आईतवार, २१ असार, २०८३

जुम्लामा लागुऔषध सेवन गरेर सवारी चलाएको आशंकामा ५ चालक पक्राउ, अनुसन्धान सुरु

जुम्ला, जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध सेवन गरी सवारी साधन चलाएको आशंकामा पाँच जना सवारी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार असार १८ गते दिउँसो करिब ४:०० बजे चन्दननाथ नगरपालिका–७ महतगाउँ नजिक कर्णाली राजमार्गमा जिल्ला प्रहरी कार्यालय जुम्ला र जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले संयुक्त रूपमा सवारी चालकहरूको लागुऔषध सेवन परीक्षण अभियान सञ्चालन गरेका थिए।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक निर्देश बरालको कमाण्डमा खटिएको १६ सदस्यीय प्रहरी टोलीले लागुऔषध परीक्षण किटमार्फत चालकहरूको परीक्षण गर्दा पाँच जनामा पोजिटिभ नतिजा देखिएको प्रहरीले जनाएको छ।

परीक्षणमा पोजिटिभ देखिएका चालकहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा राखिएको थियो। त्यसपछि असार १९ गते जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानमा रहेका व्यक्तिहरूमा चन्दननाथ नगरपालिका–१० का अन्दाजी ३० वर्षीय विर्ख विक, २२ वर्षीय सम्पूर्ण नेपाली, २८ वर्षीय दीपक बुढा, २३ वर्षीय एकराज बुढा तथा तातोपानी गाउँपालिका–५ का अन्दाजी १९ वर्षीय लालचन्द्र परियार रहेका छन्।

प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा प्रवर्द्धनका लागि लागुऔषध सेवन गरी सवारी नचलाउन सबै चालकलाई आग्रह गर्दै यस्ता चेकजाँचलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार