मंगलवार, ११ कार्तिक, २०८३

सीमान्त साहित्य सम्मेलन : जुम्लाबाट उठेको पहिचानको आवाज​

सीमान्तको साहित्य भावुकता होइन; यो भोगाइबाट जन्मिएको चेतना, यथार्थले निर्माण गरेको सौन्दर्य र परिवर्तनको आवाज हो। जहाँ सङ्घर्ष र अभाव छ, त्यहाँ पहिचानको प्रतीक्षा गरिरहेको जीवन्त साहित्य बाँचेको हुन्छ।

​भौगोलिक विकटता र अनेकौँ चुनौतीका बाबजुद जुम्लामा सम्पन्न ‘सीमान्त साहित्य सम्मेलन’ नेपाली साहित्यको वृत्तमा एउटा विशिष्ट र अर्थपूर्ण परिघटना बनेको छ। आयोजक समूह कुटिरो रिसर्च सेन्टरले समाजका कुनाकाप्चामा खुम्चिएका प्रतिभालाई प्रस्फुटन गराउने, उनीहरूका सिर्जनालाई मूलधारको मञ्चसम्म जोड्ने जुन जमर्को गर्‍यो, त्यो सर्वथा स्तुत्य छ। अवसरको पर्खाइमा ओझेल परेका स्रष्टालाई आफ्नै आँगनमा अभिव्यक्ति दिने ठाउँ उपलब्ध गराउनु आफैमा ऐतिहासिक सुरुआत हो।

​कर्णाली केवल भूगोल होइन; प्राकृतिक वैभव, ऐतिहासिक विरासत र मौलिक संस्कृतिको अखण्ड भण्डार हो। सिञ्जा खस साम्राज्यको राजधानीका रूपमा चिनिने जुम्लाले इतिहासमा भारतीय भूभागदेखि तिब्बतसम्म आफ्नो प्रभाव विस्तार गरेको गौरवमय इतिहास बोकेको छ।

विश्वकै उच्च स्थानमा फल्ने मार्सी धान, स्वादिलो स्याउ, विशिष्ट खस सभ्यता र देउडा संस्कृतिले यो भूमिलाई अलग पहिचान दिएका छन्। नेपाली भाषाको उद्गमस्थल मानिने यस भूमिमा हिमाल, वनजङ्गल, जडीबुटी र स्थानीय जनजीवनका दैनिक सङ्घर्ष साहित्यका जीवन्त स्रोत हुन्।

​विडम्बना, यति समृद्ध विरासत बोकेको भूगोलका मौलिक सीप, रैथाने ज्ञान र सिर्जनात्मक प्रतिभा अझै पनि राज्य र केन्द्रको नजरमा अपेक्षित रूपमा पर्न सकेका छैनन्। उचित बजार, संरक्षण, प्रवर्द्धन तथा संस्थागत पहलको अभावमा कयौँ मौलिक आवाजहरू गुमनाम छन्। साहित्यको मूलधार भनिने केन्द्रले पनि दूरदराजका यी पदचापलाई निकै ढिलो मात्र सुन्ने गरेको छ।

​सहरकेन्द्रित साहित्यमा प्रायः शिल्प, बिम्ब, प्रतीक, कल्पना र कलात्मक सौन्दर्यको बाहुल्य भेटिन्छ। ती पक्षको आफ्नै सौन्दर्यशास्त्र होला, तर सीमान्तका कथा, कविता र गजलमा कुनै बनावटी रङ हुँदैन; त्यहाँ जीवनका कठोर भोगाइ, अभाव, श्रम, विभेद र अस्तित्वको छटपटी हुन्छ।

कुनै श्रमिकको पसिनामा जीवन्त कथा कोरिएको हुन्छ, विभेदले थिचिएको व्यक्तिको मौनतामा सशक्त कविता लुकेको हुन्छ र पुस्तौँदेखि न्यायको खोजीमा भौँतारिएको समुदायको जीवन आफैँमा एउटा महाआख्यान बनेको हुन्छ। सीमान्तको साहित्य शब्दको विलासिता होइन, भोगाइबाट प्रस्फुटित चेतना र न्यायको पुकार हो।
​
सीमान्तभित्र पनि अझ पिँधमा पारिएका तहहरू छन्। दलित, महिला, श्रमिक, विपन्न तथा लैङ्गिक एवम् यौनिक अल्पसङ्ख्यकका आवाज अझै पनि साहित्यिक मञ्चसम्म सहजै आइपुग्दैनन्।

जातीय छुवाछुत, पितृसत्तात्मक संरचना, लैङ्गिक हिंसा, गरिबी र सामाजिक बहिष्करणले उनीहरूको सिर्जनात्मक यात्रालाई पाइलैपिच्छे अवरोध पुर्‍याएको छ। दलित समुदायले पुस्तौँदेखि झेल्दै आएको अपमान, महिलाले भोगेको विभेद र श्रमिकमाथिको शोषण केवल सामाजिक मुद्दा मात्र होइनन्, साहित्यका गहिरा विषयवस्तु पनि हुन्।

​हाम्रो समाजमा लेख्ने क्षमता भएर पनि छाप्ने माध्यम नपाएका, बोल्ने आँट भएर पनि सुन्ने मञ्च नपाएका प्रतिभाहरूको सङ्ख्या ठूलो छ। साधन र पहुँचको अभावमा सिर्जनाहरू मनभित्रै कुण्ठित बन्न पुग्छन्। अझ उराठलाग्दो त, कयौँ सम्भावनायुक्त नवप्रतिभा आफ्ना अप्रकाशित सपनाहरू छातीमा च्यापेर खाडीका मरुभूमिमा श्रम बेच्न बाध्य छन्।

अवसर नपाउँदा प्रतिभा हराउँछ, तर सही अवसर पाउँदा तिनै प्रतिभाले इतिहास बदल्न सक्छन्। स्थानीय र बाहिरबाट आएका लेखक–साहित्यकारबीच संवाद र सहकार्यको वातावरण बनाएर यो सम्मेलनले प्रतिभाको त्यही रिक्तता चिर्ने प्रयास गरेको छ।
​
जुम्लामा आयोजित सीमान्त साहित्य सम्मेलन औपचारिकतामा सीमित जमघट मात्र होइन, दबाइएका आवाजलाई मुखरित गर्ने र समाजले उपेक्षा गरेका अनुभवलाई प्रतिष्ठा दिलाउने चेतनाको यात्रा हो। स्थानीय भाषा, लोकसाहित्य र बहिष्करणमा परेका समुदायका सिर्जनालाई संरक्षण र प्रकाशनसँग जोड्ने यो क्रम निरन्तर अघि बढ्नुपर्छ।

जहाँ पीडा छ, त्यहाँ अनुभूति हुन्छ; जहाँ सङ्घर्ष छ, त्यहाँ कथा हुन्छ; र जहाँ अवसरविहीन प्रतिभा छन्, त्यहाँ न्यायको पर्खाइमा साहित्य हुन्छ। साहित्यलाई समानता, मानवीय गरिमा र सामाजिक न्यायको साझा मञ्च बनाउन सक्नु नै यस सम्मेलनको वास्तविक सार्थकता हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार