आईतवार, १० श्रावण, २०८३

ब्ल्याक डाइमन्ड च्याम्पियन बन्दै ‘जनस्वास्थ्य कप–२०८३’ दोस्रो संस्करण सम्पन्न

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित अन्तरसंकायस्तरीय ‘जनस्वास्थ्य कप–२०८३’ फुटसल प्रतियोगिताको दोस्रो संस्करण सम्पन्न भएको छ। १५ टोलीको सहभागिता रहेको प्रतियोगितामा ब्ल्याक डाइमन्ड टोलीले उपाधि जितेको छ।

प्रतियोगिताको फाइनलमा ब्ल्याक डाइमन्डले प्रतिष्ठानको प्रशासन टोलीलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। प्रतियोगिताको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा.डा. सूर्यमान मेन्याङ्बोले गरेका थिए।

खेलकुद संयोजक विजय रावलका अनुसार खेलकुदमार्फत अनुशासन, नेतृत्व क्षमता, सहकार्य, मित्रता र स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा प्रतिष्ठानका विभिन्न संकायका विद्यार्थी, शिक्षक तथा शिक्षण अस्पतालमा कार्यरत कर्मचारी गरी १५ टोलीको उत्साहजनक सहभागिता रहेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका उपकुलपति प्रा.डा. सूर्यमान मेन्याङ्बोले खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउनुका साथै नेतृत्व क्षमता, अनुशासन र टोलीगत कार्यसंस्कृतिको विकास गर्ने भएकाले यस्ता कार्यक्रमलाई प्रतिष्ठानले निरन्तर प्राथमिकता दिने बताए। उनले अध्ययनसँगै खेलकुदलाई पनि समान महत्व दिनुपर्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले प्रतिष्ठानभित्रको पारस्परिक सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

जनस्वास्थ्य संकायका डिन डा. सेसानन्द सन्जेलले जनस्वास्थ्य कप केवल खेलकुद प्रतियोगिता मात्र नभई विद्यार्थी, शिक्षक र कर्मचारीबीच सहकार्य, सद्भाव र आत्मीयता बढाउने साझा मञ्च भएको बताए। उनले जनस्वास्थ्य क्षेत्रका विद्यार्थीले शैक्षिक उत्कृष्टतासँगै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्टता प्रदर्शन गरिरहेको उल्लेख गर्दै आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र प्रभावकारी बनाइने बताए।

जनस्वास्थ्य महाविद्यालयका उपप्राध्यापक ओमप्रकाश काफ्लेले यस्ता प्रतियोगिताले विद्यार्थी, शिक्षक र कर्मचारीबीच स्वस्थ प्रतिस्पर्धा, अनुशासन, सहकार्य, सद्भाव तथा खेलभावनाको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

प्रतियोगितामा उमेश रोकाया ‘बेस्ट प्लेयर’ घोषित भए भने राजबहादुर खत्री उत्कृष्ट गोलरक्षक (बेस्ट गोलकिपर) बने। दुष्यन्त चौलागाईं सर्वाधिक गोलकर्ता घोषित भए।

गत वर्ष जनस्वास्थ्य स्नातक (बीपीएच) टोली च्याम्पियन बनेको प्रतियोगिताको पहिलो संस्करणको सफलतालाई निरन्तरता दिँदै यस वर्ष दोस्रो संस्करण अझ व्यवस्थित र भव्य रूपमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ।

आयोजक समितिले प्रतियोगिताको सफल आयोजनामा सहयोग पुर्‍याउने प्रतिष्ठान परिवार, सहभागी टोली, रेफ्री, स्वयंसेवक तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै आगामी संस्करणलाई अझ उत्कृष्ट बनाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार