जुम्ला बजारलाई स्वच्छ, सफा र स्वस्थ बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय जुम्लाले कार्ययोजनासहित सरसफाइ अभियान सुरु गरेको छ। प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंको नेतृत्वमा शनिबारदेखि अभियान औपचारिक रूपमा सुरु गरिएको हो।
अभियानमा जिल्ला प्रशासन कार्यालय, जुगाडखोला सरसफाइ अभियान्ता, स्थानीय तह, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्था, विद्यालय तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो। अभियानको सुरुवातमै प्रमुख जिल्ला अधिकारी प्रसाईं स्वयं सडकमा उत्रिएर घर, पसल तथा सार्वजनिक स्थान अगाडिको फोहोर संकलनमा सहभागी भएका थिए।

अभियानको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी प्रसाईंले सरसफाइलाई एकदिने कार्यक्रमका रूपमा नभई निरन्तर सञ्चालन हुने सामाजिक अभियानका रूपमा अघि बढाइने बताए। प्रत्येक नागरिकले आफ्नै घर, आँगन, पसल तथा वरपरको वातावरण सफा राख्ने दायित्व निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
उनका अनुसार अब नियमित अनुगमन टोली परिचालन गरिनेछ। सार्वजनिक स्थानमा फोहोर फाल्ने, सरसफाइमा अटेरी गर्ने तथा वातावरण प्रदूषित गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिनेछ। “प्रशासन सधैं फोहोर उठाउँदै हिँड्दैन, आफ्नो क्षेत्रको सरसफाइ प्रत्येक नागरिकको जिम्मेवारी हो,” उनले भने।

यता जुगाडखोला सरसफाइ अभियान्ता उपेन्द्र बुढथापाले लामो समयदेखि नगरपालिकालाई बजार तथा जुगाडखोला क्षेत्रको सरसफाइका लागि आग्रह गरे पनि अपेक्षित सहयोग नपाएको गुनासो गरे। उनका अनुसार स्वयंसेवी रूपमा सरसफाइ अभियान सञ्चालन गर्दा समेत विभिन्न अवरोध र असहज परिस्थितिको सामना गर्नुपरेको थियो।
“जिल्ला प्रशासन कार्यालयले कार्ययोजनासहित सरसफाइ अभियान अघि बढाएपछि हाम्रो अभियानले पनि पूर्ण साथ र सहयोग पाएको छ। सरसफाइलाई प्राथमिकतामा राखेर अभियान सुरु गरेकोमा जिल्ला प्रशासन कार्यालयप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं,” बुढथापाले भने।

प्रमुख जिल्ला अधिकारी प्रसाईंले खानेपानीका पाइप व्यवस्थित गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिँदै नगरपालिकाले नालाको पूर्ण सरसफाइ गरेपछि पुनः नालामा फोहोर फाल्ने कार्य सह्य नहुने चेतावनी दिए। नालामा फोहोर थुपार्ने प्रवृत्तिले रोग फैलाउने जोखिम बढाएको भन्दै त्यसलाई कडाइका साथ नियन्त्रण गरिने उनले बताए।
प्रशासनका अनुसार कार्ययोजनामा सार्वजनिक स्थल, सडक, कार्यालय परिसर, विद्यालय तथा बजार क्षेत्रको नियमित सरसफाइ, जनचेतनामूलक कार्यक्रम सञ्चालन र प्रभावकारी फोहोर व्यवस्थापन प्रणाली विकासलाई प्राथमिकतामा राखिएको छ।

अभियानमा जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालको नेतृत्वमा प्रहरी टोली, स्थानीय युवा तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
जिल्ला प्रशासन कार्यालयले अभियानलाई सफल बनाउन सरकारी तथा गैरसरकारी निकाय, सञ्चारमाध्यम, नागरिक समाज तथा आम नागरिकसँग सहकार्य र सक्रिय सहभागिताको आह्वान गरेको छ। प्रशासनले यो अभियानलाई निरन्तरता दिँदै जुम्लामा दिगो सरसफाइ संस्कृतिको विकास गर्ने लक्ष्य लिएको छ।

















