आईतवार, १७ जेष्ठ, २०८३

पातारासीमा पनि जुगाड खोला सरसफाइ अभियान सक्रिय

जुम्लाको पातारासी गाउँपालिकामा जुगाड खोला सरसफाइ अभियानअन्तर्गत पालिका स्तरीय समिति गठन गरिएको छ। नवगठित समितिले सरसफाइ अभियानलाई प्रभावकारी बनाउनुका साथै विकास निर्माणका कार्यको निगरानी र भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने प्रतिबद्धता जनाएको छ।

गोर्ख बहादुर बोहोराको संयोजकत्वमा गठन गरिएको समितिमा मोघ बहादुर बुढा, नैनसिंह बुढा, दीप बहादुर बिष्ट, तारा बहादुर बुढा, वीर बहादुर बुढा, डेनि खड्का, बिरेन्द्र खड्का, धन बहादुर बुढा, सम्झना बुढा, शर्मिला बुढा, नर बहादुर बुढा, सत्य कठायत, सरिता बुढा, जय बहादुर बोहरा, ऐन बहादुर बुढा, कमल बुढा, लालदेवी बोहरा, पासाङ बुढा र पूर्णराजलगायत सदस्य रहेका छन्।

जुगाड खोला सरसफाइ अभियानका अभियन्ता उपेन्द्र बुढ्थापाले अभियानको उद्देश्य केवल सरसफाइमा सीमित नरहेको बताए। उनका अनुसार अभियानले स्थानीय तहमा सञ्चालन हुने विकास निर्माणका कार्यको अनुगमन, गुणस्तरहीन कामको पहिचान तथा सम्भावित अनियमितता र भ्रष्टाचारविरुद्ध जनस्तरबाट खबरदारी गर्नेछ।

उनले चन्दननाथ नगरपालिकाबाट सुरु भएको जुगाड खोला सरसफाइ अभियानलाई जिल्लाका सबै स्थानीय तहमा विस्तार गर्ने योजना रहेको जानकारी दिए। अभियानमार्फत सरसफाइ, वातावरण संरक्षण, विकास निर्माणको पारदर्शिता तथा जनचासोका विषयमा निरन्तर सक्रियता बढाइने उनको भनाइ छ।

यसैबीच, समिति गठनसँगै पातारासी गाउँपालिकाको लासी बजार क्षेत्रमा सरसफाइ कार्यक्रम पनि सम्पन्न गरिएको छ। कार्यक्रममा जुगाड खोला सरसफाइ अभियानका अभियन्ता, स्थानीयवासी तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरीको सहभागिता रहेको थियो।

अभियानले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन, सुशासन र उत्तरदायी विकास निर्माणको पक्षमा जनस्तरबाट सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले समेत यस्ता अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सार्वजनिक सरोकारका विषयमा नागरिकको सहभागिता बढाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार