आईतवार, ७ भाद्र, २०८३

शिक्षा, स्वास्थ्य, सडक र बजार व्यवस्थापनमा पछाडि परेको कर्णाली: विकास अझै कागजमै सीमित

प्रकृतिले कर्णालीमाथि कन्जुस्याइँ गरेको छैन। यहाँ विश्वमै अग्लो ठाउँमा फल्ने मार्सी चामल पाइन्छ। यार्सागुम्बा, जटामसी, पाँचऔँले जस्ता महँगा जडीबुटीको भण्डार छ।

प्रकृतिले भरिपूर्ण कर्णाली प्रदेश आज पनि विकासका आधारभूत सुविधाबाट वञ्चित छ। राम्रो सडक नहुँदा हरेक बर्खा र हिउँदमा सवारी दुर्घटना हुने, दर्जनौँले ज्यान गुमाउने क्रम रोकिएको छैन।

घुम्ती र साँघुरा कच्ची बाटो, माथि पहिरो, तल कर्णाली नदी। एउटा सानो चुकले पनि कतिका परिवार उजाडिएका छन्।

सडक मात्र होइन, शिक्षा र स्वास्थ्यको अवस्था पनि उस्तै नाजुक छ। प्रदेशका धेरै गाउँमा अझै १२ कक्षासम्म पढाउने विद्यालय छैनन्। स्वास्थ्य चौकी भए पनि डाक्टर र औषधि हुँदैन।

प्रसूति गराउन, एपेन्डिक्सको अप्रेसन गर्न, वा सानो चोटपटक लाग्दा पनि मानिसले दिनौँ हिँडेर वा डोकोमा बोकेर सदरमुकाम जानुपर्छ। नतिजा: समयमै उपचार नपाएर अकालमा ज्यान जाने।

यस्तो अवस्थामा कर्णालीका मानिसको जीवन ढुङ्गे युगको जस्तो भएको छ। बिजुली, इन्टरनेट, बजार, सञ्चार सबै टाढाको कुरा। हिउँदमा चिसोले कठ्याङ्ग्रिएर, बर्खामा बाढीपहिरोले त्रसित भएर बस्न बाध्य छन्।

तर प्रकृतिले कर्णालीमाथि कन्जुस्याइँ गरेको छैन। यहाँ विश्वकै अग्लो ठाउँमा फल्ने ठाउँ छ। उत्कृष्ट स्याउ पाइन्छ। यार्सागुम्बा, जटामसी, पाँचऔँले जस्ता महँगा जडीबुटीको भण्डार छ। स्याउ, ओखर, आरु, नास्पाति जस्ता फलफूल गुणस्तरमा देशमै नम्बर १ छन्।

तर दुःखको कुरा, जुम्ला जिल्लामा पाइने स्याउको मूल्य किसानले दुःख गरे जति पाइरहेका छैनन्। कर्णालीमा धेरै कुरा पाइन्छ, तर बजार व्यवस्थापन राम्रो छैन। सरकारले बजार व्यवस्थापनको व्यवस्था गरिदियोस् भन्ने किसानको माग छ।

कर्णालीका ९० प्रतिशत आमाबुवाको जीवन कृषि खेतीमा बितिरहेको छ, तर भनेजस्तो आम्दानी अहिलेसम्म पाएका छैनन्। जुम्लाको स्याउ काठमाडौं पुग्दा प्रति के.जी. ४०० पुग्छ, तर किसानको हातमा ६०–७० रुपैयाँ मात्र पर्छ। बिचौलिया र ढुवानी खर्चले सबै खाइदिन्छ।

सरकारले पटक–पटक ‘समृद्ध कर्णाली’को नारा दिए पनि काम जमिनमा देखिएको छैन। बजेट आउँछ, योजना बन्छ, तर सडक बन्दैन। अस्पताल बन्छ, डाक्टर जाँदैन। सहकारी बन्छ, बजार पाइँदैन।

स्थानीय भन्छन्, ‘हामीलाई भीख होइन, बाटो चाहियो। हाम्रो उत्पादनको उचित मूल्य चाहियो। हाम्रा छोराछोरीले पढ्न पाउने, बिरामीले उपचार पाउने अवस्था चाहियो।’

कर्णालीसँग सम्भावना छ, जडीबुटी प्रशोधन, स्याउ र मार्सीको ब्रान्डिङ, पर्यटन र जलविद्युत्। तर त्यो सम्भावना सडक र बजारले जोडिदिए मात्र साकार हुन्छ।

जबसम्म कर्णालीको आवाज सिंहदरबारले सुन्दैन, तबसम्म यो भूमि स्रोतले धनी भएर पनि मानिस गरिबी र पीडामै बाँच्न बाध्य हुनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार