दुईपटक ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरिसकेका कीर्तिमानी धावक हरि रोकाया बेलायत आइपुगेका छन्। आगामी आइतबार (नोभेम्बर १) आयोजना हुने ‘पाँचौँ एईएसएन (AESN) नर्थोल्ट १० के दौड’ प्रतियोगितामा सहभागी हुन उनी लन्डन आइपुगेका हुन्।
गिनिज वर्ल्ड रेकर्डधारी तथा उच्च हिमाली क्षेत्रमा लामो दूरीको दौड प्रशिक्षण दिँदै आएका अनुभवी प्रशिक्षक रोकायालाई लन्डन आगमनका क्रममा क्लबका पदाधिकारी तथा खेलप्रेमीहरूले न्यानो स्वागत गरे।
रोकायालाई काठमाडौंदेखि लन्डनसम्म साथ दिएर ल्याउन क्लबका सक्रिय सदस्य खेमराज जोशीले समन्वय गरेका थिए। उनको स्वागतका लागि क्लबका पूर्वअध्यक्ष पाण्डव महतोसहित सदस्यहरू विष्णु देवान, उदेश देवान र प्रिङ्ला राई विमानस्थल पुगेका थिए। यात्रा सहजीकरणका लागि आयोजकले जोशीप्रति विशेष आभार व्यक्त गरेको छ।
मुख्य प्रतियोगिताअगावै रोकायाले बिहीबार रुइस्लिप ट्र्याकमा हुने क्लबको नियमित प्रशिक्षण सत्रको निरीक्षण तथा प्राविधिक मार्गदर्शन गर्ने तालिका छ। कीर्तिमानी धावक तथा अनुभवी प्रशिक्षकबाट प्रत्यक्ष अनुभव र ज्ञान लिने अवसर सदुपयोग गर्न आयोजकले बेलायतस्थित सम्पूर्ण नेपाली धावक तथा खेलप्रेमीहरूलाई आमन्त्रण गरेको छ।
पाँचौँ संस्करणको नर्थोल्ट १० के दौडमा रोकायाको उपस्थितिले बेलायतमा रहेका नेपाली खेल समुदाय तथा नयाँ पुस्ताका धावकहरूमा नयाँ ऊर्जा र प्रेरणा थप्ने विश्वास आयोजकले लिएको छ।
















