चन्दननाथ नगरपालिका–४ स्थित जी.एम.डी. बोर्डिङ स्कुलमा अध्ययनरत ४० जना विद्यार्थीमा ठेउला (चिकेनपक्स) संक्रमण देखिएपछि विद्यालयलाई सोमबारसम्मका लागि बन्द गरिएको छ।
संक्रमण फैलिन नदिन जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा चन्दननाथ नगरपालिकाकी जनस्वास्थ्य अधिकृत कमला पुन मगरको संयुक्त टोलीले विद्यालयमा पुगेर स्थलगत निरीक्षण गरेको थियो।
टोलीले प्रभावित विद्यार्थीहरूलाई घरमै आइसोलेसनमा बस्न, स्वास्थ्य अवस्थाको नियमित निगरानी गर्न तथा आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ।
संक्रमित विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे थप जानकारी संकलन तथा रोगको पुष्टि र निगरानीका लागि रगतको नमुना संकलन गर्ने तयारी गरिएको छ। यस कार्यका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शुक्रबारदेखि नमुना संकलन प्रक्रिया अघि बढाउन अनुरोध गरिएको जनाइएको छ।
स्वास्थ्यकर्मीहरूले अभिभावकलाई बालबालिकामा ज्वरो, शरीरमा दाना आउने लगायतका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्। संक्रमण नियन्त्रणका लागि विद्यालय र स्थानीय तहले आवश्यक सतर्कता अपनाइरहेको बताएका छन्।
















