आईतवार, २४ जेष्ठ, २०८३

गुठिचौरमा एक मेगावाटको सौर्य विद्युत आयोजनाको वातावरणीय अध्ययन तथा प्राविधिक अनुसन्धान

जुम्लाको गुठिचौर गाउँपालिका–३ गज्याङकोटस्थित घट्टेखोलाको सिमचौर क्षेत्रमा करिब १ मेगावाट क्षमताको सौर्य विद्युत आयोजना निर्माण प्रक्रिया अघि बढेको छ। आयोजनाको प्रारम्भिक चरणअन्तर्गत वातावरणीय अध्ययन तथा प्राविधिक अनुसन्धान कार्य सुरु गरिएको हो।

आयोजनासम्बन्धी वातावरणीय अध्ययनका लागि वातावरण विज्ञ आशिष ढकालको नेतृत्वमा रहेको टोलीले आयोजना स्थलमा पुगेर आवश्यक अध्ययन तथा तथ्य संकलनको काम थालेको गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले बताए।

त्यस्तै नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक सुरेन्द्र चौधरीसहितको प्राविधिक टोलीले पनि आयोजनास्थलको स्थलगत निरीक्षण गरेको छ।

उनका अनुसार आयोजना निर्माणअघि आवश्यक वातावरणीय, प्राविधिक तथा माटो परीक्षणलगायतका अध्ययन तथा अनुसन्धान कार्य सम्पन्न गर्न करिब छ महिना लाग्नेछ। ‘अध्ययन सम्पन्न भएपछि आवश्यक प्रक्रिया पूरा गरी टेन्डर आह्वान गरिने र त्यसपछि निर्माण कार्य अघि बढाइने छ,’ उनले भने।

गुठिचौर गाउँपालिकाका अध्यक्ष बुढाले लामो समयदेखिको पहल, समन्वय र प्रयासपछि आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको बताए। उनका अनुसार सौर्य विद्युत आयोजना सञ्चालनमा आएपछि गुठिचौर गाउँपालिका मात्र नभई समग्र जुम्ला जिल्लाको ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुग्नेछ।

‘भविष्यमा औद्योगिक तथा उत्पादनमूलक गतिविधि विस्तारका लागि पर्याप्त विद्युत आवश्यक पर्ने उल्लेख गर्दै सौर्य आयोजना त्यसको आधार बन्नेछ,’ उनले भने, ‘यहाँ उद्योग, कलकारखाना, कोल्ड स्टोर तथा अन्य उत्पादनमूलक क्षेत्र विस्तार गर्न भरपर्दो विद्युत आपूर्ति आवश्यक छ। यो आयोजना त्यस दिशामा महत्वपूर्ण उपलब्धि हुनेछ।’

सौर्य विद्युत आयोजना निर्माण हुने क्षेत्र मनाङ–मुस्ताङ राजमार्गसँग जोडिएको रणनीतिक स्थानमा रहेकाले ऊर्जा उत्पादनसँगै पूर्वाधार विकास, लगानी आकर्षण तथा आर्थिक गतिविधि विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार