जुम्लाको सिंजा गाउँपालिका–५ मा जातीय छुवाछूत तथा अन्य प्रकारका विभेदविरुद्ध सार्वजनिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। सिंजा गाउँपालिकाको आयोजना तथा कुटिरो रिसर्च सेन्टरको सहजिकरणमा वडा नं. ५ को कार्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा महिला तथा दलित समुदायमाथि हुने विभेद न्यूनीकरण, समान अधिकारको सुनिश्चितता र सामाजिक समावेशीकरणका विषयमा सरोकारवालाहरूबीच गहन छलफल भएको थियो।

विशेष गरी समाजमा व्याप्त जातीय छुवाछूत, सामाजिक विभेद, महिनावारी (छाउपडी) सम्बन्धी कुप्रथा तथा घरेलु हिंसाजस्ता समस्याबारे सचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको सिंजा -५ कन वडा अध्यक्ष कृष्ण बहादुर रोकायाले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष रोकायाले वडा कार्यालयले विभिन्न संघसंस्थासँग मिलेर सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको र वडाभित्र हुने सबै प्रकारका विभेद अन्त्य गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।
उनले भने, ‘कुनै पनि माध्यमबाट हुने विभेद समाजका लागि स्वीकार्य छैन। समानता र सामाजिक न्याय कायम गर्न वडा कार्यालय सधैं सक्रिय रहनेछ।’

त्यस्तै, दलित अगुवा सगुने परियारले दलित समुदायलाई स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्दै यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राखे।
महिला वडा सदस्य ललिता बुढाले महिलामाथि हुने महिनावारीसम्बन्धी विभेद, घरेलु हिंसा तथा अन्य सबै प्रकारका लैङ्गिक विभेद अन्त्य गर्न समाजका सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा वडा सदस्य पाल्ती रावल, स्थानीय अगुवा तथा बासिन्दाहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले जातीय छुवाछूत र हिंसामुक्त समाज निर्माणका लागि हरेक नागरिक र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको कुरामा जोड दिएका थिए।

















