यो प्रयासका लागि गाउँपालिका अध्यक्ष र समग्र कार्यपालिका टिमप्रति विद्यालय परिवार र स्थानीय समुदाय निकै आभारी रहेको नेत्रज्योति प्राविधिक माविका प्रधानाध्यापक रंग बहादुर रोकायाले बताए।
कर्णालीको भूगोल विकट छ, तर शैक्षिक उत्साह भने कुनै विकसित सहरको भन्दा कम छैन। जुम्लाको हिमा गाउँपालिकामा हालै सम्पन्न चौथो ‘पढाई मेला’ले त्यहाँको शैक्षिक वातावरणमा एउटा नयाँ उत्साह पैदा गरिदिएको छ।
गाउँपालिकाभरिका २२ वटा विद्यालयहरूबीचको तीव्र प्रतिस्पर्धामा यस वर्ष पनि श्री नेत्रज्योति प्राविधिक माध्यमिक विद्यालय, ओदीले आफ्नो वर्चस्व कायम राख्दै समग्र मूल्यांकनमा प्रथम स्थान हासिल गर्न सफल भयो।
यो कुनै संयोग मात्र थिएन, बरु लगातार चौथो पटकको ऐतिहासिक जित थियो, जसले विद्यालयको निरन्तरको लगाव र मेहनतलाई प्रमाणित गर्दछ।
हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाही निर्वाचित भई आएपछि गाउँपालिकामा ‘पढाई मेला’ को एउटा अभूतपूर्व अवधारणा सुरु भयो। गाउँपालिका भित्रका सबै २२ वटा विद्यालयका विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याएर उनीहरूको प्रतिभा प्रस्फुटन गराउने र शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले यो मेलाको सुरुवात गरिएको हो।
यो प्रयासका लागि गाउँपालिका अध्यक्ष र समग्र कार्यपालिका टिमप्रति विद्यालय परिवार र स्थानीय समुदाय निकै आभारी रहेको नेत्रज्योति प्राविधिक माविका प्रधानाध्यापक रंग बहादुर रोकायाले बताए। उनका अनुसार यस मेलाले विद्यालयहरूबीच मात्र नभई विद्यार्थीहरूमा पनि स्वस्थ प्रतिस्पर्धाको भावना विकास गरेको छ।
लगातार चार पटकसम्म प्रथम स्थान हासिल गर्नु कुनै सजिलो काम होइन। प्रधानाध्यापक रोकायाका अनुसार यस भव्य सफलताको मुख्य श्रेय विद्यालयको बलियो टिमवर्कलाई जान्छ।
‘हाम्रो विद्यालयको एउटा बलियो टिम छ। सरहरू सबैले आ-आफ्नो विधा र जिम्मेवारी अनुसार दृढ भएर योगदान दिनुभयो,’ उनले भने, ‘यसका साथै विद्यालय व्यवस्थापन समिति र लगनशील विद्यार्थी भाइबहिनीहरूको अथक प्रयासले नै हामीले लगातार चौथो पटक पनि विजयको झण्डा गाड्न सफल भएका हौँ।’
विद्यालयले सैद्धान्तिक शिक्षामा मात्र जोड नदिएर अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ। गाउँपालिकाको नियम अनुसार प्रत्येक शुक्रबार सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप र अन्य रचनात्मक कार्यहरूलाई विद्यालयले व्यवस्थित ढंगले अगाडि बढाएको उनको भनाइ छ।
उनले भने, ‘शिक्षकहरूबीच कार्यविभाजन गरी हरेक विधामा विद्यार्थीहरूलाई तयार पार्छौं। जसले गर्दा मेलाका विविध विधाहरूमा विद्यालयले उत्कृष्ट प्रदर्शन गर्न सक्यो।’
यस पटकको मेलामा नेत्रज्योतिका विद्यार्थीहरूले प्रदर्शन गरेका शैक्षिक तथा विज्ञान सामग्रीहरू विशेष आकर्षणको केन्द्र बनेका थिए। यी सामग्रीहरूको निर्माणमा विद्यार्थीहरूको आफ्नै सिर्जनशीलता र कडा मेहेनत लुकेको छ।
शिक्षकहरूले मार्गदर्शक वा सहजकर्ताको भूमिका निर्वाह गर्दै उनीहरूलाई बाटो देखाउने काम मात्र गरे, बाँकी सबै सिर्जनात्मक काम विद्यार्थीहरू आफैले गरेको उनको दाबी छ।
मेलामा प्रदर्शन गरिएका सामग्रीहरूमा स्थानीयपनको प्रचुर प्रयोग पाइएको थियो। विद्यार्थीहरूले स्थानीय स्तरमा उपलब्ध सामग्रीहरू प्रयोग गरी धेरैजसो वस्तुहरू आफ्नै घरबाट बनाएर ल्याएका थिए भने अन्य जटिल र प्रविधिक शैक्षिक सामग्रीहरू विद्यालयकै प्रयोगशाला र कक्षाकोठामा शिक्षकहरूको रेखदेखमा तयार पारिएका थिए।
पढाई मेलाले विद्यार्थीहरूको समग्र अध्ययन र उनीहरूको उज्ज्वल भविष्यका लागि एउटा स्वर्णिम अवसर प्रदान गरेको छ। मेलाको चौथो संस्करण सकिँदै गर्दा यसको भविष्य र निरन्तरताका बारेमा पनि बहस सुरु भएको छ।
प्रधानाध्यापक रोकायाले गाउँपालिका अध्यक्षसँगको हालैको छलफललाई स्मरण गर्दै यस ऐतिहासिक शैक्षिक अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए। अब ०८४ सालमा आउने नयाँ जनप्रतिनिधिहरूले पनि शिक्षा क्षेत्रको यो गौरवमय कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र यसलाई अझ परिष्कृत रूपमा अगाडि बढाउनुपर्ने उनको ठहर छ।
उनले निरन्तर चौथो पटक विद्यालयको साख जोगाएको र आफ्नो भविष्यका लागि दत्तचित्त भएर लागेकोमा आफ्ना विद्यार्थीलाई प्रधानाध्यापक रोकायाले हार्दिक धन्यवाद र बधाई ज्ञापन गरे।
विद्यार्थी सँगै बाजागाजा सहित उत्साह मनाउँदै, रमाउँदै ओदी हिँडिरहेका प्रधानाध्यापक रोकायाले कुटीरोसँगको कुराकानीमा भने, ‘गाउँपालिकाले पढाई मेला गर्दा हामीले निरन्तर आफ्नो शैक्षिक जगलाई प्रदर्शन गर्न सकेका छौं।’
















