कर्णालीको दुर्गम भूगोल र सीमित स्वास्थ्य पूर्वाधारबीच एक प्रेरणादायी घटना सार्वजनिक भएको छ। काठमाडौँस्थित वीर अस्पतालका न्युरो सर्जन प्रा. डा. निलम खड्काले जुम्लामै जटिल शल्यक्रिया गरी गम्भीर घाइते एक बिरामीको ज्यान जोगाएका छन्।
पातारासी गाउँपालिका–३ छुमगाउँका गोरबहादुर बोहोरा वैशाख १८ गते घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए। टाउकोमा गहिरो चोट लागेका उनलाई बेहोस अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ल्याइएको थियो, जहाँ तत्काल न्युरो सर्जरी आवश्यक देखिएको थियो।
तर प्रतिष्ठानमा न्युरो सर्जन र आवश्यक उपकरणको अभावका कारण उनलाई काठमाडौँ रेफर गर्ने तयारी गरिएको थियो।मौसम प्रतिकूलता र आर्थिक अभावका कारण बिरामीलाई बाहिर लैजान नसकिएको अवस्थामा, जुम्लाको गुठिचौर गाउँपालिकामा ध्यान शिविरका लागि पुगेका डा. खड्काको उपस्थितिले आशाको किरण ल्यायो।
बिरामीका आफन्तको आग्रहपछि डा. खड्का उपचारमा संलग्न हुन तयार भए।अस्पतालमा पर्याप्त उपकरण नहुँदा चुनौती थपिएको थियो। यद्यपि, विगतमा अन्य स्वास्थ्य शिविरबाट बाँकी रहेका सामग्रीको प्रयोग गर्दै करिब सात घण्टा लामो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरियो।
शल्यक्रियामा टाउकोमा जमेको रगत निकालिएको थियो, जसले बिरामीलाई जीवन र मृत्युको दोसाँधबाट फर्काउन मद्दत गर्यो।शल्यक्रियापछि बोहोराको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
प्रतिष्ठानका शल्यक्रिया विभाग प्रमुख डा. निर्मल थापाका अनुसार, न्युरो सर्जन अभावका कारण अधिकांश यस्ता बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता रहेको छ। “यसपटक डा. खड्काको उपस्थितिले असम्भवजस्तै देखिएको काम सम्भव भयो,” उनले बताए।
यो शल्यक्रियालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै अहिलेसम्मकै महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। साथै, काठमाडौंसम्म उपचारका लागि लैजानुपर्ने अवस्थामा हुने झण्डै २० लाख रुपैयाँ खर्चसमेत जोगिएको परिवारले जनाएको छ।
नि:शुल्क गरिएको यस शल्यक्रियाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था र विशेषज्ञ जनशक्तिको आवश्यकता पुनः उजागर गरेको छ। साथै, एक चिकित्सकको प्रतिबद्धता र मानवीय संवेदनशीलताले कठिन परिस्थितिमा पनि जीवन बचाउन सकिन्छ भन्ने सन्देश दिएको छ।















