मंगलवार, ६ आश्विन, २०८३

जुम्लामा पहिलोपटक हाई अल्टिच्युड टी–२० क्रिकेट, कर्णाली प्रिमियर लिग हुने

जुम्लामा पहिलोपटक हाई अल्टिच्युड ओपन टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। ‘कर्णाली प्रिमियर लिग (केपीएल)’ नाम दिइएको प्रतियोगिता युथ फर कर्णाली क्लबको आयोजनामा हुन लागेको हो।

आयोजकका अनुसार समुद्री सतहदेखि करिब २ हजार ८ सय मिटर उचाइमा रहेको हाकुँ क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन गरिनेछ।

जुम्ला तथा समग्र कर्णालीमा क्रिकेट खेलको विकास, स्थानीय प्रतिभाको पहिचान तथा प्रवर्द्धन र देशभरका खेलाडी तथा टोलीलाई उच्च उचाइको मैदानमा प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्था युथ फर कर्णालीका अध्यक्ष मनोज भारतीले बताए।

उनका अनुसार जुम्लामा पहिलोपटक हाई अल्टिच्युड ओपन टी–२० प्रतियोगिता आयोजना गर्न लागिएकाले यसलाई खेलकुदसँगै जुम्लाको पहिचान र पर्यटन प्रवर्द्धनसँग पनि जोडिएको छ। प्रतियोगितामा विभिन्न क्षेत्रबाट क्रिकेट टोली तथा खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। विजेता र उपविजेता टोलीका खेलाडीलाई पदक प्रदान गरिनेछ भने उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि थप पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।

जुम्ला बहुमुखी क्याम्पसका पूर्वस्ववियु अध्यक्ष तथा क्रिकेट खेलाडी महेश हमालले जुम्लामा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको अवधारणा अघि बढ्नु स्थानीय खेलाडीका लागि महत्वपूर्ण अवसर भएको बताए।

‘जुम्लाजस्तो उच्च भूभागमा क्रिकेट प्रतियोगिता आयोजना हुनु आफैंमा विशेष कुरा हो। यहाँका खेलाडीले आफ्नै मैदानमा बाहिरका अनुभवी खेलाडी र टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्। यस्ता प्रतियोगितालाई निरन्तरता दिन सके जुम्लामा क्रिकेटको आधार बलियो बन्नुका साथै स्थानीय प्रतिभाले आफ्नो क्षमता देखाउने अवसर पाउनेछन्,’हमालले भने।

उनले प्रतियोगिता एकपटक आयोजना गरेर मात्र सीमित नराखी नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए। स्थानीय तह, खेलकुदसँग सम्बन्धित निकाय, निजी क्षेत्र र सरोकारवाला सबैको सहकार्य भए जुम्लामा क्रिकेटको थप विकास गर्न सकिने उनको भनाइ छ।

आयोजकका अनुसार प्रतियोगिताका खेलहरू नेपाल लाइभ (Nepal Live) मार्फत प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरिएको छ। आयोजकले प्रतियोगितालाई जुम्लाको खेल पर्यटन र क्रिकेट विकासको नयाँ आधारका रूपमा अघि बढाउने जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार