जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषध नियन्त्रण अभियानलाई तीव्रता दिएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालको नेतृत्वमा सञ्चालन भइरहेको अभियानअन्तर्गत लागूऔषध ओसारपसार, बिक्री वितरण, प्रयोग तथा अभद्र व्यवहारजस्ता गतिविधिमा संलग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चन्दननाथ नगरपालिका–४ का सलिन भनिने सागर नेपाली, लालु भनिने दुर्गा बहादुर सुनार, एकिन्द्र कामी, चन्दननाथ नगरपालिका–५ तलिवाडाका यज्ञ कठायत र विकास भण्डारी तथा तातोपानी गाउँपालिका–५ का धुर्व गिरी, पारस डाँगी, सुभास डाँगी र लक्ष्मण डाँगीलगायत रहेका छन्।
उनीहरूमाथि लागूऔषध ओसारपसार, बिक्रीवितरण, प्रयोग तथा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका केही व्यक्तिहरू स्थानीयवासीलाई त्रसित बनाउने, चोरी तथा धम्कीपूर्ण गतिविधिमा समेत संलग्न रहेको आरोप छ।
यस्ता गतिविधिले समाजमा असुरक्षा बढाएको भन्दै प्रहरी सक्रिय रूपमा नियन्त्रण अभियानमा जुटेको जनाएको छ। यसैबीच, जुम्लाबाट लागूऔषध ल्याउन गएको आशंकामा एकिन्द्र नेपाली र सागर नेपालीलाई नेपालगञ्जमा लागूऔषधसहित पक्राउ गरिएको छ। उनीहरूलाई नेपालगञ्ज प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताइएको छ।
प्रहरीका अनुसार पक्राउ परेका योग्य भनिने विक्रम कठायतले हिरासतमा रहँदा असामान्य व्यवहार देखाउँदै चिच्याउने, कराउने तथा टाउको भित्तामा ठोक्ने जस्ता गतिविधि गरेपछि उनको स्वास्थ्य तथा सुरक्षालाई मध्यनजर गर्दै परिवारको जिम्मा लगाइएको थियो। त्यस्तै धुर्व गिरीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको अवस्थामा उनले अस्पतालको तेस्रो तलाबाट हाम फालेपछि घाइते भएका छन्।
डीएसपी दाहालले लागूऔषध नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा लागिरहेको बताउँदै पक्राउ नगरे समाजमा अशान्ति बढ्ने, लागूऔषधको प्रयोग र कारोबार फैलिने तथा कानुनी व्यवस्था प्रभावित हुने अवस्था सिर्जना हुन सक्ने बताए। उनले लागूऔषध प्रयोगकर्ताको व्यवस्थापनका लागि जिल्लामा सुधार केन्द्रको अभाव रहेको उल्लेख गर्दै यसले प्रहरीलाई थप चुनौती थपेको बताए।
उनका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध कारोबार, ओसारपसार तथा प्रयोगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। साथै, लागूऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको उनले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषधविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै यस्ता गैरकानुनी गतिविधिबारे जानकारी भए तत्काल प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको घर तथा कोठामा कानुनबमोजिम खानतलासी गर्दा स्थानीय जनप्रतिनिधि र केही बासिन्दाबाट आवश्यक सहयोग तथा साक्षी बस्न पर्याप्त सहकार्य प्राप्त नभएको जनाएको छ।
अनुसन्धान तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन स्थानीय तह, जनप्रतिनिधि र नागरिकको सहयोग आवश्यक रहेको प्रहरीको भनाइ छ। प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई निरन्तर जारी राख्दै समाजमा शान्ति सुरक्षा कायम गर्न कडा निगरानी र कारबाहीलाई थप सशक्त बनाइने जनाएको छ।
















