बालेन्द्र साह नेतृत्वको सरकार बनेपछि अनुगमन शून्यबराबर छ । झन्डै दुई तिहाइको बलियो सरकार छ तर बजार अनुगमन हुँदैन । सल्लाघारीको तीनकुने चौर वरपर थुप्रै प्रहरी देखिन्छन् । ट्राफिक प्रहरी र प्रहरी नै हुन्छन् । तर, लंगुरगुच्चा, कौडा, जुवातास खेलाइरहेको र खेलिरहेको देख्दैनन् ।

यसको कारण के हो ? प्रहरी चिया पसलमा गफ गरेर बस्छन् तर तिनलाई समात्दैनन् । देखेर पनि नदेखेझैँ गर्छन् । प्रहरीले तिनलाई भटाभट समात्ने हो भने कसले लंगुरगुच्चा, कौडा र जुवातास खेलाउने र खेल्ने आँट गर्छ ? जनताले तिरेको करबाट प्रहरीले तलब खाएका छैनन् तर जनता गलत बाटोमा लाग्दा उनीहरू वास्ता गर्दैनन् ।

यता, व्यापारीहरू सामान आएको छैन भन्दै पुरानै सामान महँगोमा भिडाइरहेका छन् । प्याक गरेको सामानभित्र के छ, देखिँदैन । उपभोक्ताले लिएर जान्छन्, घर लगेर खोल्दा खानयोग्य हुँदैन । सामान खोलेपछि व्यापारीले सामान फिर्ता लिँदैनन् । व्यापारीहरूले यसरी लुटको धन्दा मच्चाएका छन् ।

यहाँ त जसले सकेको छ, उसले लुटेको छ । तर, सरकार कतै अनुगमन गर्दैन । जनतालाई चाड मान्नैपर्ने बाध्यता छ । ऋणधन गरेर जनता चाड मनाउँछन् । यस्तो महँगी भएपछि कसरी चाड मनाउने ? दिदीबहिनी ऋणधन गरेर दाजुभाइलाई टीका लगाउन सामान किनेर लैजान्छन् ।

दाजुभाइले पनि ऋण खोजेर दक्षिणा दिनुपऱ्यो । सामानअनुसारको दक्षिणा दिएन भने अर्कोपटकबाट टीका नै लगाउन नआउलान् भन्ने चिन्ता । बेरोजगारी र महँगीको कारणले जनता बाँच्नै नसक्ने अवस्थामा पुगेका छन् । सरकारी जागिर खाने, घरभाडामा लगाउने, पेन्सन आउने र छोराछोरी विदेशमा भएकाबाहेक कसैले अब चाडबाड मनाउन सक्दैन ।

यहाँ जसरी पनि जनता नै मरिरहेका छन् । कृषकले पाँच सयदेखि छ सयमा जिउँदो खसी बेचे । बाख्रा त दुई तीन सय रुपैयाँ किलोमा बेचे । तर, मासु पसलेहरूले काटेर खसीको मासु प्रतिकिलो १६ देखि १९ सयमा बेचे । किसानले आफ्नो मिहिनेतअनुसारको मूल्य पाएनन्, उपभोक्ता पनि ठगिए ।
चाडपर्वमा माछामासु नभईकन हुँदैन । तर, सबैभन्दा बढी यसमै ठगी भइरहेको छ । बीचमा बसेर बिचौलियाहरूले खाइरहेका छन् । पशुपालकलाई केही न केही ।

दुई रुपैयाँ किलोमा गोलभेँडा नबिकेको भन्दै कृषकले पटकपटक सडक आन्दोलन गरेका छन् । तर, बजारमा जहिलेजसो टमाटर किलोको एक सय रुपैयाँ हुन्छ । हरेक ठाउँमा बिचौलिया छन् । व्यापारीहरूले बेच्ने मात्र हुन्, उनीहरूको आफ्नो उत्पादन हुँदैन । यद्यपि, बीचमै बसेर उनीहरू मोटाइरहेका छन् ।

बिचौलियाहरू किसानबाट ६ महिनाअघि सामान ल्याउँछन्, ६ महिनापछि भुक्तानी गर्छन् । उपभोक्ताले त क्यास तिरेर सामान खरिद गर्नुपर्छ । विडम्बना, दलालीलाई कारबाही गर्न सक्ने सरकार नै भएन । बालेन सरकारले सिन्डिकेटधारी, बिचौलिया, भ्रष्टाचारीहरूलाई कारबाही गर्छ भन्ने आश जनतालाई थियो ।

त्यसैले त जनताले बालेन सरकारलाई झन्डै दुई तिहाइ भोट दिए । तर, आठ महिनामा सरकारले सिन्को पनि भाँचेन । बालुवाटार र सिंहदरबार गर्दै यो अवधि बित्यो । सरकारले काम गर्न नसकेपछि विभिन्न बहाना बनाउन थालेको छ । प्रदेश र स्थानीयमा रास्वपाको नेतृत्व नभएकाले काम गर्न नसकेको उनीहरूको जिकिर छ ।

आफ्नो असक्षमता लुकाउन यसो भन्न मिल्छ ? जो मान्छेको खुट्टामा तागत छैन, उसले भारी बोक्न सक्छ ? संघीय स्तरमै असक्षमता देखिइसकेको छ । अब फेरि स्थानीय र प्रदेशमा भोट दिएर देश डुबाउने ? काम गर्नेले बहाना गर्दैन । बहाना काम गर्न नसकेपछि गर्ने हो ।

बजारमा के भइरहेको छ ? बालेन सरकारलाई थाहा छैन । उनीहरूलाई दिन कटाउनु छ, सरकार लम्बाउनु छ । तर, यसले देश र जनतालाई घात भइरहेको छ । असोज १६ गतेदेखि सदन स्थगित छ । विपक्षीले आवाज उठाउलान् भनेर सरकार सदन बन्द गरेर बसेको छ । यद्यपि, सांसदहरूले तलबभत्ता त खाइरहेका छन् ।

जनता महँगीको मारमा छन् । कानुन बन्न सकेको छैन । तर, सरकार सदन बन्द गरेर हाइसञ्चो मानेर बसेको छ । यो सरकार पनि पुरानै सरकारजसरी चलिरहेको छ । अनि रास्वपालाई १८२ सिटमा जिताएर के फाइदा भयो ? देशमा के परिवर्तन आयो ? जुन जोगी आए पनि कानै चिरेको अवस्था छ ।

व्यापारीहरू ठग्न छोड्दैनन्, कर्मचारी घुस खान । देशमा केही होला कि भनेर जनता कहिले कांग्रेस, कहिले एमाले कहिले माओवादी त कहिले रास्वपालाई भोट दिन्छन् । तर, अवस्था उही छ । चुनाव नआउन्जेल यो त्यो भन्छन्, जितेपछि बिर्सिन्छन् । बालेन सरकारले आठ महिनामा के गर्‍यो ? जनताले भन्न सक्ने स्थिति छैन ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार