आईतवार, १० श्रावण, २०८३

आफ्नै जिल्लाका राष्ट्रिय कलाकार महोत्सवको सूचीबाट बाहिर, आयोजकमाथि प्रश्न

जुम्ला — जुम्लामा आयोजना हुन लागेको कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार महोत्सव–२०८३ को सांस्कृतिक कार्यक्रमका लागि सार्वजनिक गरिएको कलाकारहरूको सूचीमा जिल्लाकै राष्ट्रिय स्तरमा परिचित कलाकारहरू समावेश नगरिएपछि आयोजक उद्योग वाणिज्य संघ, जुम्ला माथि प्रश्न उठेको छ।

महोत्सवको आयोजक उद्योग वाणिज्य संघ, जुम्लाले सार्वजनिक गरेको कलाकारहरूको सूचीमा जुम्लाका राष्ट्रिय कलाकार सुरज पण्डित, छत्र शाही, अर्जुन सुनार र रूपा बुढा को नाम नपरेपछि स्थानीय कला–सांस्कृतिक क्षेत्रका व्यक्तिहरूले असन्तुष्टि जनाएका छन्।

स्थानीय सरोकारवालाहरूका अनुसार जुम्लाको कला र संस्कृतिलाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान दिएका कलाकारहरूलाई आफ्नै जिल्लामा आयोजना हुने महोत्सवमा अवसर नदिनु विडम्बनापूर्ण हो। स्थानीय प्रतिभालाई प्राथमिकता दिनुपर्ने महोत्सवमा जिल्लाकै स्थापित कलाकारहरूलाई बेवास्ता गरिएको भन्दै उनीहरूले आयोजकको निर्णयप्रति प्रश्न उठाएका छन्।

स्थानीयका अनुसार यो पहिलो पटक भएको घटना होइन। विगतका महोत्सवहरूमा पनि आफ्नै जिल्लाका कलाकारहरूलाई अपेक्षित स्थान नदिने प्रवृत्ति दोहोरिँदै आएको उनीहरूको भनाइ छ। यस्तो अभ्यासले स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवर्द्धन गर्ने महोत्सवको मूल उद्देश्य नै कमजोर बन्ने उनीहरूको तर्क छ।

यस विषयमा कलाकार छनोटको मापदण्ड के थियो, राष्ट्रिय रूपमा परिचित स्थानीय कलाकारहरू किन समावेश भएनन् भन्नेबारे आयोजक उद्योग वाणिज्य संघ, जुम्लाको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

आफ्नै जिल्लाका स्थापित कलाकारलाई अवसर नदिई बाहिरका कलाकारलाई प्राथमिकता दिने अभ्यास दोहोरिए जुम्लामै आयोजना हुने महोत्सवको औचित्य र स्थानीय कला–संस्कृतिप्रतिको प्रतिबद्धतामाथि थप प्रश्न उठ्ने स्थानीयको भनाइ छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार