शुक्रबार, १५ जेष्ठ, २०८३

मध्यपहाडी राजमार्गको बिनायकमा जीप दुर्घटना : चालकसहित पाँच जना घाइते

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ थापामोड क्षेत्रमा बिहीबार साँझ जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्। मध्यपहाडी राजमार्ग अन्तर्गत पर्ने उक्त सडकखण्डमा दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सत्लोक आश्रमको बा.प्र.०१–०२७ च २२७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट तल खसेपछि दुर्घटना भएको हो।

प्रहरीका अनुसार साँझ करिब ६ः५० बजेतिर भएको दुर्घटनामा जीप सडकबाट करिब २०० मिटर तल कुँजेडातर्फ जाने कच्ची सडकमा खसेको थियो। सडक साँघुरो, उकालो तथा घुम्तीदार भएका कारण चालकले गाडी नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बेल्खेतबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा घाइतेहरूको तत्काल उद्धार गरिएको प्रहरीले जनाएको छ। दुर्गम भौगोलिक अवस्था र साँझको समयका कारण उद्धार कार्य केही कठिन भए पनि स्थानीय युवाहरूको सक्रियताले घाइतेहरूलाई सुरक्षित रूपमा सडकसम्म ल्याउन सफल भएको बताइएको छ।

घाइते पाँचै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि दैलेखको राकमस्थित अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय अछाम ले जनाएको छ। हाल उनीहरूको अवस्था सामान्य रहेको बताइएको भए पनि विस्तृत स्वास्थ्य विवरण आउन बाँकी रहेको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेका यात्रुहरूको नाम, थर र ठेगाना खुल्ने प्रक्रिया जारी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मध्यपहाडी राजमार्गअन्तर्गत अछाम–दैलेख सडकखण्डमा पछिल्ला वर्षहरूमा सवारी दुर्घटनाका घटना बढ्दै गएका छन्। साँघुरा सडक, जोखिमपूर्ण मोड, कमजोर सडक संरचना र तीव्र गतिका कारण दुर्घटनाको जोखिम उच्च रहने गरेको स्थानीयवासी बताउँछन्। वर्षायाम नजिकिँदै गर्दा सडक थप जोखिमपूर्ण बन्ने भएकाले सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

स्थानीय नागरिकहरूले दुर्घटना न्यूनिकरणका लागि सडक स्तरोन्नति, जोखिमयुक्त स्थानमा सुरक्षा बार, चेतनामूलक संकेत बोर्ड तथा नियमित सडक अनुगमनको माग समेत गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार