जनयुद्धको कठिन समय, परिवारको सुरक्षाका लागि भूमिगत जीवनदेखि स्थानीय सरकारको नेतृत्वसम्म। तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलको जीवनयात्रा संघर्ष, साहस र परिवर्तनको कथा हो।
किशोरावस्थामै तत्कालीन माओवादी आन्दोलनमा जोडिएकी रेवतीले जनयुद्धका क्रममा अनेकौँ जोखिमपूर्ण परिस्थितिको सामना गरिन्। सेना र प्रहरीको खोजीबाट गाउँलेको सहयोगमा जोगिएका क्षणदेखि जंगलमा बिताएका कठिन दिनसम्मका उनका अनुभव आज पनि उत्तिकै मार्मिक छन्। आन्दोलनकै क्रममा भएको अन्तर्जातीय विवाह, शान्ति प्रक्रियापछि शिक्षा र राजनीतिक यात्रालाई निरन्तरता दिने प्रयास तथा स्थानीय तहको जनप्रतिनिधिका रूपमा उनले उठाएका महिला, बालबालिका, जातीय विभेद, बालविवाह र महिनावारी विभेदविरुद्धका सवाल पनि उनको यात्राका महत्वपूर्ण पाटा हुन्।
आमालाई बचाउने चिन्ताबाट सुरु भएको उनको राजनीतिक यात्रा कसरी विचार र सामाजिक परिवर्तनको अभियानमा बदलियो? जनयुद्धका ती कठिन दिनहरूमा उनले के–कस्ता अनुभव गरिन्? जनताले उनलाई कसरी बचाए? र आज जनप्रतिनिधिका रूपमा उनी समाज परिवर्तनलाई कसरी हेरिरहेकी छन्?
यिनै प्रश्नको सेरोफेरोमा कुटीरो पोडकाष्टका प्रस्तोता पुष्पा बिष्टसँग रेवती रावलले आफ्नो जीवन, संघर्ष, प्रेम, राजनीति र सामाजिक परिवर्तनको यात्राबारे खुलेर संवाद गरेकी छन्। प्रस्तुत छ, रेवती रावलसँगको यो विशेष अन्तरंग संवादको सम्पादित अंश।
उपाध्यक्षज्यू, यहाँलाई कुटीरो पोडकाष्टमा हार्दिक स्वागत छ।
धन्यवाद। लामो समयपछि आफ्नो जीवन, संघर्ष र अनुभवबारे खुलेर कुरा गर्ने अवसर पाउँदा म पनि निकै खुसी छु।
अहिले असार मसान्त सकिएको छ। त्यसैले पालिकाको कामको चाप केही कम भएको होला। आजभोलिको व्यस्तता कस्तो छ?
असार मसान्तपछि कार्यालयको नियमित कामको चाप केही कम भएको छ। तर जनताका कामहरू कहिल्यै सकिँदैनन्। जनप्रतिनिधिका रूपमा जनताको समस्या, गुनासो र आवश्यकतासँग जोडिएर काम गरिरहनुपर्छ। त्यसैले व्यस्तता केही कम भए पनि जिम्मेवारी भने निरन्तर छ।
तपाईं अहिले तातोपानी गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ। यहाँसम्म आइपुग्नुको पछाडि लामो संघर्ष र अनुभव होला, जरुर। सुरुमा तपाईंको जन्म, परिवार र बाल्यकालबारे जानौँ न।
मेरो माइतीघर सल्यान जिल्लाको कालिमाटी गाउँपालिका–२ मा पर्छ। पहिले त्यो क्षेत्र साविक रामपुर गाविसको वडा नम्बर ५ थियो। म मध्यम वर्गीय परिवारमा जन्मिएकी हुँ। मेरा बुवा सर्वजित रसाइली र आमा इन्द्रकला रसाइली हुनुहुन्छ। म परिवारको पहिलो सन्तान हुँ। मपछि दुई भाइ छन्।
हामी अत्यन्तै दुःखमा हुर्किएका होइनौँ। हाम्रो अवस्था मध्यम थियो। खानपान, पढाइ र बसाइमा खासै ठूलो अभाव थिएन। सामान्य रूपमा बाल्यकाल बित्यो। तर मेरो जीवनको बाटो भने किशोरावस्थामै राजनीतिसँग जोडिन पुग्यो।
तपाईंले जनयुद्धमा सहभागी भएको बताउनुभयो। सामान्यतः जनयुद्धमा गरिब, दलित, महिला तथा सीमान्तकृत समुदायका मानिसहरू ठूलो संख्यामा सहभागी भएको चर्चा हुन्छ। तपाईंको परिवारमा त्यस्तो चरम आर्थिक अभाव थिएन। त्यसो भए तपाईंलाई जनयुद्धमा लाग्ने प्रेरणा कहाँबाट आयो?
म त्यतिबेला निकै सानो उमेरकी थिएँ। करिब १५–१७ वर्षको उमेर थियो। मेरो आमाले २०५४ सालमा स्थानीय निर्वाचनमा वडा सदस्य जित्नुभएको थियो। त्यसबेला हाम्रो गाउँनजिकै प्रहरी चौकी थियो।
२०५६ साल माघ १२ गते त्यहाँको प्रहरी चौकीमा तत्कालीन नेकपा माओवादीले आक्रमण गर्यो। आक्रमणपछि प्रहरी चौकी त्यहाँ रहेन। केही दिनपछि माओवादीका केही साथीहरू हाम्रो घरमा पनि आउनुभयो।
त्यतिबेला मेरो बुझाइ निकै सीमित थियो। मेरी आमा राज्यपक्षको जनप्रतिनिधि हुनुहुन्थ्यो। त्यसैले माओवादी भनेको आमालाई केही गर्छ कि भन्ने डर मलाई थियो। तर उहाँहरूले हामीलाई सम्झाउँदै ‘यो गरिब, श्रमिक र जनताको पक्षमा लडेको आन्दोलन हो’ भन्नुभयो।
त्यतिबेला मैले राजनीति बुझेर जनयुद्ध रोजेकी होइन। मेरो मुख्य सोच भनेको आमा बुवाको सुरक्षा होस् भन्ने थियो। हामी दुई भाइ मात्रै थियौँ। आमाबुवालाई केही भयो भने हामी कहाँ जाने भन्ने बालसुलभ डर थियो। त्यही सोचले म भूमिगत भएँ।
तपाईंले सुरुवातमा राजनीतिक विचारभन्दा आमाबुवाको सुरक्षाका लागि भूमिगत भएको बताउनुभयो। त्यसपछि विस्तारै विचारसँग नजिकिँदै जानुभयो?
हो। सुरुमा मेरो उद्देश्य आमा बुवाको सुरक्षा थियो। केही समय माओवादी कार्यकर्तासँग बसेँ। त्यसपछि सांस्कृतिक समूहमा काम गर्न थालेँ। नाच्ने, कार्यक्रम गर्ने लगायतका गतिविधिमा सहभागी भएँ।

समय बित्दै जाँदा मैले आन्दोलनका कुरा बुझ्दै गएँ। दलित वर्गको उत्थान, महिलाको अधिकार, गरिब तथा श्रमिकको पक्षमा उठाइएका मुद्दाहरू मलाई मन पर्न थाले। सामन्ती सोच, जातीय विभेद र आर्थिक असमानताविरुद्ध लड्नुपर्छ भन्ने विचार विकसित भयो।
त्यसपछि मेरो राजनीतिक सहभागिता चेतनामा आधारित हुँदै गयो।
त्यतिबेला राज्य र विद्रोही पक्षबीच सशस्त्र संघर्ष भइरहेको थियो। सेना र माओवादीबीच प्रत्यक्ष भिडन्त हुने अवस्था थियो। तपाईंलाई कहिल्यै डर लागेन?
खासै डर लागेन। अहिले सम्झिँदा पनि अचम्म लाग्छ। म आफू मर्छु होला, गोली लाग्छ होला भन्ने सोच नै गर्दिनथेँ। हामी धेरै साथीहरू सँगै हुन्थ्यौँ। एउटा एरियामा १५–२० जनासम्मको समूह हुन्थ्यो। त्यसैले आफू एक्लै छैन भन्ने भावना हुन्थ्यो।
म सुरुदेखि नै कसैलाई दुःख दिनुपर्छ भन्ने मानसिकतामा थिइनँ। अन्यायविरुद्ध लड्नुपर्छ भन्ने बुझाइ थियो। मैले काम गरेका ठाउँमा जनतासँग पनि राम्रो सम्बन्ध बन्यो। अहिले पनि कतिपय ठाउँका दिदीबहिनी र आमाहरूले सम्झनुहुन्छ।
तपाईंको जनयुद्धकालीन जीवनमा सेना र प्रहरीसँग प्रत्यक्ष भेट भएका घटना पनि होलान। त्यस्ता केही घटना भए सुनाइदिनुस्।
एकपटक मा बाँकेको ढकेरी क्षेत्रमा थिएँ। त्यतिबेला सेनाको गाडी आइरहेको देखियो। मसँग एकजना साथी पनि हुनुहुन्थ्यो। सेनाको गाडी देख्नेबित्तिकै उहाँले मलाई झार्नुभयो।
त्यतिबेला महिलाहरूले चुरा, पोते, टीका आदि लगाउनु हुँदैन भन्ने हाम्रो सोच थियो। मैले पनि केही लगाएकी थिइनँ। त्यहाँ एउटा साइकल पसल थियो। पसलकी दिदीले मलाई बोलाएर रातो चुरा लगाइदिनुभयो। ‘मेरी बहिनी हो’ भनेर उहाँले मलाई सामान्य गाउँले महिलाजस्तो बनाइदिनुभयो।
सेनाले मलाई चिन्न सकेन। त्यो दिदीको सहयोगले म सुरक्षित भएँ। त्यो घटना आज पनि सम्झिन्छु।
अर्को घटना पनि निकै मार्मिक छ। म एउटा घरमा बसेर कार्यकर्ताहरूको हिसाब–किताब गरिरहेकी थिएँ। मसँग पार्टीका केही कागजात थिए। त्यतिबेला एकजना सानो बच्चा दौडिँदै आएर ‘अन्टी, बाहिर आर्मी आयो’ भन्यो। घरका बुवाले तत्काल सबै कागजात भएको ड्रम उठाएर भैँसीगोठतिर लैजानुभयो। मलाई पनि सामान्य गाउँले महिलाजस्तो व्यवहार गर्नुभयो।
मसँग केही पैसा पनि थियो। मैले त्यो पैसा कपडामा बाँधेर गाउँलेको थैलीमा राखिदिएँ। त्यसपछि पानी भर्ने, भैँसीलाई पानी हाल्ने जस्ता सामान्य काम गर्न थालेँ।
पछि त्यहाँका बुवाले मलाई आफ्नी छोरीजस्तै गाली गर्नुभयो। ‘घरमा बस्न लाज लाग्दैन, गाउँभरिका मान्छे बाहिर छन्’ भन्नुभयो। त्यो गाली पनि वास्तवमा मलाई बचाउने उपाय थियो।
सेना गएपछि घरकी भाउजुले पनि ‘म तिमीलाई लट्ठीले पिट्छु भनेर आएकी थिएँ’ भन्नुभयो। त्यो सुन्दा म भावुक भएँ। त्यो परिवारसँग मेरो कुनै रगतको नाता थिएन। म सल्यानकी, उहाँहरू अर्कै ठाउँका। तर उहाँहरूले आफ्नै छोरीजस्तै बचाउनुभयो।
त्यो क्षणमा मलाई लाग्यो, मैले जनताको मन जितेकी रहेछु। मैले कुनै नराम्रो काम नगरेकाले जनताले मलाई बचाए भन्ने महसुस भयो।
तपाईंको विवाह पनि जनयुद्धको उत्कर्षकै समयमा भयो। त्यसबारे पनि बताइदिनुस् न।
मेरो विवाह २०६१ साल मंसिर ५ गते भएको हो। भोलिपल्ट म २० वर्ष पुग्दै थिएँ। मेरो जीवनसाथी पनि जनयुद्धमै सहभागी हुनुहुन्थ्यो।
हाम्रो विवाह पार्टीकै साथीहरूको पहलमा भएको हो। त्यतिबेला हामी अभियान र प्रशिक्षणमा थियौँ। राप्तीपारि चिलरियामा जिल्ला तहको कार्यक्रम भइरहेको थियो। त्यही क्रममा विवाहको प्रस्ताव आयो। हामी दुवैको सहमति भयो र पार्टीका साथीहरूले विवाह गराइदिनुभयो।
तर विवाह भएको भोलिपल्टै सेना परिचालन भयो। हामी करिब ४२ जनाको समूह जंगलमा जानुपर्यो। तीन दिनसम्म जंगलमै बस्यौँ। खाना पनि राम्रोसँग खान पाइएन। मसँग दुई पोका चाउचाउ थियो। त्यही दुई पोका चाउचाउ ४२ जनालाई बाँडेर खायौँ। त्यो घटना सम्झिँदा अहिले पनि भावुक हुन्छु।
तपाईं दलित समुदायको हुनुहुन्छ र तपाईंका जीवनसाथी क्षेत्री समुदायबाट हुनुहुन्छ। तपाईंहरूको विवाह अन्तर्जातीय विवाह हो। जातीय विभेद बलियो रहेको समाजमा त्यतिबेला यस्तो निर्णय लिन कत्तिको कठिन थियो?

हाम्रो सम्बन्धमा वर्गीय र राजनीतिक चेतना ठूलो आधार थियो। हामी एउटै आन्दोलनमा थियौँ। जातीय विभेदविरुद्ध लडेको पार्टी र आन्दोलनमा सहभागी भएकाले हाम्रो सोच पनि त्यहीअनुसार बनेको थियो।
तर मैले विवाहअघि उहाँलाई मेरो सबै कुरा स्पष्ट रूपमा भनेकी थिएँ। मेरो परिवार, मेरो जातीय पृष्ठभूमि, मेरो आर्थिक अवस्था, मेरो जीवनको इतिहास, सबै कुरा सुनाएँ।
मैले उहाँलाई एउटा अन्तर्जातीय विवाहका कारण महिलाले भोगेको दुःखको कथा पनि सुनाएकी थिएँ। मैले भनेकी थिएँ, ‘भोलि तपाईंको परिवारले मलाई स्वीकार गरेन भने म के गर्ने?’ उहाँले मलाई विश्वास दिलाउनुभयो कि त्यस्तो अवस्था आए पनि उहाँ मेरो साथ छोड्नुहुन्न।
त्यो विश्वासकै आधारमा मैले विवाह गरेँ। अहिलेसम्म उहाँबाट जातीय विभेद झल्किने कुनै व्यवहार भोग्नुपरेको छैन। त्यस अर्थमा मेरो वैवाहिक जीवन सुखद् रह्यो।
शान्ति प्रक्रियापछि घर फर्किँदा जीवनसाथीको परिवारबाट कस्तो प्रतिक्रिया पाउनुभयो?
मलाई कुनै नकारात्मक व्यवहार भएन। सासु हुनुहुन्नथ्यो, तर नन्द, अमाजु र देवरहरू हुनुहुन्थ्यो। विवाह भएको केही समयपछि घर जाँदा उहाँहरूले स्वागत गर्नुभयो। टीका लगाएर भित्र पठाउनुभयो।
म करिब १७ दिन बसेँ। कसैले मेरो जातबारे नराम्रो कुरा गरेन। पछि जुम्लामा बस्न थालेँ। प्रत्यक्ष रूपमा जातीय विभेदको सामना गर्नुपरेको छैन। बाहिर कसैले के भन्छ, त्यो मलाई थाहा हुँदैन। मैले सुनेको कुरालाई पनि सजिलै विश्वास गर्दिनँ।
मेरो परिवार र समुदायलाई पनि म दोष दिन चाहन्नँ। मैले प्रत्यक्ष रूपमा भोगेको कुरा नै बोल्ने हो।
शान्ति प्रक्रियापछि तपाईंको राजनीतिक सक्रियता कस्तो रह्यो?
म निष्क्रिय भइनँ। बच्चा सानो भएकाले सक्रियता केही सीमित भयो। करिब दुई वर्ष तातोपानी गाउँपालिका–१ मा रहेको काजु विद्यालयमा पढाएँ। त्यहाँ सहिद परिवार र आर्थिक रूपमा कमजोर परिवारका बालबालिका पढ्थे।
त्यसपछि विद्यालय बन्द भयो। म घर फर्किएँ। जिल्ला पार्टीका बैठक, कार्यक्रम र भेलामा सहभागी भइरहेँ। गाउँगाउँमा निरन्तर जाने अवस्था भने बच्चाका कारण केही कम भयो।
मैले आफ्नो औपचारिक अध्ययन पनि पछि निरन्तरता दिएँ। आठ कक्षाबाट फेरि पढाइ सुरु गरेँ। एसएलसी र प्लस टु पूरा गरेँ। स्नातक तहको पहिलो र दोस्रो वर्षको परीक्षा पनि दिएँ। तर पारिवारिक जिम्मेवारीका कारण अध्ययनलाई निरन्तरता दिन सकिनँ। त्यो मेरो जीवनको एउटा दुःखद् पक्ष हो। आज पनि निरन्तर पढ्न पाएको भए हुन्थ्यो भन्ने लाग्छ।
तपाईं दोस्रो स्थानीय तह निर्वाचनमा तातोपानी गाउँपालिकाको उपाध्यक्ष बन्नुभयो। महिलाहरुलाई सितिमिति नेता स्वीकार नगर्ने समाजमा यो कसरी सम्भव भयो?
मेरो आफ्नै सोच वडा अध्यक्ष भएर समुदायमै काम गर्ने थियो। मैले वडा अध्यक्षकै लागि नाम पनि दिएको थिएँ। तर पार्टीले मलाई उपाध्यक्षमा उठ्नुपर्छ भन्यो।
भौगोलिक हिसाबले पनि पालिकाको एउटा क्षेत्रबाट अध्यक्ष र अर्को क्षेत्रबाट उपाध्यक्ष उठाउने कुरा मिल्यो। त्यसपछि मैले पार्टीको निर्णय स्वीकार गरेँ र उपाध्यक्षमा उम्मेदवारी दिएँ।
उम्मेदवारी दिँदा तपाईंका मुख्य एजेन्डा के थिए?
मैले धेरै ठूला घोषणा गरेकी थिइनँ। स्थानीय तहको जिम्मेवारी र अधिकारबारे त्यतिबेला मेरो अनुभव पनि धेरै थिएन।
बाटोघाटोको निरन्तरता, ज्येष्ठ नागरिकका समस्या, स्वास्थ्य, शिक्षा, बालबालिका र महिलाका सवालमा काम गर्ने कुरा गर्थेँ। विशेषगरी महिला भएकाले महिलाको नेतृत्व विकास, महिनावारी विभेद र बालविवाह न्यूनीकरण मेरा प्राथमिकतामा थिए।
महिला उम्मेदवारका रूपमा चुनाव लड्दा आर्थिक वा सामाजिक कठिनाइ भोग्नुपर्यो?
जनसमुदायबाट ठूलो असहयोग भएन। बरु धेरैले मलाई उपाध्यक्ष उठ्नुपर्छ भनेर सुझाव दिनुभएको थियो। केही व्यक्तिहरूबाट अपेक्षित सहयोग नपाएको अनुभव भने भयो। तर समुदायका मानिसहरूले विभिन्न राजनीतिक विचार राखे पनि मेरो उम्मेदवारीलाई सकारात्मक रूपमा लिनुभयो।
कतिपय कांग्रेस वा एमालेमा आबद्ध व्यक्तिहरूले पनि ‘माओवादी उम्मेदवार राम्रो हुनुहुन्छ, उहाँले जित्दा राम्रो हुन्छ’ भन्नुभएको सुन्थेँ। त्यसले मलाई ठूलो आत्मविश्वास दियो।
मलाई सबै पक्षबाट मत आएको महसुस भयो। त्यसैले म आफ्नो विजयलाई समुदायको विश्वासको परिणाम मान्छु।
उपाध्यक्ष बनेपछि विकासको तपाईंको परिभाषा के रह्यो?
मेरो विचारमा विकास भनेको सडक मात्रै होइन। सडक र पूर्वाधार आवश्यक छन्। तर मानिसको चेतना, नेतृत्व क्षमता, स्वास्थ्य, शिक्षा र सामाजिक व्यवहारमा परिवर्तन पनि विकास हो।

हामी भन्दा अघिल्लो कार्यकालमा धेरै ठाउँमा सडक खनिए। त्यसले बाढीपहिरो र वातावरणीय क्षति पनि निम्त्यायो। त्यसैले मैले आफ्नो कार्यकालमा मानवीय विकासका सवालमा बढी जोड दिएँ।
महिलाको नेतृत्व विकास, जातीय तथा लैंगिक विभेदको अन्त्य, बालविवाह न्यूनीकरण, बालबालिकाको स्वास्थ्य र पोषणलाई प्राथमिकता दिएँ।
तपाईंको कार्यकालमा सम्झन लायक त्यस्तो कुनै काम भयो? जसलाई मैले पछि सम्म पनि सम्झिरहन सकुँ भन्ने ?
उपाध्यक्ष भएपछि म जुम्ला अस्पतालमा गएकी थिएँ। त्यहाँ धेरै कुपोषित बालबालिका देखेँ। उनीहरूको अवस्था देखेर हाम्रो पालिकामा पनि यस्तो कार्यक्रम आवश्यक छ भन्ने सोच आयो।
त्यसपछि मैले आफ्नो उपाध्यक्ष कार्यक्रमबाट बजेट छुट्याएर कुपोषण सुरक्षा तथा पोषण केन्द्र सञ्चालनको सुरुवात गरेँ। पालिकाले पनि त्यसलाई निरन्तरता दियो।
अहिले त्यहाँ बालबालिकाहरू केही दिन बसेर पोषणयुक्त खाना, हेरचाह र आवश्यक सेवाबाट लाभ लिन्छन्। धेरै बालबालिका कुपोषणमुक्त भएर घर फर्किएका छन्। यो मेरो कार्यकालको एउटा महत्वपूर्ण उपलब्धि हो।
कर्णालीमा बालविवाह अहिले पनि गम्भीर समस्या छ। तपाईंको पालिकामा यसको अवस्था कस्तो छ?
बालविवाह अझै पनि चुनौतीपूर्ण छ। मेरो आफ्नै गाउँ वरपर पनि पछिल्लो समय कम उमेरमै विवाह गरेका धेरै उदाहरण छन्। कतिपय विद्यालय जाने उमेरका बालबालिकाले विवाह गरेका छन्।
बालविवाहपछि उनीहरू आर्थिक रूपमा आत्मनिर्भर हुँदैनन्। पढाइ छुट्छ। कम उमेरमै बच्चा जन्मिन्छ। त्यसले कुपोषण, पारिवारिक तनाव र अन्य समस्या निम्त्याउँछ।
हामीले बालमैत्री वडा घोषणा गर्ने, किशोरी क्लब गठन गर्ने र सचेतना कार्यक्रम सञ्चालन गर्ने काम गरेका छौँ। बालविवाह हुन लागेको जानकारी पाएपछि प्रहरी, महिला तथा बालबालिका शाखा र सम्बन्धित निकायसँग समन्वय गरेर रोक्ने प्रयास गर्छौँ।
एकपटक विवाहको भोज नै सुरु भइसकेको अवस्थामा सूचना पाएपछि हामीले जिल्ला प्रशासनसम्म समन्वय गरेर विवाह रोक्न सफल भयौँ।
कानुनले बालविवाह निषेध गरेको थाहा हुँदाहुँदै पनि समाजमा किन यस्तो विवाह भइरहन्छ?
धेरैजसो अवस्थामा ‘छिमेकीको छोराछोरी हो, उसको परिवार रिसाउला’ भनेर समाज मौन बस्छ। केटाकेटी भावनात्मक उमेरमा हुन्छन्। गलत निर्णयले उनीहरूको जीवनमा गम्भीर असर पर्न सक्छ भन्ने डर पनि हुन्छ।
तर मौन बस्नु समाधान होइन। बालविवाह रोक्न परिवार, समाज, विद्यालय, स्थानीय सरकार, प्रहरी र किशोरी क्लब सबै सक्रिय हुनुपर्छ।
हामीले गोप्य रूपमा सूचना दिन सकिने व्यवस्था गरेका छौँ। सूचना आएपछि तत्काल पुगेर परिवारसँग छलफल गर्ने, आवश्यक परे प्रहरी वा प्रशासनसँग समन्वय गर्ने गरेका छौँ।
तपाईंले महिनावारी विभेदविरुद्ध आफैबाट अभियान सुरु गर्नुभएको बताउनुभयो। यसको अनुभव कस्तो छ?
मैले परिवर्तन आफैबाट सुरु गर्नुपर्छ भन्ने मान्यता राख्छु। महिनावारी प्राकृतिक प्रक्रिया हो। महिलाको शरीरमा हुने जैविक प्रक्रियालाई अपवित्र मान्नु गलत हो।
मैले आफ्नी छोरीलाई महिनावारी भएका बेला गोठमा बस्न दिएकी छैन। घरमै सुत्ने, खाना खाने, पढ्ने सबै सामान्य रूपमा हुन्छ।
एकपटक म महिनावारी भएको अवस्थामा एउटा मन्दिरमा कामकै सिलसिलामा पुगेँ। त्यहाँका साथीहरूलाई मेरो महिनावारी भएको थाहा थिएन। पछि मैले भनेँ, ‘आज मलाई महिनावारी भएको दुई दिन भयो, तर म यहाँ आएँ। केही भएन।’
त्यसबाट मैले आफै उदाहरण दिन खोजेकी हुँ। मैले धेरै ठाउँमा यही कुरा भन्ने गर्छु, महिनावारी हुनु कुनै अपराध होइन, अपवित्रता होइन।
तपाईंले महिलाहरूलाई गोठबाट घरमा ल्याउने अभियान पनि चलाउनुभएको छ। परिवर्तन देखिएको छ?
परिवर्तन देखिएको छ। पहिले महिनावारी भएका महिलाहरू धेरै दिनसम्म गोठमा बस्नुहुन्थ्यो। अहिले धेरै परिवारले घरमै राख्न थालेका छन्।
हामीले दुई वटा वडामा महिनावारी विभेदमुक्त अभियान सञ्चालन गरेका छौँ। किशोरीहरू अहिले खुलेर आफ्ना समस्या भन्न थालेका छन्।
पछिल्लो पुस्तामा परिवर्तनको चाहना धेरै छ। पुरानो पुस्तालाई परम्परा छोड्न केही गाह्रो छ। तर नयाँ पुस्तालाई सही शिक्षा, आत्मविश्वास र अवसर दिन सकियो भने परिवर्तन सम्भव छ।
तपाईंको अनुभवमा जातीय विभेद अहिले पनि समाजमा गहिरो छ?

प्रत्यक्ष रूपमा सबै ठाउँमा नदेखिए पनि यसको प्रभाव समाजमा अझै छ। विशेषगरी अन्तर्जातीय विवाह, दलित समुदाय र सामाजिक सम्बन्धका क्षेत्रमा विभेदका अवशेष छन्।
स्थानीय सरकारले कानुनको कार्यान्वयन, जनचेतना र सामाजिक संवादलाई प्राथमिकता दिनुपर्छ। कसैले जातीय गाली वा विभेद गर्छ भने त्यसलाई सामान्य रूपमा लिनु हुँदैन। आवश्यक परे कानुनी प्रक्रियामा जानुपर्छ।
उपाध्यक्षका रूपमा तपाईं न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ। कस्ता खालका समस्या आउने गरेका छन्?
स्थानीय तहमा धेरै प्रकारका विवाद आउँछन्। पारिवारिक विवाद, महिला तथा बालबालिकाका समस्या, मेलमिलाप आवश्यक पर्ने विषयहरू आउँछन्।
तर सबै मुद्दा न्यायिक समितिको क्षेत्राधिकारमा पर्दैनन्। त्यस्तो अवस्थामा हामीले सम्बन्धित निकायमा पठाउने, प्रहरी तथा प्रशासनसँग समन्वय गर्ने र आवश्यक सहजीकरण गर्ने गरेका छौँ।
हाम्रो उद्देश्य सकेसम्म समुदायमै संवाद र मेलमिलापबाट समस्या समाधान गर्नु हो। तर गम्भीर कानुनी विषयमा सम्बन्धित निकायको प्रक्रिया पालना गर्नुपर्छ।
तपाईंको पाँच वर्षे कार्यकाल अन्तिमतिर आइपुगेको छ। अझै गर्न बाँकी काम के छन्?
धेरै काम बाँकी छन्। स्थानीय सरकारमा काम गर्दा कानुन, कार्यविधि र बजेटको सीमाभित्र रहेर काम गर्नुपर्छ। कहिलेकाहीँ सानो सहयोग गर्न पनि कार्यविधि चाहिन्छ। त्यसैले सोचेजति सबै काम गर्न सकिँदैन।
अझै पनि महिला नेतृत्व, बालविवाह, महिनावारी विभेद, बालबालिकाको पोषण र सामाजिक न्यायका क्षेत्रमा थप काम गर्न चाहन्छु।
आगामी निर्वाचनमा फेरि उम्मेदवार बन्ने योजना छ?
सेवा गर्ने इच्छा छ। राजनीति मेरो लागि सेवा हो। त्यसैले अवसर पाएँ भने अझै काम गर्न चाहन्छु। तर ‘म नै हुनुपर्छ’ भन्ने सोच छैन। आन्दोलनबाट खारिएर आएका धेरै महिला तथा पुरुष साथीहरू हुनुहुन्छ। उहाँहरूले पनि नेतृत्व गर्ने अवसर पाउनुपर्छ।
पार्टीले जिम्मेवारी दियो र समुदायले विश्वास गर्यो भने म तयार छु। तर अहिले नै म अर्को पदका लागि मरिहत्ते गरेर अघि बढ्छु भन्ने होइन। अवसरअनुसार निर्णय गर्छु।
तपाईं जस्तै संघर्षबाट आएका अरू महिलालाई नेतृत्वमा ल्याउन तपाईं कत्तिको तयार हुनुहुन्छ?
पूर्ण रूपमा तयार छु। मैले उपाध्यक्षको अनुभव गरेँ। अब म जस्तै अन्य दिदीबहिनीहरूले पनि नेतृत्व गर्ने अवसर पाउनुपर्छ।
नेतृत्व भनेको एउटै व्यक्तिले सधैँ समातेर बस्ने कुरा होइन। नयाँ पुस्तालाई अवसर दिनुपर्छ। महिलाहरूले नेतृत्व गर्न सक्छन् भन्ने विश्वास समाजमा स्थापित गर्नुपर्छ।
अन्त्यमा, संघीय सरकारको कामकारबाहीलाई तपाईं कसरी हेर्नुहुन्छ?
म अनावश्यक आलोचनाभन्दा काम हेर्नुपर्छ भन्ने मान्यता राख्छु। अहिले संघीय सरकारमा रहेका नेताहरूले देश बनाउँछौँ भनेर जिम्मेवारी लिनुभएको छ भने काम गरेर देखाउनुपर्छ।
विरोध मात्रै गरेर हुँदैन। निर्वाचित भएर जिम्मेवारीमा पुगेपछि आफ्नो ठाउँबाट काम गर्नुपर्छ। स्थानीय तहमा पनि हाम्रा आफ्नै सीमा र कानुनी बाध्यता छन्। त्यसैले सबै तहका सरकारबीच समन्वय आवश्यक छ।
यदि कसैले हाम्रो कामको आलोचना गर्छ भने मैले त्यसलाई सुझावका रूपमा लिन्छु। आलोचनाले मलाई ‘कतै मैले गल्ती त गरिनँ?’ भनेर सोच्न बाध्य बनाउँछ। त्यसबाट सुधारको बाटो खोज्नुपर्छ।
अन्त्यमा, कुटीरो पोडकास्टमार्फत दर्शक तथा श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ?
मेरो जीवनका धेरै अनुभव आज यहाँ खुलेर राख्ने अवसर पाएँ। कुटीरो डटकमले मलाई समय दिएर बोल्ने अवसर दिएकोमा धेरै धन्यवाद।
विशेषगरी महिला दिदीबहिनीहरू, जनप्रतिनिधिहरू र समाजमा पछाडि पारिएका समुदायका मानिसहरूले आफ्नो अनुभव र आवाज राख्ने ठाउँ पाउनुपर्छ। आफ्ना कुरा खुलेर राख्ने अवसर पाउनु पनि एउटा ठूलो कुरा हो।
महिलाहरूले नेतृत्व गर्न सक्छन्, निर्णय गर्न सक्छन् र समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने विश्वास राखौँ। हामीले परिवर्तन अरूबाट सुरु होस् भनेर पर्खनुभन्दा आफूबाट सुरु गर्नुपर्छ।
आफ्नो व्यस्त समयका बाबजुद हामीलाई समय दिनुभएकोमा धेरै–धेरै धन्यवाद। तपाईंको राजनीतिक यात्रा, जनयुद्धकालीन अनुभव, अन्तर्जातीय विवाह, महिला तथा बालबालिकाका सवाल र स्थानीय सरकारमा गर्नुभएको कामबारे निकै महत्वपूर्ण कुरा जान्ने अवसर मिल्यो। आगामी राजनीतिक तथा सामाजिक यात्रा अझ सुन्दर, सफल र अर्थपूर्ण रहोस् भन्ने शुभकामना।
मलाई पनि आफ्नो जीवन र अनुभवबारे खुलेर कुरा गर्ने अवसर दिनुभएकोमा कुटीरो डटकमलाई धेरै धन्यवाद। विशेषगरी महिला दिदीबहिनीहरूलाई आफ्नो अभिव्यक्ति राख्ने यस्तो अवसर निरन्तर मिलोस् भन्ने शुभकामना दिन चाहन्छु। धन्यवाद।

















