मंगलवार, २० आश्विन, २०८३

अन्तर्राष्ट्रिय धावक हरिबहादुर रोकायालाई साढे दुई लाख नगदसहित सम्मान

​नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली ‘कर्णाली याक्स’ ले कीर्तिमानी धावक हरिबहादुर रोकायालाई नगद २ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ। खेलकुदको माध्यमबाट कर्णाली र समग्र राष्ट्रको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएको भन्दै टोलीले उनलाई सम्मान गरेको हो।

​काठमाडौंमा आयोजित एक कार्यक्रममा कर्णाली याक्सका प्रमुख गेहेन्द्र घिमिरेले रोकायाको खेल जीवन र योगदानको प्रशंसा गर्दै सम्मान हस्तान्तरण गरे। ‘खेलमार्फत कर्णालीसँगै समग्र देशको शिर उँचो बनाउन धावक रोकायाले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरेका हौं,’ घिमिरेले भने, ‘उहाँको संघर्ष र सफलताबाट पाठ सिक्दै नयाँ पुस्ताका खेलाडीहरू खेल क्षेत्रमा अघि बढ्न जरुरी छ।’

​कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले धावक रोकायाले कर्णाली र देशलाई विश्वसामु चिनाउन खेलेको भूमिका अतुलनीय रहेको बताए। धावक रोकाया अध्ययन गरेकै विद्यालयमा आफूले पनि पढ्न पाएको स्मरण गर्दै मुख्यमन्त्री शाहीले रोकायाको व्यक्तित्वबाट आफू सदैव प्रेरित रहेको र गर्व महसुस हुने गरेको उल्लेख गरे।

​सम्मान ग्रहण गरेपछि धावक रोकायाले जुम्लाको तालकोटमा सुविधासम्पन्न ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ सञ्चालन गर्ने आफ्नो मुख्य सपना रहेको बताए। ‘हाल आफ्नै निजी जमिनमा जेनतेन सेन्टर चलाइरहेको छु, तर त्यो पर्याप्त छैन,’ रोकायाले भने, ‘हिमालको काखमा रहेको तालकोटमा व्यवस्थित ट्रेनिङ सेन्टर स्थापना गर्ने सपना छ। त्यसलाई साकार पार्न सबै क्षेत्रबाट आवश्यक सहयोगको अपेक्षा गरेको छु।’

​लामो दूरीका धावक रोकायाले यसअघि एभरेस्ट म्याराथनलगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा कीर्तिमानी सफलता हासिल गरिसकेका छन्। पछिल्लो समय उनी कर्णालीमै बसेर नयाँ पुस्ताका धावकहरू उत्पादन र प्रशिक्षणमा सक्रिय छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार