रसुवा–भोटेकोशी विपत्तिमा बेपत्ता भएका जुम्लाका व्यक्तिका परिवारमा अनिश्चितता, चिन्ता र शोकको असर कम गर्न राज्य र समुदायको निरन्तर साथ आवश्यक छ।
प्राकृतिक विपत्ति मानिसको जीवनमा अचानक आइपर्ने गम्भीर संकट हो। बाढी, पहिरो, डुबानजस्ता विपत्तिले मानिसको ज्यान, घरपरिवार, जीविकोपार्जन र सामाजिक सम्बन्धमा प्रत्यक्ष असर पार्छन्। रसुवा–भोटेकोशी क्षेत्रमा भएको विपत्तिका क्रममा रोजगारी तथा अन्य कामका सिलसिलामा जुम्लाबाट त्यहाँ पुगेका केही व्यक्ति बेपत्ता भएको अवस्थाले उनीहरूका परिवारलाई थप पीडा र अनिश्चिततामा धकेलेको छ।
परिवारको सदस्य बेपत्ता हुनु भौतिक वा आर्थिक क्षति मात्रै होइन। यो परिवारका लागि गहिरो मनोसामाजिक संकट पनि हो। आफ्नो प्रियजन कहाँ छन्, सुरक्षित छन् कि छैनन्, कहिले भेटिएलान् भन्ने अनुत्तरित प्रश्नले परिवारका सदस्यलाई निरन्तर मानसिक दबाबमा राख्छ। मृत्युको पुष्टि नहुँदा शोकलाई स्वीकार गर्न कठिन हुन्छ भने जीवित भेटिने आशाले पर्खाइलाई निरन्तरता दिन्छ। मनोसामाजिक क्षेत्रमा यस्तो अवस्थालाई ‘अनिश्चित क्षति’ (एम्बिग्युअस लस) भनिन्छ।
यस्तो अवस्थामा परिवारले एकैपटक डर, चिन्ता, आशा, निराशा, दुःख र अन्योल अनुभव गर्न सक्छ। त्यसैले बेपत्ता व्यक्तिको खोजी र उद्धारसँगै परिवारको मनोसामाजिक अवस्था बुझ्ने, उनीहरूलाई भावनात्मक साथ दिने र आवश्यक सेवासँग जोड्ने व्यवस्था अपरिहार्य हुन्छ।
अनिश्चितताले थपेको मानसिक पीडा
बेपत्ता व्यक्तिका परिवारमा देखिने प्रमुख समस्या अत्यधिक डर र चिन्ता हो। ‘उहाँ कहाँ हुनुहुन्छ?’, ‘सुरक्षित हुनुहुन्छ कि हुनुहुन्न?’, ‘कहिले भेट होला?’ जस्ता प्रश्न मनमा बारम्बार आइरहन्छन्। मोबाइल फोनको घण्टी, समाचार र खोजीसम्बन्धी सूचनाको प्रतीक्षाले उनीहरूको बेचैनी थप बढाउन सक्छ।
कतिपयमा लगातार रुन मन लाग्ने, मन भारी हुने, एक्लोपन महसुस हुने र बेपत्ता व्यक्तिको सम्झना बारम्बार आइरहनेजस्ता लक्षण देखिन सक्छन्। मृत्यु पुष्टि नभएकाले परम्परागत शोक प्रक्रिया अघि बढाउनसमेत कठिन हुन्छ। यस्तो अनिश्चितताले सामान्य शोकभन्दा फरक र जटिल भावनात्मक अवस्था सिर्जना गर्न सक्छ।
तनावका कारण निद्रा नलाग्ने, पटक–पटक ब्युँझिने, डरलाग्दा सपना देख्ने, भोक कम लाग्ने वा खाना खान मन नलाग्ने समस्या पनि हुन सक्छन्। ‘मैले उहाँलाई त्यहाँ जान नदिएको भए हुन्थ्यो’, ‘मैले समयमै फोन गरेको भए हुन्थ्यो’ जस्ता आत्मदोषका विचारले मानसिक पीडा झन् बढाउन सक्छन्।
खोजी तथा उद्धारको अवस्थाबारे पर्याप्त सूचना नपाउँदा वा प्रक्रिया ढिलो भएको अनुभूति हुँदा परिवारमा रिस, निराशा र असन्तुष्टि बढ्न सक्छ। यसले परिवारका सदस्यबीच तनाव र एकअर्कालाई दोष दिने अवस्था पनि निम्त्याउन सक्छ। कतिपय व्यक्ति अरूसँग भेटघाट गर्न नचाहने, घरमै एक्लै बस्ने वा सामाजिक सम्पर्कबाट टाढिने अवस्थामा पुग्न सक्छन्।
यस्ता प्रतिक्रियाहरू असाधारण परिस्थितिमा देखिन सक्ने स्वाभाविक मानवीय प्रतिक्रिया हुन्। तर तनाव लामो समयसम्म अत्यधिक रहँदा वा दैनिक जीवन सञ्चालन गर्न कठिन हुँदा थप मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग आवश्यक पर्न सक्छ। त्यसैले परिवारका सदस्यलाई ‘कमजोर’ ठान्ने वा उनीहरूको अवस्थालाई कलंकका रूपमा हेर्ने होइन, संवेदनशीलतापूर्वक सहयोग गर्ने वातावरण बनाउनुपर्छ।
गर्भवती महिला : दोहोरो संवेदनशीलता
यस विपत्तिमा पातारासीबाट बेपत्ता भएका व्यक्तिका परिवारमा तीन जना गर्भवती महिला रहेको जानकारी छ। उनीहरूका लागि परिवारको सदस्य बेपत्ता हुनुको पीडासँगै गर्भावस्था र गर्भमा रहेको शिशुको स्वास्थ्यसम्बन्धी चिन्ता पनि थपिन सक्छ।
गर्भावस्थामा अत्यधिक डर, चिन्ता, निद्रामा समस्या, खानामा रुचि घट्नु, असहाय महसुस हुनु र प्रसवप्रति भय उत्पन्न हुन सक्छ। विस्थापन, असुरक्षित बसोबास, आर्थिक अन्योल तथा स्वास्थ्य सेवामा पहुँचको कठिनाइले उनीहरूको अवस्था थप जटिल बनाउन सक्छ।
यस्तो अवस्थामा गर्भवती महिलालाई केवल भावनात्मक सान्त्वना दिएर पुग्दैन। नियमित गर्भजाँच, पोषण, सुरक्षित बसोबास, पर्याप्त आराम र आवश्यक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्छ। उनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य अवस्थाको नियमित अनुगमन गर्दै आवश्यक परे विशेषज्ञ सेवामा जोड्नुपर्छ।
बालबालिकाको मौन पीडा
विपत्तिबाट प्रभावित परिवारका बालबालिकाले पनि गहिरो मानसिक असर अनुभव गर्न सक्छन्। तर उनीहरूले आफ्नो डर र दुःख वयस्कले जस्तो स्पष्ट शब्दमा व्यक्त गर्न नसक्न सक्छन्। त्यसैले उनीहरूको व्यवहारमा आएको परिवर्तनलाई ध्यानपूर्वक बुझ्न आवश्यक हुन्छ।
बालबालिका आमाबुबासँग अत्यधिक टाँसिने, एक्लै बस्न डराउने, बारम्बार रुने, राति डराउने वा दुःस्वप्न देख्ने, ओछ्यान भिजाउने, खानपान र निद्रामा परिवर्तन आउनेजस्ता समस्या देखाउन सक्छन्। पढाइमा ध्यान नदिने, खेल्न छोड्ने, रिसाउने वा बेपत्ता व्यक्तिबारे बारम्बार सोधिरहने व्यवहार पनि देखिन सक्छ।
कहिलेकाहीँ बालबालिकाले चित्र, खेल वा कल्पनामार्फत आफ्नो डर र घटनाको अनुभव व्यक्त गर्छन्। यस्तो व्यवहारलाई जिद्दी वा अनुशासनहीनताको रूपमा मात्र बुझ्नु हुँदैन।
बालबालिकालाई ‘नरोऊ’, ‘डराउनु हुँदैन’ भनेर भावना दबाउन लगाउनुको सट्टा उनीहरूको कुरा धैर्यपूर्वक सुन्नुपर्छ। उमेरअनुसार सत्य र सरल जानकारी दिनुपर्छ। उनीहरूलाई सुरक्षित वातावरण, नियमित दिनचर्या, खेल्ने अवसर र विश्वासिलो वयस्कको साथ आवश्यक हुन्छ।
ज्येष्ठ नागरिकलाई पनि साथ चाहिन्छ
परिवारको सदस्य बेपत्ता हुँदा ज्येष्ठ नागरिकमा पनि गहिरो दुःख, चिन्ता, एक्लोपन र असहायपनको भावना उत्पन्न हुन सक्छ। उनीहरूको निद्रा तथा खानपानमा समस्या आउन सक्छ भने पहिलेदेखिका स्वास्थ्य समस्या थप जटिल बन्न सक्छन्। नियमित औषधि छुट्ने, स्वास्थ्य संस्थासम्म पुग्न कठिन हुने र सामाजिक सम्पर्क घट्ने जोखिम पनि रहन्छ।
त्यसैले ज्येष्ठ नागरिकलाई परिवार र समुदायसँग जोडेर राख्ने, नियमित औषधि तथा स्वास्थ्य सेवाको व्यवस्था गर्ने र उनीहरूको कुरा सुन्ने वातावरण बनाउनुपर्छ। उनीहरूलाई सहयोगको निष्क्रिय प्राप्तकर्ता मात्र नभई परिवार र समुदायका सदस्यका रूपमा सम्मानपूर्वक व्यवहार गर्न आवश्यक छ।
राहतसँगै मनोसामाजिक सहयोग
विपत्तिपछि घाउ शरीरमा मात्र हुँदैन, मनमा परेको घाउ पनि उत्तिकै गहिरो हुन सक्छ। त्यसैले उद्धार र राहतसँगै मनोसामाजिक सहयोगलाई विपद् व्यवस्थापनको अभिन्न अंग बनाउनुपर्छ।
सबैभन्दा पहिले प्रभावित परिवारको आधारभूत आवश्यकता पूरा गर्नुपर्छ। सुरक्षित बसोबास, खाना, स्वच्छ पानी, कपडा, औषधि, स्वास्थ्य सेवा र परिवारसँग सम्पर्कको व्यवस्था मानसिक स्वास्थ्य संरक्षणका आधार हुन्। आधारभूत आवश्यकता पूरा नभएको अवस्थामा केवल परामर्शले मात्र परिवारको पीडा कम गर्न सक्दैन।
यससँगै प्रशिक्षित जनशक्तिमार्फत ‘मनोवैज्ञानिक प्राथमिक सहायता’ (साइकोलोजिकल फर्स्ट एड—पीएफए) उपलब्ध गराउन सकिन्छ। यसको मूल आधार हेर्ने, सुन्ने र जोड्ने हो। अर्थात् प्रभावित व्यक्ति सुरक्षित छन् कि छैनन् र उनीहरूलाई के आवश्यक छ भन्ने पहिचान गर्ने, उनीहरूको कुरा धैर्यपूर्वक सुन्ने तथा आवश्यक स्वास्थ्य, सामाजिक र आर्थिक सेवासँग जोड्ने।
पीएफए भनेको जबर्जस्ती घटनाबारे सबै कुरा भन्न लगाउनु वा तत्कालै पीडा हटाइदिने प्रयास गर्नु होइन। प्रभावित व्यक्तिको भावना र आवश्यकतालाई सम्मान गर्दै व्यावहारिक सहयोग र मानवीय साथ प्रदान गर्नु हो।
बेपत्ता व्यक्तिका परिवारलाई सूचना उपलब्ध गराउँदा विशेष संवेदनशीलता आवश्यक हुन्छ। खोजी तथा उद्धारको अवस्थाबारे प्रमाणित र आधिकारिक जानकारी नियमित रूपमा दिनुपर्छ। ‘उहाँ पक्कै जीवित हुनुहुन्छ’ वा ‘उहाँ अब हुनुहुन्न’ जस्ता प्रमाणविहीन आश्वासन दिनु हुँदैन। गलत सूचना र अपुष्ट आश्वासनले परिवारको आशा, विश्वास र मानसिक अवस्थालाई थप प्रभावित गर्न सक्छ।
परिवार, आफन्त, छिमेकी, शिक्षक, स्थानीय स्वास्थ्यकर्मी, महिला तथा बाल समूह र समुदायका अगुवालाई सहयोगमा परिचालन गर्न सकिन्छ। प्रभावित परिवारलाई एक्लो नछोड्ने, नियमित भेटघाट गर्ने र दैनिक जीवनका काममा सहयोग गर्ने सामान्य देखिने व्यवहारले पनि ठूलो अर्थ राख्छ।
गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकका आवश्यकता फरक हुन सक्छन्। त्यसैले उनीहरूका लागि छुट्टाछुट्टै आवश्यकता पहिचान गरी स्वास्थ्य सेवा, पोषण, सुरक्षित वातावरण, मनोसामाजिक सहयोग र संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्छ। जुम्लाबाट टाढा रहेका परिवारलाई आफ्नै समुदाय, आफन्त र सांस्कृतिक अभ्याससँग जोड्ने प्रयासले पनि भावनात्मक सहारा दिन सक्छ। तर कुनै पनि अभ्यासले पीडितमा दोष, डर वा कलंक थप्नु हुँदैन।
निरन्तर अनुगमन र विशेषज्ञ सेवाको व्यवस्था
विपत्तिपछि सबै प्रभावित व्यक्तिलाई एउटै प्रकारको परामर्श आवश्यक हुँदैन। कतिपयलाई परिवारको साथ, सही सूचना र आधारभूत सहयोगले राहत मिल्न सक्छ भने कतिपयलाई लामो समयसम्म मनोसामाजिक सहयोग आवश्यक पर्न सक्छ।
आत्महत्याको विचार वा प्रयास, आफू वा अरूलाई चोट पुर्याउने जोखिम, अत्यधिक डर वा आत्तिने अवस्था, लामो समयसम्म निद्रा नलाग्ने, गम्भीर निराशा, दैनिक काम गर्न नसक्ने अवस्था वा वास्तविकता बुझ्न कठिन हुनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्यकर्मी तथा मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग आवश्यक हुन्छ। बालबालिकामा गम्भीर व्यवहार परिवर्तन देखिएमा पनि विशेषज्ञ सेवामा जोड्नुपर्छ।
यसका लागि स्थानीय तह, स्वास्थ्य संस्था, सामाजिक संघसंस्था र विपद् व्यवस्थापनमा संलग्न निकायबीच समन्वय आवश्यक छ। प्रभावित परिवारको गोपनीयता कायम गर्दै उनीहरूको अवस्था नियमित रूपमा अनुगमन गर्ने र आवश्यकताअनुसार सेवा उपलब्ध गराउने प्रणाली विकास गर्नुपर्छ।
निष्कर्ष
रसुवा–भोटेकोशी विपत्तिमा जुम्लाबाट गएका व्यक्तिहरू बेपत्ता हुनु उनीहरूका परिवारका लागि केवल आर्थिक वा भौतिक क्षति होइन, गहिरो मनोसामाजिक संकट र अनिश्चित शोकको अवस्था पनि हो। विशेषगरी गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर सहयोग गर्नु आवश्यक छ।
बेपत्ता व्यक्तिको खोजी जारी राख्नु, परिवारलाई सही र नियमित सूचना दिनु, आधारभूत आवश्यकता पूरा गर्नु तथा मनोसामाजिक र स्वास्थ्य सेवासँग जोड्नु राज्य र सम्बन्धित निकायको दायित्व हो। यसमा स्थानीय सरकार, स्वास्थ्य संस्था, सामाजिक संघसंस्था र समुदायको सहकार्य अपरिहार्य छ।
सबैभन्दा महत्वपूर्ण कुरा, बेपत्ता व्यक्तिका परिवारलाई उनीहरूको पीडासहित स्वीकार गर्नु र उनीहरूलाई एक्लो महसुस हुन नदिनु हो। अनिश्चितताको यो कठिन यात्रामा परिवारलाई आश्वासनभन्दा बढी सत्य सूचना, सहानुभूतिभन्दा बढी निरन्तर साथ र राहतभन्दा परको समग्र सहयोग आवश्यक छ। विपद् व्यवस्थापनको सफलता उद्धार गरिएका मानिसको सङ्ख्याले मात्र होइन, विपत्तिबाट प्रभावित परिवारको जीवन, स्वास्थ्य र मनोसामाजिक पुनर्स्थापनामा गरिएको संवेदनशील प्रयासले पनि मापन हुनुपर्छ।
(लेखक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोपरामर्शदाता हुनुहुन्छ ।)
















