नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनको अवसर पारेर जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले आफ्नो राजनीतिक अनुभव समेटिएको पुस्तक ‘आधा अध्याय’ प्रकाशन गर्ने घोषणा गरेका छन्।
चार वर्षअघि लेखन सुरु गरिएको पुस्तकको सम्पादन र सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको जानकारी अध्यक्ष शाहीले दिएका हुन्। कांग्रेस महाधिवेशन सम्पन्न भएलगत्तै पुस्तक औपचारिक रूपमा सार्वजनिक गरिने उनले बताएका छन्।
“मेरो राजनीतिक जीवनको आधा अध्याय यहाँहरूमाझ नासोको रूपमा ल्याउँदैछु,” सामाजिक सञ्जालमा पुस्तकको आवरण सार्वजनिक गर्दै शाहीले भनेका छन्, “पुस्तक सार्वजनिक गर्ने मिति र स्थान केही दिनभित्र सार्वजनिक गरिनेछ।”
गाउँपालिका राष्ट्रिय महासंघ नेपालको नेतृत्व सम्हाल्दै आएका हिमाका अध्यक्ष शाहीको राजनीतिक संघर्ष र भोगाइका आयामहरू समेटिएको यो पुस्तक सार्वजनिक गर्ने मिति चाँडै सार्वजनिक हुनेछ।
















