जिल्ला प्रहरी कार्यालय जुम्ला र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले सदरमुकाम खलंगास्थित बसपार्क क्षेत्रमा सोमबार कडा ट्राफिक चेकिङ सञ्चालन गरेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक निर्देश बरालको कमान्डमा सञ्चालन गरिएको अभियानमा सवारी साधनका आवश्यक कागजात, चालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक तथा अन्य कानुनी कागजातहरूको परीक्षण गरिएको थियो।

साथै चालकहरूले मादक पदार्थ सेवन (मापसे) गरे–नगरेको विषयमा समेत विशेष जाँच गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार सडक सुरक्षालाई थप प्रभावकारी बनाउन तथा ट्राफिक नियमको कार्यान्वयन सुनिश्चित गर्न संयुक्त रूपमा चेकिङ अभियान सञ्चालन गरिएको हो।

उनले ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्ति नियन्त्रण गर्न यस्ता अभियानलाई निरन्तरता दिइने बताए। चेकिङमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक हवल्दार जनक रावलसहित जिल्ला प्रहरी कार्यालयका अन्य प्रहरी
कर्मचारीहरूको सहभागिता रहेको थियो।
प्रहरीले चालकहरूलाई सवारी चलाउँदा आवश्यक कागजात साथमा राख्न, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरेको छ। आगामी दिनमा पनि जिल्लाका विभिन्न स्थानमा यस्ता ट्राफिक चेकिङ अभियान सञ्चालन गरिने प्रहरीले जनाएको छ।

















