आईतवार, १६ कार्तिक, २०८३

ऋण भिडाउन नयाँ नयाँ फन्डा: जनता फस्दै, सरकार रमिता हेर्दै !

​बुढापाकाहरूले भन्छन् नि, ऋण भनेको घिन हो । ऋणले मान्छेलाई मर्न बाध्य बनाउँछ । तैपनि नेपालीको सोच फेरिएन । अरूलाई देखाउनका निम्ति ऋण लिन्छन् । भोलि त्यही ऋणले परिवार बर्बाद बनाउँछ, कतिपयको ज्यान लिन्छ ।

​अटो उत्पादनकर्ताले वर्षैपिच्छे गाडीको मोडल चेन्ज गर्छन् । हरेक वर्ष नयाँ नयाँ मोडलका दुई वा चार पाङ्ग्रे सवारी साधन बजारमा सार्वजनिक हुन्छन् । मोबाइल, ल्यापटप, फ्रिजलगायत विद्युतीय उपकरणको प्रत्येक वर्ष नयाँ मोडल निस्किन्छ । अनि दसैँ आउनुअघि छुट भन्दै बिक्रीमा राखिन्छ ।

​अटोशोरुम व्यवसायीले भदौमा भृकुटीमण्डपमा मेला नै गर्छन् । मेलामा विभिन्न मोडलका गाडी राखिएका हुन्छन् । नयाँ मोडल देखाएर ग्राहक लोभ्याउन खोजिन्छ । यता, आकर्षक छुट पनि दिइएको हुन्छ । नेपाली सडकमा पाँच लाखदेखि २४ करोडसम्मका गाडी गुडेका छन् । त्यस्ता सवारी साधन अटोशोरुमले देखाउन राखेका हुन्छन् ।

​मोबाइल पनि तीन लाखसम्म पर्ने खालका छन् । ल्यापटप, फ्रिज पनि लाखौँ रुपैयाँ पर्ने खालका छन् । तर, यी सामान किन्नेबित्तिकै सेकेन्ड ह्यान्ड भइहाल्छन् । नयाँ मोडल भएर के गर्ने, यातायात कार्यालयमा दर्ता गर्नेबित्तिकै सेकेन्ड ह्यान्ड हुन्छ । एक महिनाअघि किनेको सवारी साधन एक महिनापछाडि बेच्दा आधा मूल्य घट्छ ।

​झन् विद्युतीय उपकरण त थप सस्तो हुन्छ । लाखौँमा खरिद गरेको मोबाइलको केही हजार आउँछ । यस्ता सामानमा लगानी गर्नु ‘बालुवामा पानी’ सरह हो । पछिल्लो समय नागरिकताको भरमा गाडी किन्न पाउने व्यवस्था गरिएको छ । नागरिकता र फोटो लिएर आएपछि बिनाधितो गाडी र विद्युतीय उपकरण किन्न सकिने प्रचार जताततै देखिन्छ ।

​त्यस्तो प्रचार देखिएपछि सर्वसाधारण लोभिन्छन् । नागरिकता र फोटो राखेर बिनाधितो सामान किन्छन् । बैंकले सहजै ऋण मिलाइदिन्छ । किनेको एकाध महिना त किस्ता तिरिएला । किस्ता तिर्न नसकेपछि बेच्न खोज्छन् । आधा मूल्य पनि आउँदैन । सर्वसाधारण फसे कि फसेनन् ?

​ऋण तिर्न नसकेपछि कालोसूचीमा परिन्छ । पत्रिकामा तीनपुस्तेसहित फोटो छापिन्छ । सन्तान विदेश जान पाउँदैनन् । त्यतिबेला पुर्पुरोमा हात राख्नेबाहेक कुनै विकल्प रहँदैन । व्यापारीको काम नै आफ्नो सामान व्यापार गर्ने हो । उनीहरूले यसरी वा त्यसरी सामान बेच्छन् ।

​तर, सतर्क हुनुपर्ने सर्वसाधारण होइनन् र ? उनीहरूले सोच्नुपर्ने होइन र ? त्यो मात्र होइन, त्यसरी नागरिकता राखेर सामान लिँदा भोलि नागरिकताकै दुरुपयोग हुन सक्ला । विडम्बना, नेपाली नागरिकले नागरिकताको महत्त्वसमेत बुझ्न सकेका छैनन् । सवारी साधन फलाम, प्लास्टिक, रबरलगायतका सामानबाट बनाइएको हुन्छ ।

​सवारी साधनको वर्षेनि मूल्य घट्दै जान्छ । त्यस्तो सामानमा ऋण लिई-लिई लगानी गर्नुको प्रमुख कारण देखासिकी हो । अर्काले यस्तो गाडी चढेको छ, म पनि चढ्छु, अर्काले यस्तो मोबाइल बोकेको छ, म पनि बोक्छु भन्ने मानसिकताको विकास हुँदै गएको छ । देखाउनकै लागि ऋण लिई-लिई गाडी चढ्छन्, मोबाइल बोक्छन् ।

​बुढापाकाहरूले भन्छन् नि, ऋण भनेको घिन हो । ऋणले मान्छेलाई मर्न बाध्य बनाउँछ । तैपनि, नेपालीको सोच फेरिएन । अरूलाई देखाउनका निम्ति ऋण लिन्छन् । भोलि त्यही ऋणले परिवार बर्बाद बनाउँछ । कतिपयको ज्यान लिन्छ । उठिबास लाग्छ । ऋणकै कारण ज्यान गुमाएका घटनाहरू नेपाली समाजमा थुप्रै छन् ।

​दिनहुँजसो यस्तो घटना भइरहेको हुन्छ । तर पनि, ऋण लिएर लगानी गर्ने क्रम रोकिएन । सरकारले १६ वर्षमा नागरिकता दिन्छ । १६ वर्ष भनेको आलोकाँचो उमेर हो । १६ वर्षको बच्चाले कसरी सही–गलत छुट्याउन सक्छ ? सडक छेउछाउ छ्यापछ्याप्ती नागरिकताको आधारमा सवारी र विद्युतीय उपकरण खरिद गर्न ऋण भनी स्टिकर टाँसिएको पाइन्छ ।

​नागरिकता लिनेबित्तिकै बालबालिकाहरू ऋण लिन पुग्छन् । ऋणमा सवारी साधन, विद्युतीय उपकरण खरिद गर्छन् । तिर्नका लागि आम्दानीको स्रोत हुँदैन । अनि तनावमा आएर गलत बाटोमा लाग्छन् । ६० वर्षमाथिका नागरिक ज्येष्ठ नागरिकमा पर्छन् । कानुनले तिनलाई सवारी साधन, सरकारी सेवामा विशेष सुविधा दिएको छ ।

​ज्येष्ठ नागरिकको आम्दानीको स्रोत नहुने भएकाले उनीहरूलाई ऋण दिन नपाउने व्यवस्था छ । तर, ७०–८० वर्ष पुगेकालाई पनि ऋण दिइरहेको पाइन्छ । आफ्नो व्यापारका लागि यसरी ज्येष्ठ नागरिक फसाइरहेको अवस्था छ । बैंक तथा वित्तीय संस्थाले दलाल र व्यवसायीसँगको सेटिङमा ऋण दिइरहेका छन् ।

​उनीहरूले ऋण त लिन्छन् तर तिर्न सक्दैनन् । त्यतिबेला मर्नुबाहेकको विकल्प केही रहन्छ ? विभिन्न कम्पनीले एक सय रुपैयाँ कित्तामा निष्कासन गरेको सेयर खरिद गर्न ब्रोकरहरूले २८ सयसम्म कर्जा मिलाइरहेका छन् । ब्रोकरहरूले बैंकसँग सेटिङ मिलाएर सहजै कर्जा मिलाइदिन्छन् ।

​२८ सयको साँवा पनि तिर्नुपर्यो, ब्याज पनि । जग्गाको हकमा पनि यस्तै छ । दलालहरूले सस्तोमा लिएको जग्गा खण्डीकरण गरेर महँगोमा सर्वसाधारणलाई भिडाउँछन् । दलालले नै बैंक तथा वित्तीय संस्थाबाट ऋण मिलाइदिन्छन् । ऋण तिर्न सकेन भने आफ्नो लगानी पनि जान्छ, धितो पनि ।

​यसरी दलालहरूले सर्वसाधारणलाई फसाइरहेका छन्, सर्वसाधारण फसिरहेका छन् । यसरी सर्वसाधारणको सम्पत्ति स्वाहा पार्ने गिरोह सक्रिय भएको छ । सहकारीले बचतकर्ताको पैसा बचत गर्ने नाममा उनीहरूको उठिबास लगाइदियो । सीधासाधा सर्वसाधारण उनीहरूको कुरामा आए, फसे, अहिले रुँदै हिँडेका छन् ।

​अटोशोरुम व्यवसायी, बैंक तथा वित्तीय संस्था, जग्गा दलाल, सेयर दलालमार्फत सर्वसाधारण फसिरहेका छन् । सरोकारवाला टुलुटुलु रमिता हेरेर बसेका छन् । हिजो कायम भएको सुनको मूल्य दुई लाख ८२ हजार तीन सय छ । सुन किन्न जाँदा त्यति रकम तिर्नुपर्छ, बनाउने ज्याला ४५ हजार छ ।

​तर, सर्वसाधारण सुन बेच्न जाँदा खरिद गर्दैनन् । ५० हजार रुपैयाँमा सुन बेच्नुस् वा ३६ प्रतिशत ब्याजमा लैजानुस् भन्छन् । राज्यले यस्तो लुटको धन्दा चलाउनेलाई कारबाही गर्नुपर्छ कि पर्दैन ? चाँदी त खरिद नै गर्दैनन् । समाजमा दलालहरूको बिगबिगी छ । उनीहरूले सीधासाधा जनतालाई बाँच्न नदिने भए ।

​राज्यले यस्ता ठगहरूलाई धमाधम कारबाही गर्नुपर्यो । त्यो गर्न नसक्ने हो भने जनतालाई सचेत बनाउनुपर्यो । राज्य भन्छ– देशमा साक्षरता दर बढ्यो । त्यसो भए जनता किन फसिरहेका छन् ? आफ्नो सम्पत्ति र ज्यान गुमाइरहेका छन् ? सरकारले जनतालाई पुस्तक पढायो तर व्यावहारिक ज्ञान दिन सकेन ।

​जसका कारण सर्वसाधारण फसेका हुन् । किताब पढाएर मात्र भएन, जीवनोपयोगी ज्ञान पनि दिनुपर्यो । बजारमा के भइरहेको छ ? प्रधानमन्त्रीलाई पनि थाहा छैन । सरोकारवाला निकायलाई पनि जानकारी छैन । पाँच लाखभन्दा बढी सर्वसाधारण ऋण तिर्न नसकेर कालोसूचीमा परिसके ।

​लाखौँ मिटरब्याजको चंगुलमा फसेका छन् । एक लाखको पाँच हजारदेखि ३० हजार मासिक ब्याज तिर्न नसक्दा ऋणीहरू लुकेर हिँडेका छन् । कोही जेलमा छन् । सेयरमा लगानी गर्ने ८३ लाख ६७ हजार नागरिक चुलुम्मै भएका छन् । सहकारीबाट ६३ लाख, लघुवित्तबाट २७ लाख १७ हजार, बैंकबाट २२ लाखले ऋण लिएका छन् ।

​उनीहरू फसिसकेका छन् । तर, बाँकी भएका जनतालाई त सरकारले बचाउनुपर्यो । अब पनि सरकार हात बाँधेर बस्ने हो भने नागरिक मर्नुपर्ने अवस्थामा पुग्छन् ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार