जुम्लाको गुठिचौर गाउँपालिका–५ देपालगाउँबाट प्रहरीले १२.४७० ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार अपराह्न करिब ३:०० बजे डुल्ली नेपालीले सञ्चालन गरेको किराना खुद्रा पसलमा चरेस कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले खानतलासी गरेको थियो।
प्रहरीले पसलभित्र रहेको काउन्टरको दराजमा लुकाइराखिएको अवस्थामा चरेसजस्तो देखिने कालो पदार्थ फेला पारेको जनाएको छ। उक्त पदार्थलाई मान्यता प्राप्त तराजुले नापतौल गर्दा शुद्ध तौल १२.४७० ग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको चरेससहित एक जनालाई नियन्त्रणमा लिई लागू औषध (चरेस) सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी निर्देश बरालले जानकारी दिएका छन्।
प्रहरीले लागू औषधको अवैध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि विशेष निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।
















