सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार दिउँसो करिब २ः२५ बजे वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे निवासी ४१ वर्षीय हिमाल थापालाई पक्राउ गरिएको हो।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) निरजबहादुर पालको कमाण्डमा खटिएको टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक भिजनकुमार बिष्टको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले थापामाथि खानतलासी गर्दा उनको साथबाट शुद्ध तौल ५ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो डल्लो पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद गरिएको पदार्थसहित थापालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी कबिन्द्र सिंह बोहराले उक्त घटनाको पुष्टि गर्दै पक्राउ परेका व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।















