जुम्लाको गुठीचौर गाउँपालिकाकी उपाध्यक्ष शान्ति मल्ल भण्डारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेकी छन्।
गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि निर्वाचन आयोगले अध्यक्ष पद रिक्त रहेको सूचना जारी गरेको थियो।
अध्यक्ष बुढाले पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको उत्प्रेषणको रिट साउन १२ गते खारेज भएपछि पद रिक्तसम्बन्धी निर्वाचन आयोगको निर्णय कायम भएको हो।
त्यसपछि उपाध्यक्ष भण्डारीले साउन १५ गते कार्यवाहक अध्यक्षका रूपमा पदबहाली गरेकी हुन्।
२०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गुठीचौर गाउँपालिका अध्यक्षमा निर्वाचित बुढाले कार्यकाल सकिन करिब एक वर्ष बाँकी रहँदै रास्वपा प्रवेश गरेका थिए।
त्यसपछि नेपाली कांग्रेसले उनलाई दल त्याग गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयका आधारमा निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम अध्यक्ष पद स्वतः रिक्त भएको जनाएको थियो।















