भानु फर्केर आउने आशा समाप्त भयो। केही दिनअघिसम्म ‘सकुशल छन्’ भन्ने खबरको प्रतीक्षा गरिरहेका हामीले अब उनको अन्तिम बिदाइमा सहभागी हुनुपर्ने भयो। मनले स्वीकार्न नसकेको यथार्थलाई आँखाले देख्नुपर्ने दिन आयो।
प्रकृति सुन्दर छ, रमणीय छ। तर, कहिलेकाहीँ यति कठोर भएर प्रस्तुत हुन्छ कि त्यसले निम्त्याएको पीडा शब्दमा व्यक्त गर्नसमेत कठिन हुन्छ। आफ्नै पुर्ख्यौली माटोमा जन्मिएर, आफ्नै जन्मभूमिमा हाँस्दै, खेल्दै र रमाउँदै जीवनका अनेक संघर्षसँग जुधिरहेका जुम्ला चन्दननाथ नगरपालिका–१०, बोहोरा गाउँका भानु प्रकाश देवकोटालाई प्रकृतिले यसरी खोसेर लैजाला भन्ने हामी कसैले कल्पनासमेत गरेका थिएनौँ।
भानु मेरा आफ्नै भतिजा हुन्। पुस्ताको केही अन्तर भए पनि हाम्रो आत्मीयता सानैदेखि थियो। हामी तिलानदीको वारिपारि बस्थ्यौँ। खलंगा बजारमा प्रायः भेट हुन्थ्यो। गाउँघरका खुसी, भोजभतेर र दुःखसुखमा हाम्रो भेटघाट भइरहन्थ्यो। पछिल्लो समय उनी खलंगादेखि केही पर विजयनगरमा बस्न थालेका थिए।
म निजामती कर्मचारीका रूपमा जिल्ला बाहिर बस्नुपर्ने भएकाले पछिल्ला वर्षमा उनीसँग नियमित भेटघाट हुन पाउँदैनथ्यो। तर, भेट हुँदा उनको आत्मीयता र शिष्ट व्यवहारमा कहिल्यै कमी आएन। भेट्नेबित्तिकै ‘ढोग छ, काका’ भन्दै नम्रतापूर्वक अभिवादन गर्थे। त्यसपछि आराम–खबर सोध्ने, भलाकुसारी गर्ने र परिवारका कुरा बुझ्ने उनको बानी थियो।
नयाँनयाँ, महँगा लुगा, जुत्ता, चप्पल र चस्मा लगाउन उनी निकै सौखिन थिए। अग्लो कद, खाइलाग्दो शरीर, चम्किलो अनुहार र सधैँ मुस्कुराइरहने स्वभावले उनलाई सहजै चिनाउँथ्यो। उनी सबैसँग मिलेर बस्न सक्ने सरल र आत्मीय व्यक्ति थिए। घरपरिवारका मात्र होइन, आफन्त, साथीभाइ र इष्टमित्रका पनि उत्तिकै प्रिय थिए।
दुर्गम जुम्लामै बसेर अध्ययन गरेका भानु जागिरभन्दा व्यावसायिक काममा बढी रुचि राख्थे। केही समय एनसेल कम्पनीमा पनि काम गरे। पछिल्लो समय पर्यटन व्यवसायलाई उनले आफ्नो प्रमुख कर्म बनाएका थिए। व्यवसाय, परिवार र आफ्नो भविष्यलाई लिएर उनका अनेक सपना र योजना थिए। उनी परिवार र आफन्तका आशाका केन्द्र थिए।
उनका साथी दिपेन्द्र विष्ट उनलाई सम्झिँदै भन्छन्, ‘भानु मज्जाका थिए।’ यो छोटो वाक्यमा उनको स्वभावको धेरै कुरा अटाएको छ। साथीभाइका खुसीमा बधाई र शुभकामना दिन उनी कहिल्यै पछि पर्दैनथे। सामाजिक सञ्जालमा अरूको सफलतामा खुसी व्यक्त गर्ने उनको बानी थियो।
यसै वर्ष साउन ३१ गते लोक सेवा आयोगले नेपाल राष्ट्र बैंकका लागि अधिकृत तृतीय पदको नतिजा प्रकाशित गरेको थियो। त्यसमा मेरा दाजु शारदाप्रसादका छोरा ध्रुवप्रसाद देवकोटा नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदमा छनोट भएका थिए। त्यस अवसरमा भानुले फेसबुकमा लेखेको बधाई सन्देश अहिले पनि सम्झिरहेको छु, ‘A Proud Moment for Our Family!’ उनले ध्रुवको मेहनत र लगनशीलताको प्रशंसा गर्दै आगामी अन्तर्वार्ताका लागि शुभकामना दिएका थिए।
अरूको सफलतामा यसरी खुसी हुने भानु आज आफै हाम्रो बीचमा छैनन्। उनको फेसबुकका ती सन्देश अहिले सम्झनाका पानाजस्तै बनेका छन्।
भानु प्रकृतिप्रेमी थिए। धार्मिक आस्था पनि उत्तिकै थियो। कहिले मानसरोवर, कहिले गोसाइँकुण्ड, कहिले जुम्लाको गुठीचौर त कहिले मुस्ताङका रमणीय ठाउँमा पुगेका तस्बिर उनले सामाजिक सञ्जालमा राखिरहन्थे। तिब्बतको ल्हासा र मानसरोवर पुगेका उनका तस्बिर तथा भिडियोले हामीलाई पनि ती ठाउँको दृश्यसँग परिचित गराउँथे। उनी आफै घुम्थे, तस्बिर खिच्थे र हामीलाई पनि ती ठाउँमा पुगेको अनुभूति गराउँथे।
जुम्लामा हुँदा चन्दननाथ मन्दिर पुगेका तस्बिर पनि उनका फेसबुकमा देखिन्थे। उनका लागि घुमफिर रमाइलो गर्ने माध्यम मात्र थिएन; नयाँ ठाउँ चिन्ने, प्रकृतिसँग रमाउने र आफ्ना अनुभव अरूसँग बाँड्ने अवसर पनि थियो।
उनका फेसबुकका तस्बिर हेर्दा साथीभाइसँगका अनेक क्षण सम्झनामा आउँछन्। गणेश रोकाया र महेश नेपालीसहितको टोलीसँग गुठीचौरमा रमाएका तस्बिर हुन् वा माधव चौलागाईं ‘फान्चौरी’सँगको समूहमा रारा पुगेका तस्बिर, ती सबैमा उनको हँसिलो अनुहार देखिन्छ। अब ती तस्बिरमा उनी देखिए पनि वास्तविक जीवनमा उनको उपस्थिति सधैका लागि खट्किरहनेछ।
भानुलाई जीवनका अनेक विषयमध्ये नेपालको दरबार हत्याकाण्डले निकै दुःखी बनाउँथ्यो। यस वर्ष जेठ १९ गते पनि उनले स्वर्गीय राजा वीरेन्द्रको परिवारप्रति फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गरेका थिए। उनका सामाजिक सञ्जालका गतिविधि हेर्दा उनी आफ्ना रुचि, आस्था र अनुभूति खुलेर बाँड्ने व्यक्ति थिए भन्ने बुझिन्छ।
तर, यही सामाजिक सञ्जालमा केही दिनपछि उनको खोजीका लागि गरिएको अपिल देख्नुपर्यो।
२०८३ भदौ १० गते बिहान करिब ८ः३० बजे रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले अनेक परिवारलाई शोकमा डुबायो। त्यस बाढीमा परेर भानु प्रकाश देवकोटासहित केही व्यक्ति सम्पर्कविहीन भए।
भदौ १० गते म न्याय सेवा तालिम केन्द्रमा बिहान ९ बजेदेखि सेवाकालीन तालिममा सहभागी थिएँ। दिउँसो १२ः१५ बजेतिर तालिम सकेर फेसबुक हेर्दा त्रिशूली बजारमा बाढी पसेको भिडियो र समाचार देखेँ। अनलाइन खबर र युट्युबमा बाढीले बजार बगाएको दृश्य आइरहेका थिए। देखिएका दृश्य यति भयावह थिए कि विश्वास गर्नै कठिन भयो।
त्यतिबेला बाढीमा कोको परे, कहाँका मानिस परे भन्ने स्पष्ट जानकारी थिएन। बजारका घर, होटल, पसल, टहरा र अन्य संरचना बगाएको दृश्यले मन आत्तिएको थियो। तर, आफ्नै भतिज भानु पनि त्यस घटनामा परेका होलान् भन्ने कल्पना गरेको थिइनँ।
भोलिपल्ट आफन्त र साथीभाइबाट भानु पनि बेपत्ता भएको खबर आयो। त्यसपछि मनमा अनेक आशंका उब्जिए। शरीर गल्याकगुलुक भयो। के गर्ने, कहाँ जाने, कसलाई सोध्ने, केही सोच्न सकिनँ। घटनामा जोसुकै परे पनि पीडा असह्य थियो। आफ्नै आफन्त बेपत्ता भएको खबरले त्यस पीडालाई झन् गहिरो बनायो।
भदौ १० गतेको त्यो बिहान कस्तो थियो होला? घाम लागेको थियो कि आकाशमा बादल थियो? मानिसहरू आआफ्नो काममा निस्किएका थिए होलान्। कसैले यात्राको तयारी गरिरहेको थियो होला, कसैले व्यापार–व्यवसाय सम्हालिरहेको थियो होला। कसैलाई पनि आफू हिँडिरहेको बाटो केही क्षणमै मृत्यु र विनाशको बाटो बन्न सक्छ भन्ने लागेको थिएन होला।
बाढीले त्रिशूली बजार, टिमुरे र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्यायो। घर, होटल, पसल, सरकारी तथा निजी संरचना बगायो। पशुचौपाया र सम्पत्ति बगायो। कतिपय मानिस घरभित्रै हुँदा घरसँगै बगे। कतिपय काममा व्यस्त थिए। कतिपय यात्रामा थिए। गोसाइँकुण्ड र मानसरोवर जाने तीर्थयात्री तथा पर्यटक पनि यही बाटो भएर यात्रा गर्थे।
भानु पनि त्यही यात्राका क्रममा थिए। उनी मानसरोवर जाने क्रममा थिए भन्नेहरू छन्। कतिपयले रसुवागढी क्षेत्रमा सद्गुरुको ईशा फाउन्डेसनसँग सम्बन्धित घुमफिर कार्यक्रम सकेर फर्कँदै गर्दा बाढीमा परेको बताएका छन्। उनी कुन प्रयोजनले त्यहाँ पुगेका थिए भन्नेबारे विभिन्न कुरा सुनिए। तर, भदौ १० गते बिहान भोटेकोशीमा आएको बाढीपछि उनी सम्पर्कमा आएनन् भन्ने कुरा भने हामी सबैका लागि पीडादायी यथार्थ बन्यो।
भानु त्यति अपरिपक्व व्यक्ति थिएनन्। कुनै उपाय अपनाएर सुरक्षित स्थानमा पुगेका होलान्, कतै सम्पर्कविहीन भएका होलान् भन्ने आशा हामीले लामो समयसम्म गरिरह्यौँ। कुनै न कुनै दिन फोन आउला, ‘काका, म सकुशल छु’ भन्लान् भन्ने प्रतीक्षामा थियौँ।
भदौ १० गतेपछि उनका आफन्त डा. कल बहादुर रोकाया र साथीभाइले सामाजिक सञ्जालमार्फत खोजीका लागि अपिल गर्न थाले। भदौ ११ गते जुम्ला खलंगाका नजिकका आफन्त गणेश रोकायाले पनि भानु सम्पर्कविहीन भएको जानकारी सार्वजनिक गर्दै कसैले देखेको वा भेटेको भए सम्पर्क गराइदिन अनुरोध गरे।
त्यसपछि भदौ १४ गते डा. कलबहादुर रोकायालाई ट्याग गरिएको अर्को अपिल सार्वजनिक भयो। त्यसमा भानु प्रकाश देवकोटासहित टेकबहादुर अधिकारी, सुगम सिलवाल र दिल्लीबहादुर पन्थ भदौ १० गते बिहान करिब ८ः३० बजे रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीमा परी टिमुरे क्षेत्रबाट सम्पर्कविहीन भएको उल्लेख थियो। कसैले उनीहरूलाई देखेको, भेटेको वा अवस्थाबारे कुनै जानकारी पाएको भए सम्बन्धित निकाय वा फोन नम्बरमा जानकारी गराइदिन अनुरोध गरिएको थियो।
ती अपिल पढ्दा मन झन् आत्तिन्थ्यो। फोनको घण्टी बज्दा पनि कतै भानुकै खबर आएको त होइन भन्ने लाग्थ्यो। हरेक दिन कुनै सकारात्मक समाचारको प्रतीक्षा हुन्थ्यो। तर, दिन बित्दै जाँदा आशा र निराशाबीचको संघर्ष झन् कठिन हुँदै गयो।
अन्ततः भदौ १४ पछिका दिनमा मनलाई सम्हाल्दै कुनै चमत्कारको आशा गरिरहेका हामीले असोज १ गते अर्को असह्य खबर सुन्नुपर्यो। डा. कलबहादुर रोकायाले भानु प्रकाश देवकोटाको भोटेकोशी बाढीमा परी असामयिक निधन भएको जानकारी दिँदै अन्तिम संस्कारमा सहभागी हुन अनुरोध गर्नुभएको थियो। असोज १ गते बिहान ९ बजे विजयनगरस्थित निजी निवासबाट दानसाँगु घाटतर्फ अन्तिम संस्कारका लागि जाने कार्यक्रम रहेको जानकारी सार्वजनिक भयो।
त्यो खबरसँगै भानु फर्केर आउने आशा समाप्त भयो। केही दिनअघिसम्म ‘सकुशल छन्’ भन्ने खबरको प्रतीक्षा गरिरहेका हामीले अब उनको अन्तिम बिदाइमा सहभागी हुनुपर्ने भयो। मनले स्वीकार्न नसकेको यथार्थलाई आँखाले देख्नुपर्ने दिन आयो।
भानु बेपत्ता भएको खबर सार्वजनिक हुँदा म उनलाई सम्झेर व्याकुल थिएँ। तर, उनको निधनको खबरपछि मन सम्हाल्न झन् कठिन भयो। परिवारका सदस्य, आफन्त र साथीभाइले कस्तो पीडा भोगिरहेका होलान् भन्ने कल्पना गर्दा मन भक्कानिन्छ। विशेषगरी उनको परिवार र सन्तान आयुषका लागि यो वियोग कति असह्य होला!
भानुका साथी बसन्त आचार्यले फेसबुकमा लेखेका थिए, ‘हामी २०५० का व्याजी, फोनमा कुरा गर्दा हेलो जाङ्वा भन्थ्यौँ, अब तिम्रो उपस्थितिको अभाव हुनेछ।’ साथीको यो भनाइले पनि भानुको अभाव कति गहिरो हुनेछ भन्ने देखाउँछ। एउटै पुस्ताका साथीहरूका लागि उनी केवल साथी थिएनन्; साझा बाल्यकाल, विद्यालय जीवन र सम्झनाका अभिन्न हिस्सा थिए।
घरबाहिरका हामीलाई उनका तस्बिर हेर्दा उनी कतै नजिकै छन् जस्तो लाग्छ। फेसबुकमा उनका पुराना तस्बिर र भिडियो देख्दा उनी अझै घुमिरहेका छन्, नयाँ ठाउँ पुगिरहेका छन् र कुनै नयाँ अनुभव सुनाउन तयार छन् जस्तो अनुभूति हुन्छ। तर, अब ती तस्बिरमा देखिने मुस्कान सम्झनामा मात्र सीमित भएको छ।
अब ल्हासा, मानसरोवर, गोसाइँकुण्ड, रारा वा गुठीचौरका दृश्य देख्दा भानुको सम्झना आउनेछ। उनले खिचेका तस्बिर र भिडियोले हामीलाई नयाँ ठाउँ चिनाएका थिए। अब त्यस्ता अनुभव कसले सुनाउला? साथीभाइसँगका ती रमाइला क्षण कसले फेरि दोहोर्याउला? यस्ता प्रश्नको उत्तर छैन।
मलाई सबैभन्दा बढी खट्किने कुरा हाम्रो अन्तिम भेट र अन्तिम संवाद हो। गत साउनमा म बर्दियास्थित जिल्ला सरकारी वकिल कार्यालय, गुलरियामा कार्यरत थिएँ। त्यही बेला नेपालगन्जबाट मेरा साथी दिपेन्द्र विष्ट कार्यालयमा आएका थिए। हामी कुराकानी गरिरहेका थियौँ। प्रसङ्गवश भानुको कुरा निस्कियो र हामी दुवैले उनलाई मोबाइलमा फोन गर्यौँ।
फोनमा भानुले मलाई ढोग दिए। सामान्य भलाकुसारी भयो। त्यो दिनको कुराकानी सामान्य थियो। कुनै विशेष बिदाइ थिएन, कुनै असामान्य संकेत थिएन। हामीलाई के थाहा, त्यही मोबाइल संवाद हाम्रो अन्तिम कुराकानी बन्नेछ!
आज त्यो क्षण सम्झिँदा मन भारी हुन्छ। फोनमा सुनिएको उनको आवाज कानमा गुन्जिरहन्छ। ‘ढोग छ, काका’ भन्ने उनको आत्मीय सम्बोधन सम्झनामा ताजै छ। फेरि एकपटक फोन गरेर उनको आवाज सुन्न पाए हुन्थ्यो भन्ने लाग्छ। तर, अब त्यो सम्भव छैन।
मृत्यु जीवनको शाश्वत सत्य हो। जन्मेपछि एक दिन यो संसार छाड्नैपर्छ। तर, जीवनको उत्तरार्धमा मृत्यु स्वीकार्नु र लाउँलाउँ, खाउँखाउँको उमेरमा परिवार, आफन्त र साथीभाइलाई छाडेर जानु फरक कुरा हुन्। भानुको निधनले यही कठोर सत्यलाई फेरि अनुभूत गराएको छ।
जीवन र मृत्युबारे अनेक दार्शनिक तथा आध्यात्मिक भनाइ छन्। ती भनाइले मृत्युको सत्य बुझ्न मद्दत गर्लान्, तर आफन्त गुमाउँदाको पीडा मेटाउन सक्दैनन्। शोकमा परेका परिवारलाई धैर्य धारण गर्न आग्रह गर्न सकिएला, तर उनीहरूले भोगिरहेको अभाव र रिक्ततालाई शब्दले पूर्ति गर्न सकिँदैन।
भदौ १० गतेको भोटेकोशी बाढीले धेरै परिवारका सपना र भविष्य बगाएको छ। कसैले अभिभावक गुमाएका छन्, कसैले सन्तान, कसैले जीवनसाथी त कसैले आत्मीय साथी। बाढीले बगाएका घर र संरचना पुनर्निर्माण गर्न सकिएला, भौतिक सम्पत्ति फेरि जोड्न सकिएला। तर, गुमेका प्रियजनको स्थान कसैले लिन सक्दैन।
भानु प्रकाश देवकोटा पनि अब हाम्रो बीचमा छैनन्। तर, उनले बाँडेका खुसी, आत्मीय व्यवहार, साथीभाइसँग बिताएका क्षण, व्यवसायप्रतिको लगाव र नयाँ ठाउँ चिनाउने उनका तस्बिर तथा भिडियोहरू हामीसँग रहनेछन्। उनको जीवनका अधुरा सपना सम्झनामा रहिरहनेछन्।
उनी एक असल, सक्षम र होनहार जुम्ली पुत्र थिए। परिवारका लागि भरोसा, आफन्तका लागि आत्मीय सदस्य र साथीभाइका लागि प्रिय मित्र थिए। उनको असामयिक निधनले परिवार मात्र होइन, जुम्लाको सामाजिक तथा व्यावसायिक क्षेत्रमा पनि अपूरणीय क्षति पुगेको छ।
भोटेकोशीको त्यो बाढीले भानुलाई हामीबाट टाढा लग्यो। तर, उनको सम्झना हाम्रो मनबाट कहिल्यै बगाएर लैजान सक्नेछैन।
प्रिय भतिज भानु प्रकाश देवकोटा, तिमीप्रति भावपूर्ण श्रद्धाञ्जली। तिम्रो आत्माले चिरशान्ति पाओस्। शोकसन्तप्त परिवार, छोरा आयुष, आफन्तजन, साथीभाइ र इष्टमित्रमा यो असह्य वियोग सहन सक्ने शक्ति मिलोस्। मोबाइलमा भएको त्यही कुराकानी अब मेरो जीवनको अन्तिम संवादको सम्झना बनेर रहनेछ।
















