नेपाली कांग्रेसकी नेत्री तथा पूर्वसांसद कान्तिका सेजुवालले पार्टीको आगामी १५औँ महाधिवेशनमा खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।
वि.सं. २०४२ सालदेखि नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा प्रारम्भ गरेकी सेजुवालले पार्टीको महासमिति सदस्य, केन्द्रीय सदस्य तथा संघीय प्रतिनिधि सभा सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेकी छन्।
स्थानीय तहको निर्वाचनमा नेपालकै पहिलो निर्वाचित महिला नगरप्रमुख (मेयर) बनेर इतिहास रचेकी उनी पार्टी पंक्तिमा कुशल र जुझारू महिला नेतृत्वका रूपमा परिचित छिन्।
यसअघि २०८३ सालको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा अनुमोदित भएकी सेजुवालले १५औँ महाधिवेशनमा खुला महिला कोटाबाट पुनः केन्द्रीय समितिमा प्रतिस्पर्धा गर्न लागेकी हुन्।
‘नामजस्तै काम, कान्तिका: क्रान्तिको प्रतीक’ तथा ‘जनताको आवाज, नेपाली कांग्रेस’ भन्ने मूल नाराका साथ चुनावी प्रचारमा होमिएकी उनले पार्टीलाई थप सुदृढ बनाउन र जनताका सवालहरूलाई सशक्त रूपमा उठाउन आफ्नो उम्मेदवारी रहेको जनाएकी छन्।
उनले पार्टीका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई अत्यधिक मत दिएर विजयी गराउन अपिलसमेत गरेकी छन्।















