सोमबार, ११ श्रावण, २०८३

कांग्रेस एकताका लागि स्थानीय तहका जनप्रतिनिधिको दबाब, ढुंगाना–शाही नेतृत्वको टोलीसँग सभापति थापाको भेट

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अन्त्य गरी पार्टी एकता कायम गर्न स्थानीय तहका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले नेतृत्वमाथि दबाब बढाएका छन्।

नगरपालिका राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष भीम ढुंगाना र हिमा गाउँपालिका जुम्लाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण शाहीको नेतृत्वमा जनप्रतिनिधिहरूको टोलीले कांग्रेस सभापति गगन थापालाई भेटेर पार्टी एकताका लागि तत्काल पहल गर्न आग्रह गरेको हो।

भेटमा सभापति थापाले पार्टी एकताको प्रयास सहमतिउन्मुख रहेको बताउँदै वर्तमान चुनौती सामना गर्न कांग्रेसभित्र एकता अपरिहार्य रहेको बताएका थिए।

नगरपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष शाहीका अनुसार सभापति थापाले पार्टीभित्रका मतभेद र बहसलाई थप चर्काउनेभन्दा घटाउँदै सहमतिको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए।

‘हामी पार्टीभित्रको समस्या समाधानका लागि गम्भीरतापूर्वक लागेका छौं। मतभेद र बहस चर्काउनेभन्दा घटाउनुपर्छ,’ सभापति थापाको भनाइ उद्धृत गर्दै शाहीले भने।

स्थानीय जनप्रतिनिधिहरूले पार्टी एकताका लागि दबाब दिन साउन १६ गते आयोजना गर्न लागेको राष्ट्रिय भेला भने स्थगित गर्न सभापति थापाले आग्रह गरेका छन्। ‘साउन १६ गतेको भेला स्थगित गर्नुस्, आवश्यक परे बरु म आफैं बोलाउँछु,’ थापाले भनेको शाहीले जानकारी दिए।

गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष शाहीसहितको टोलीले पार्टीभित्रको विवादको असर स्थानीय तहसम्म परेको भन्दै नेतृत्वलाई गम्भीर बन्न आग्रह गरेको थियो। जनतासँग प्रत्यक्ष रूपमा जोडिएका जनप्रतिनिधिहरूले पार्टी एकताबिना जनतामा आशा जगाउन र कांग्रेसको साख फर्काउन कठिन हुने बताएका छन्।

भेटमा सभापति थापाले असन्तुष्ट नेताहरूसँग संवादका लागि चार सदस्यीय कार्यदल गठनको तयारी भइरहेको जानकारी दिएको उपाध्यक्ष शाहीले बताए। उनका अनुसार इतर पक्षबाट दुई सदस्यको नाम मागिएको छ।

थापाले आवश्यक परे केन्द्रीय समिति बैठकसमेत पर धकेलेर सहमतिको प्रयास अघि बढाउने र साउनको तेस्रो हप्तासम्म सहमतिले सार्थकता पाउने विश्वास व्यक्त गरेको शाहीले जानकारी दिए।

स्थानीय तहका जनप्रतिनिधिहरूले केही दिनयता कांग्रेसका शीर्ष नेताहरूसँग भेट गरी पार्टी एकताका लागि दबाब दिँदै आएका छन्। उनीहरूले पार्टीभित्रको विवाद तत्काल समाधान गरी एकताबद्ध भएर अघि बढ्न नेतृत्वलाई आग्रह गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार