कर्णालीको दुर्गम जिल्ला जुम्लामा पछिल्ला केही सातायता प्रहरी गतिविधिमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाको नेतृत्व सम्हाल्न जेठ ११ गते आएका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले छोटो समयमै शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषधविरुद्ध अभियान, सामुदायिक साझेदारी र सेवा प्रवाह सुधारका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै प्रहरी संगठनप्रति जनविश्वास बढाउने प्रयास गरेका छन्।

जुम्लामा लागूऔषधको समस्या पछिल्ला वर्षहरूमा चुनौतीका रूपमा देखिँदै आएको छ। यही चुनौतीलाई केन्द्रमा राख्दै डीएसपी दाहालले लागूऔषध नियन्त्रण अभियानलाई प्राथमिकतामा राखेका छन्। प्रहरीका अनुसार उनी जुम्ला आएयता लागूऔषधसँग सम्बन्धित घटनामा संलग्न २१ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ। साथै चन्दननाथ नगरपालिका–६ विजयनगर क्षेत्रमा आफैं उम्रिएका गाँजाका बोटहरू फडानी गरी सम्भावित दुरुपयोग रोक्ने प्रयास गरिएको छ।
प्रहरीले केवल नियन्त्रणात्मक भूमिका मात्र नभई सचेतनामूलक कार्यक्रमलाई पनि उत्तिकै महत्व दिएको देखिन्छ। विद्यालयस्तरमा साइबर अपराध, अनलाइन ठगी, लागूऔषध दुव्र्यसन तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गरिँदै आएको छ।

तातोपानी गाउँपालिका–८ स्थित कालिका माध्यमिक विद्यालयमा आयोजित सचेतना कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। यस्ता कार्यक्रमले युवापुस्तामा सकारात्मक चेतना विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
डीएसपी दाहालले जिल्लाभित्र रहेका प्रहरी चौकीहरूको नियमित अनुगमनलाई समेत प्राथमिकतामा राखेका छन्। हाकु, लिताकोट, कुडारी तथा ताम्तीस्थित प्रहरी एकाइहरूको निरीक्षणका क्रममा उनले नागरिकमैत्री सेवा प्रवाह, पीडितप्रति संवेदनशील व्यवहार तथा जनगुनासोको प्रभावकारी सम्बोधनमा जोड दिएका थिए।

प्रहरी संगठनलाई नागरिकको पहिलो भरोसाको संस्थाका रूपमा स्थापित गर्नुपर्ने उनको धारणा रहेको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई पनि नयाँ ढंगले अघि बढाइएको छ।
बजार क्षेत्रको सरसफाइ अभियानदेखि लिएर स्वास्थ्य सेवासम्म प्रहरीको सहभागिता विस्तार भएको देखिन्छ। चन्दननाथ नगरपालिका–५ र ६ स्थित कृष्ण मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो भने कनकासुन्दरी गाउँपालिकाको पाण्डवगुफा स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी दुर्गम क्षेत्रका नागरिकलाई सेवा प्रदान गरिएको थियो।

प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीका अनुसार समाज परिवर्तन, सुशासन र शान्ति सुरक्षा कायम गर्न प्रहरी एक्लैले सम्भव नहुने भएकाले स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी, युवा तथा सरोकारवाला निकायहरूको सहकार्य आवश्यक छ।
उनले प्रहरीमाथि आलोचना गर्नेभन्दा पनि समाज सुधारका अभियानमा हातेमालो गर्न सबै पक्षलाई आग्रह गरेका छन्। डीएसपी दाहालको नेतृत्वमा भइरहेको सक्रियताको प्रभाव स्थानीय तहदेखि नागरिक समाजसम्म सकारात्मक रूपमा महसुस हुन थालेको देखिन्छ।
राष्ट्रिय मानवअधिकार आयोगले जुम्लामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गौरिनन्द आचार्यले प्रहरी प्रमुख दाहालको कार्यशैलीको प्रशंसा गर्दै जिल्लामा सकारात्मक परिवर्तनको संकेत देखिन थालेको बताएका थिए।

जुम्ला जस्तो भौगोलिक रूपमा विकट जिल्लामा शान्ति सुरक्षा कायम गर्नु मात्र होइन, समुदायसँग विश्वासको सम्बन्ध निर्माण गर्नु पनि चुनौतीपूर्ण कार्य मानिन्छ। तर छोटो अवधिमै अपराध नियन्त्रण, लागूऔषधविरुद्ध अभियान, विद्यालयस्तरीय सचेतना, सामुदायिक कार्यक्रम तथा सेवा प्रवाह सुधारका प्रयासहरूले प्रहरी संगठनलाई नागरिक नजिक पुर्याउने संकेत देखिएको छ।
स्थानीयबासीहरूका अनुसार प्रहरीको पछिल्लो सक्रियताले जिल्लामा नयाँ आशा जगाएको छ। समुदाय, स्थानीय तह र सरोकारवाला निकायसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजान सके आगामी दिनमा जुम्लामा सुशासन, शान्ति सुरक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा थप सकारात्मक परिणाम दिन सकिने डिएसपी दाहालको भनाइ छ।














