रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि जुम्लाका व्यवसायी देवेन्द्रराज उपाध्यायले ५५ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन्।
उपाध्यायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम प्रदान गरेका हुन्। बाढीपछि पीडित परिवारको जीवनयापन कठिन बनेका बेला तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सहयोग गरेको उनले बताएका छन्।
‘विपद् जहाँ आए पनि पीडा सबैको साझा हो’ भन्ने मान्यताका साथ आफूले सक्दो सहयोग गरेको उपाध्यायको भनाइ छ। विपद्को समयमा राज्यको प्रयाससँगै नागरिक, व्यवसायी तथा निजी क्षेत्रको सहयोगले पीडितको उद्धार र पुनःस्थापनामा थप बल पुग्ने उनले बताए।
उपाध्याय सिवालय ट्रेडर्स एण्ड हाउस सप्लायर्सका प्रोप्राइटर हुन्। उनी उद्योग वाणिज्य संघ जुम्लाका सहसचिवसमेत हुन्। व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहँदै आएका उपाध्यायले बाढीपीडितका लागि सहयोग गरेका हुन्।
भोटेकोशी बाढीपछि प्रभावित नागरिकको उद्धार तथा राहतका लागि देशका विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ। व्यक्ति, व्यवसायी, सामाजिक संस्था तथा विभिन्न संघसंस्थाले आ–आफ्नो क्षमताअनुसार सहयोग गरिरहेका छन्।
विपद्को घडीमा गरिएको आर्थिक सहयोगले तत्कालीन राहत व्यवस्थापनमा टेवा पुर्याउनुका साथै प्रभावित परिवारको पुनःस्थापनाका लागि समेत आधार तयार गर्ने उपाध्यायको भनाइ छ।
















