जुम्लामा जारी केपीएल क्रिकेट प्रतियोगिताको दोस्रो दिन भिक्ट्री किङ्सले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। बुधबार भएको दोस्रो खेलमा टिम जुम्लालाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै भिक्ट्री किङ्स अन्तिम चारमा पुगेको हो।
यस्तै, बुधबारै भएको दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले हिमालयन तिला वारियर्समाथि १९ रनको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको टिम जुम्लाले निर्धारित १२ ओभरमा ९ विकेट गुमाएर ९८ रनको योगफल तयार पारेको थियो। उसका लागि दुचान चौलागाईंले २५, सञ्जित रावतले १८ तथा भरत चौलागाईंले १२ रन जोडे।
बलिङतर्फ भिक्ट्री किङ्सका किरण अधिकारीले ३ विकेट लिए। अर्जुन गुप्ताले २ तथा भुवन शाही र अनुराग वर्माले १–१ विकेट हात पारे।
९९ रनको लक्ष्य पछ्याएको भिक्ट्री किङ्सले विष्फोटक ब्याटिङ गर्दै ८ ओभरमै १ विकेटको क्षतिमा १०३ रन बनाएर जित हात पार्यो। भिक्ट्रीका लागि राजकुमार शाहीले सर्वाधिक ४० रन बनाए। अनुराग वर्मा ३९ र किरण अधिकारी ११ रनमा अविजित रहे। टिम जुम्लाका भरत चौलागाईंले १ विकेट लिए।
अलराउन्ड प्रदर्शन गर्दै ३ विकेट र अविजित ११ रन बनाएका किरण अधिकारी ‘प्लेयर अफ द म्याच’ घोषित भए।
त्यसअघि ५ ओभरमा छोट्याइएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ३ विकेट गुमाएर ४५ रन बनाएको थियो।
पुलिसका लागि दीपेन्द्र नाथले १८ र सुनिल केसीले १७ रनको योगदान दिए। तिला वारियर्सका दिलेन्द्र बस्नेतले २ तथा गौरव बुढाले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको हिमालयन तिला वारियर्स ५ ओभरमा ६ विकेट गुमाएर २६ रनमै समेटियो। उसका लागि गौरव बुढाले सर्वाधिक १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा पुलिसका दिलबहादुर थापाले घातक प्रदर्शन गर्दै ३ विकेट लिए भने सुनिल केसीले १ विकेट हात पारे। किफायती बलिङ गरेका दिलबहादुर खेलको ‘प्लेयर अफ द म्याच’ चुनिए।
















