जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योती माध्यमिक विद्यालयको नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिमा सबै पदाधिकारी दलित समुदायबाट चयन भएका छन्।
विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा रामभक्त कामी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा मौरी कामी, रुपकन्या सार्की, कालीबहादुर सार्की र सुकबिर सार्की चयन भएका विद्यालयका प्रधानाध्यापक जाजोल्यराज न्यौपानेले जानकारी दिए।
विद्यालय व्यवस्थापन समितिमा दलित समुदायका व्यक्तिहरूको मात्रै प्रतिनिधित्व हुनुले शिक्षा क्षेत्रमा समावेशिता र समुदायको सहभागिताको एउटा उदाहरण प्रस्तुत गरेको अभियन्ता भरत नेपाली बताए।
उनका अनुसार विद्यालयको नेतृत्व र व्यवस्थापनमा सीमान्तकृत समुदायको सहभागिताले विद्यालयको शैक्षिक गुणस्तर सुधार, पारदर्शिता र समुदायको अपनत्व अभिवृद्धिमा योगदान पुर्याउन सक्ने अपेक्षा गरिएको छ।
नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।
नवनिर्वाचित अध्यक्ष रामभक्त कामीसहित सम्पूर्ण पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
















