पाठेघर मुखको क्यान्सरविरुद्ध जुम्लामा सञ्चालन हुने एचपिभी खोप अभियानले कक्षा ६ का र विद्यालयबाहिरका गरी १ हजार २ सय ९२ किशोरीलाई खोप लगाउने भएको छ। जनस्वास्थ्य कार्यालय जुम्लाका अनुसार असोज ५ र ६ गते जिल्लाका एक नगरपालिका र ७ गाउँपालिकामा अभियान चल्नेछ।
अभियानअन्तर्गत कक्षा ६ अध्ययनरत १ हजार २५७ छात्रा र विद्यालय नगएका १० वर्षे उमेर समूहका ३५ छात्रा गरी १ हजार २९२ जनालाई खोप लगाइनेछ। कार्यालय प्रमुख किरण शर्माका अनुसार खोप अभियानका लागि जिल्लाभर ८४ खोप केन्द्र तयार पारिएका छन्।
चन्दननाथ नगरपालिकामा सबैभन्दा धेरै १७ खोप केन्द्र छन्। पातारासीमा १२, तिलामा ९, गुठीचौरमा ६ तथा तातोपानी, कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा ८/८ खोप केन्द्र निर्धारण गरिएको छ।
जनस्वास्थ्य कार्यालयका अनुसार चन्दननाथमा २४९, तातोपानीमा १८९, गुठीचौरमा ११५, पातारासीमा १९६, तिलामा १९६, हिमामा १२०, सिंजामा ११८ र कनकासुन्दरीमा १२३ छात्रा रहेका छन्।
शतप्रतिशत साक्षरता घोषणा गरिएको जिल्लामा १० वर्षे उमेर समूहका ३५ छात्रा विद्यालयबाहिर रहेको तथ्यांकले चासो बढाएको छ। तीमध्ये कनकासुन्दरी गाउँपालिकामा १७, पातारासीमा १० र सिंजा गाउँपालिकामा ८ छात्रा छन्।
अभियानका लागि एचपिभी खोप भायल १ हजार २९२, एडी सिरिन्ज १ हजार ४१९, सेफ्टी बक्स ७६, खोप रजिस्टर ७६ र खोप कार्ड १ हजार ४१९ तयार पारिएको कार्यालयले जनाएको छ।
यो अभियानले जुम्लाका किशोरीलाई पाठेघर मुखको क्यान्सरबाट बचाउन दीर्घकालीन लाभ पुग्ने अपेक्षा गरिएको छ।
















